घरमा कुकुर पाल्ने कि खसीबोका ?

घरमा कुकुर पाल्ने कि खसीबोका ?


– राजेन्द्रप्रसाद पाठक

मानिसमा जनावर पाल्ने सौख आफैमा नयाँ होइन । जब ढुङ्गेयुगबाट मानव कृषि कर्ममा आयो त्यसबेलादेखि कुनै न कुनै रूपमा जनावरहरूलाई आफ्नो स्वार्थअनुकुल प्रयोग गर्दै आएका छन् । कुनै जनावर खाद्यपदार्थ पूर्तिका लागि प्रयोग भएका छन् भने कुनैचाहिँ सुरक्षाका लागि उपयोग भएका छन् । मानवले आ–आफ्नो जाति, धर्म, संस्कार, खानपानको ब्याबहार र स्थानअनुसार जनावर प्रयोग भएका पाइन्छन् । हाम्रोजस्तो संस्कार, जाति र संस्कृति भएको देशमा अन्य जनावरलाई जेसुकै प्रयोजनका लागि पालिए तापनि कुकुरलाई भने मूलतः सुरक्षाकै लागि पाल्ने गरेको पाइन्छ । कृषि र पशुपालनको युगमा पशु र खेतीका सुरक्षाका लागि पालिए पनि हाल आएर शहरिया जीवनयापन गर्नेहरूको हकमा भने नाम मात्रको सुरक्षा र विशेषतः सौखका लागि पाल्ने गरेको पाइन्छ ।

युरोपियन मुलुकका मानिसहरू आफ्नो सौख पूरा गर्न र एकल परिवारमा रहने, त्यति मात्र नभएर एकल जीवन निर्वाह गर्ने परम्परासमेतको विकास भएको समाजमा रहने–बस्नेका लागि कहीँकतै जनावर विशेष्गरी कुकुर–बिरालाहरू नै साथी हुने गर्दछन् । त्यति मात्र नभएर आफ्नो घराना र प्रतिष्ठालाई जीवित राख्नकै लागि पनि उनीहरू जनावर पाल्ने सौख राख्दछन् । युरोपमा धनाढ्य र उच्चपदस्थ ब्याक्तिहरूमा यस्तो परम्परा पाइन्छ । सोही कुराको हुबहु सिको सिक्दै नेपालका काठमाडौंलगायत प्रमुख शहरहरूमा स्थायी बसोवास गर्ने जनसमुदायमा पनि यस्तो परम्पराको विकाश भएको छ । तर घरपालुवा जनावरहरूप्रति त्यसको स्वामित्व लिनेको के–कस्तो उत्तरदायित्व हुनु पर्दछ र नभएमा के–कस्ता सजाएको भागिदार बन्नु पर्दछ भन्ने खालका कानुनको अभावमा भने थुप्रै विकृतिहरू देखापरेका छन् । त्यसैको एउटा नमुनाका रूपमा शहरका गल्ली–गल्लीमा झुण्डका झुण्ड देखिने भुस्याहा कुकुरको बढ्दो अवस्थाको कारक पनि यही नै हो । मन लागुन्ज्याल घरमा पाल्यो त्यसपछि सडकमा छोडी दने जस्ता गैरजिम्मेवार प्रवृत्तिले कुकुर मात्र होइन गाई–गोरुलगायतका जनावरहरूको हालत समेत यस्तै छ ।

जनवर पाल्ने र त्यसको सही उपयोग गर्नकै लागि भनेर एउटा बृहत सोचको विकास गर्दै जनजागरण पैदा गर्न सकिएको खण्डमा यसले देशको आर्थिक मेरुदण्डलाई समेत टेवा पु–याउने थियो होला भन्ने विषयमा पंक्तिकारलाई धेरै अघिदखि नै कौतुहलता नजागेको होइन । तर पनि समय–सन्दर्भलाई ख्याल गरेर मात्रै यस्ता विषयबस्तुको उठान गर्नु उचित हुनेछ भन्ने पनि नलागेको होइन ।

हाम्रो महान चाड बडादशैंको सन्दर्भलाई हेर्ने हो भने हाम्रो जस्तो कृषिप्रधान देशमा करोडौँ मुल्यबराबरको खसी–बोकाहरू भारत र चीन लगायतका देशहरूबाट आयात हुन्छ । तिब्बतबाट भेडा च्याड्ग्राहरू आयात हुन्छन् । चाडबाड मात्र नभएर अरु सामान्य अवस्थामा समेत खसी–बोकाहरू भारतबाटै आयात हुन्छन् । यसलाई प्रतिस्थापन गरेर देशको पैसा देशमै राख्ने विधि भनेको उत्पादन नै हो । यसका लागि उत्पादनको विधि, सोच, क्षमता, उत्साह, राज्यको नीति निर्दिष्ट गर्न सक्ने किसिमको कानुन, जनचेतना र उत्पादनका लागि प्रोत्साहन, यस्ता किसिमका चलन–चाँजो र फेशनकै रुपमा भए पनि यसको विकास गर्न सक्नु पर्दछ । जसरी कुकुर पाल्न मानसिहरू लालायित भएका छन् त्यसै गरी उनिहरू बोका–खसी पालन गर्न लालायित हुन सकुन् ।

यसो हुन सक्यो भने नेपालका कुल शहर संख्याको घरधुरीको अनुमानित आँकलन गर्ने हो भने देशका साना ठुला शहर गरी करीब करिब पाँच लाख घर संख्या पुग्लान् हरेक घरमा एउटा मात्रै बोका या खसी बर्षमा उत्पादन गर्ने हो भने पाँचै लाखको संख्यामा उत्पादन हुन्छ । एउटा खसीको सरदर मुल्य दश हजार राख्ने हो भने पनि पाँच अर्ब मुल्य बराबरको उत्पादन हुने रहेछ । अब अनुमान लगाऔँ कि यस किसिमको आम्दानी देशभित्रै हामीले गर्न सक्ने रहेछौं । यसका लागि राज्यको योजना र जनस्तरमा अठोट चाहिएको छ ।

कुकुर पाल्न जति लगानी हुन्छ त्यो भन्दा कम लागतमा हरेक सालको मासुजन्य आयातलाई सहजै प्रतिस्थापन गर्न सकिन्छ । यस्ता मासुजन्य उत्पादनबाट प्राप्त हुने कम्पोष्ट मलबाट घर–कम्पाउण्डभित्रै गमला र कौसीमा अर्गानिक तरकारी समेतको उत्पादनको मुल्याङ्कन राख्ने हो भने तरकारी खरिदका लाग्ने पैसा र स्वास्थ्य समेत हिसाव राख्दा खसीबोकाबाट हुने उत्पादनको दुई गुण थप बचत गर्न सकिने कुरालाई समेत मध्यनजर राख्नु पर्दछ ।

देशमा नाम मात्रैको कृषि उत्पादनले खासै ठुलो परिवर्तन ल्याउन सक्दैन यसका लागि मास प्रोडक्सनको त खाँचो परि नै हाल्छ । तर पनि शहरमा भएको जनावरमोह र यसको उचित व्यवस्थापन मात्र गर्न सकियो भने पनि शहरको सषुुप्त अवस्थामा रहेको जनशक्तिलाई परीचालनले समेत यतिका परिवर्तन सम्भब छ भन्ने कुराको डेटा सहितको दृष्टान्त हो यो । आँखिरमा देश जति नै संमृद्ध भए तापनि जनता पाल्नका लागि कृषिकै भर पर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो जस्तो देशका नागरिकहरूलाई यस्ता सामान्य खालका कृषि उत्पादनका लागि विषेश प्रकारको तालिम समेतको आवश्यकता आजको पुस्ता सम्मलाई दिइरहनु नपर्ने भएका कारण यस्ताखाले उत्पादनहरू अझ सस्तो पर्न जान्छ ।

यसर्थ, देश समृद्ध हुनका लागि कलकारखाना र उद्योगहरू मात्रै महत्वपूर्ण आधार होइनन् । अन्य सानातिना उत्पादनले समेत आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्दछ । त्यसैले देशलाई उत्पादनमुखी बाटोतर्फ डोऱ्याएर संमृद्धितर्फ लैजानका लागि घर–घरमा खसीबोका उत्पादन गर्ने कि टोल–टोल वा गल्ली–गल्लीमा बटुवाहरूलाई आवतजावत गर्न समेत कष्टकर तुल्याउँदै थप भुस्याहा कुकुर उत्पादनतर्फ लाग्ने ? नागरिकले पनि सोचौँ, राज्यले पनि सोचोस् ।