कांग्रेस समर्थक यातायात ब्यवसायी विभाजित

कांग्रेस समर्थक यातायात ब्यवसायी विभाजित


नेपाली कांग्रेस निकटका यातायात ब्यवसायीहरुको संस्था नेपाल यातायात कांग्रेसको तदर्थ समिति पुनर्गठन भएको छ । ख्यातिप्राप्त यातायात ब्यवसायी चोपनारायण श्रेष्ठको संयोजकत्वमा गठित तदर्थ समितिले नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा मान्यता पाउन सानेपास्थित केन्द्रीय कार्यालयमा आवेदन दिएको लामो समयपछि तदर्थ समिति पुनर्गठन गरिएको हो ।

चोपनारायण श्रेष्ठको संयोजकत्वको उक्त समितिमा खगेश्वर बोहरा सहअध्यक्ष, शरद अधिकारी महासचिव, प्रेम पौडल उपमहासचिव र कोषाध्यक्षमा भक्तबहादुर केसी रहेका छन् ।

यसरी एकातिर चोपनारायण श्रेष्ठ नेतृत्वको समिति पुनर्गठित भइरहँदा अर्का यातायात ब्यवसायी योगेन्द्रमान कर्माचार्यले कांग्रेसकै नाममा अर्काथरी यातायात ब्यवसायीहरूको भेला गराउँदैछन् । कांग्रेस भनिए पनि उनले पूर्वपञ्च विजय स्वाँर, माओवादीका किरण खड्का र राजन रोक्का तथा अर्जुन रानाभाट र पञ्चपृष्ठभुमिका केदार पौडेललगायतका ब्यक्तिलाई लिएर भेला गराउन लागेको बुझिएको छ ।

यसैबीच नेपाल यातायात कांग्रेस तदर्थ समितिका महासचिव शरद अधिकारीले एक विज्ञप्ति प्रकाशित गरी भदौ १८ गते आइतबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइरालासमेतको उपस्थितिमा पोखरामा राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको भनी चलाइएको हल्ला भ्रमपूर्ण र निराधार भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।