आँखाका पैंतीस बिरामीको निःशुल्क शल्यक्रिया

आँखाका पैंतीस बिरामीको निःशुल्क शल्यक्रिया


मनाङको नासोङ गाउँपालिका-५ मा आयोजना गरिएकोे निःशुल्क आँखा शिविरमा ३५ जनाको शल्यक्रिया गरिएको छ । शिविर गत बुधबार र बिहिबार गरी दुई दिन चलेको थियो ।

हिमाली भेगका बासिन्दालाई लक्षित गरि आयोजना गरिएको आँखा शिविरबाट मनाङ, गोरखा र लमजुङका स्थानीयहरु लाभान्वित भएका नासोङ-५ का अध्यक्ष छिरिङ ग्याल्पो पुनेलले जानकारी दिए । उनका अनुसार आँखा निकै कमजोर भएका र देख्नै नसक्नेहरुको शल्यक्रिया गरिएको हो ।

शिविरमा मनाङको नेस्याङ, चामे र नासोङ गाउँपालिकाका स्थानीय तथा छिमेकी जिल्ला लमजुङको जगत, च्याम्चे र गोरखाको लार्के क्षेत्रका गरी २ सय ४० बढि आँखाका बिरामीहरुले जाँच गराई लाभ उठाएका थिए ।

जिल्ला आँखा उपचार केन्द्र मनाङ र तिलगंगा आँखा अस्पताल काठमाडौंको आयोजनामा भएको निःशुल्क शिविरलाई अमेरिकास्थित हिमालयन प्रोजेक्टले सहयोग गरेको थियो । ८ जनाको चिकित्सकले बिरामीको जाँच गराएको बताइएको छ ।

स्थानिय थोंचे इलाका स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा आएका अधिकांश आँखाका बिरामीहरुमा आवश्यक पौष्टिक आहारको कमी, धुवाँको समस्या बढि रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।

नासोङ गाउपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको शिविरमा आएका बिरामीहरुलाई खाना तथा बासको लागि थोचे आमा समुह र धारापानी आमा समुहका पदाधिकारीहरुले ब्यवस्था मिलाउनुभएको थियो ।

छविलाल बगाले