आचारसंहितामाथि गच्छदारको आक्रोश

आचारसंहितामाथि गच्छदारको आक्रोश


निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेपछि दलका नेताहरु असन्तुष्ट बनेका छन् । एकतिर प्रदेश नम्बर २ को निर्वाचनलाई दलहरुले जीवन मरणको सवाल बनाइरहेका छन् भने यता आयोगले भने आचारसंहितामा यसपटक बढी नै दिलचस्पी दिँदा चुनावी दौडाहामा हिँड्न नेताहरुलाई असहजता उत्पन्न भएको छ ।

यस सिलसिलामा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले सरकारको कामकाजलाई नै बाधा हुने गरी तीन महिनाअघि आचारसंहिता लागु गरेको भन्दै आक्रोश पोखेका छन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघमा आज शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको कामकाजमा दख्खल दिएर हातखुटृा बाँधेको भन्दै सच्याउनुपर्ने माग गरेका छन् ।

मंसिरमा हुने निर्वाचनको लागि अहिलेदेख नै आचारसंहिता लागू भएको पहिलो पटक भएको बताउँदै उनले यति लामो अवधि अब सरकारले कसरी काम गर्ने भनी गुनासो पोखे । लागिउम्मेदवारी दर्ता भए वा निर्वाचनको ३५ दिनअगावै आचारसंहिता लगाइन्थ्यो तर मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले अहिले नै आचारसंहिता लगाउनु जायज नभएको उनको तर्क थियो ।

यस्तै क्षेत्र निर्धारण गर्दा अन्याय भएको भन्दै आयोगको प्रतिवेदनप्रति समेत आफूहरूको चित्त नवुझेको टिप्पणी उनले गरे । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका गच्छदारले हालै आएको बाढीबाट क्षति भएको २ नम्बर प्रदेश मधेशका जिल्लामा चुनावलाई मध्यनजर गर्दै नेपाली सेनाले तत्काल आवागमन सहज बनाउने कार्यमा जुटेको बताए ।

तस्बिर रासस