प्रदेश नं. २ को प्रदेश सरकार एमालेकै बन्नुपर्छ : ओली

प्रदेश नं. २ को प्रदेश सरकार एमालेकै बन्नुपर्छ : ओली


प्रदेश नं २ मा बहुमत ल्याएर एमालेले प्रदेश सरकार बनाउनुपर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रदेशमा तीनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्थानीय तहअन्तर्गत प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरी शनिबार काठामाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नैपर्ने धारणा अघि सारे । एमालेबारे प्रदेश नम्बर २ अत्यन्त नकारात्मक धारणा, झुठा कुरा र भ्रम फैलाउने चेष्टा गरिएको भन्दै त्यसलाई सामना गरेर अगाडि बढ्न कार्यकर्तालाई उनले आग्रह गरे । एमालेको शक्ति देखेर अन्य सबै दल मोर्चाबन्दी गरेर मैदानमा उत्रिएको ओलीको आरोप छ ।

सोही कार्यक्रममा बोल्दै नेता माधव नेपालले पनि एमाले मधेसी समुदायको मित्र भएको तर्क गर्दै आगामी निर्वाचन एमालेले जित्ने दाबी गरे । पार्टीमा अन्तर्घात नगर्न उनले सम्बद्ध सबैलाई चेतावनी दिए भने महासचिव ईश्वर पोखरेलले चाहिँ निर्वाचनका लागि खटिने पार्टीका नेता तथा कार्यकर्ताले विस्तृत कार्ययोजना बनाएर निर्वाचन क्षेत्रमा खटिन आग्रह गरे ।