क्रान्तिकारीका अध्यक्षमा तामाङ, महासचिव बने उत्तम

क्रान्तिकारीका अध्यक्षमा तामाङ, महासचिव बने उत्तम


नयाँ नेतृत्व चयन गर्दै यही भदौ ७ गतेदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु क्रान्तिकारीको २१औं सम्मेलन सकिएको छ । सम्मेलनले नयाँ अध्यक्षमा रञ्जित तामाङलाई निर्वाचित गरेको छ ।

शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८ सय ४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८ सय २२ हासिल गरेका छन् । निर्वाचन समितिका संयोजक रमेश मल्लले जनाएअनुसार खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएका छन् भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भएका छन् ।

यस्तै, महासचिवमा उत्तम अधिकारी निर्वाचित भए । उनले खेमबहादुर सिंहलाई पछि पार्दै संगठनको शक्तिशाली मानिने महासचिव पद जितेका हुन् । उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी थिइन् भने कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । विभिन्न क्लष्टहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् ।

महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वाचित भएका जनाइएको छ । एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २ सय ४३ नयाँ कार्यसमिति चयन गरिएको छ । क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले जनाए ।