बुटवललाई प्रदेश नं. ५ को राजधानी बनाउने पूर्वअर्थमन्त्रीको बाचा

बुटवललाई प्रदेश नं. ५ को राजधानी बनाउने पूर्वअर्थमन्त्रीको बाचा


नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले बुटवललाई प्रदेश नं. ५ को राजधानी बनाइछाड्ने बाचा गरेका छन् । बुटवललाई राजधानी बन्न नदिने को–को हुन् भन्ने सवाल उठाउँखदै उनले तिनीहरूलाई मैदानमा आउन चुनौती दिए ।

बुटवल उपमहानगरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरणका अवसरमा बोल्दै उनले चेतावनीपूर्ण प्रश्न गरे– ‘बुटवललाई राजधानी बन्न रोक्ने को ? दल ? व्यक्ति ? नेता ? मन्त्री वा प्रधानमन्त्री ? बुटवलको मैदानमा आएर बुटवल केन्द्र बन्न सक्दैन भन्ने हिम्मत गर !’

आक्रोशित हुँदै नेता पौडेलले बुटवल केन्द्र बन्दैन भन्ने हिम्मत बुटवलमै आएर गर्न चेतावनी दिँदै हरेक हिसाबले प्रदेशको राजधानी बन्न लायक स्थान बुटवल भएको जिकीर गरे । उनले अगाडि भने– ‘यो वा त्यो दलको एजेण्डा होइन, हामीले प्रदेशको केन्द्र बुटवललाई बनाएरै छाड्छौँ, यसका लागि सिंहदरबारमा लड्छौँ, बल नपुगे जनतालाई सडकमा उतार्छौं, जनता तयार रहनुहोला ।’

स्थानीय निकायको हात–खुट्टा बाँधिएको भन्दै नेता पौडेलले अधिकार पाए पनि ब्यवहारिक रुपमा काम गर्न सयौँ कानुन निर्माण गर्न जरुरी रहेको प्रस्ट्याए । कार्यक्रममा एमाले नेता राधा ज्ञवाली, नेत्र पन्थी, बुटबल उपमहानगरपालिकामा मेयर शिव सुवेदी लगायतले बोलेका थिए ।