प्रदेश नम्बर २ मा चुनावी तयारी तीव्र

प्रदेश नम्बर २ मा चुनावी तयारी तीव्र


निर्वाचन आयोगले प्रदेश नम्बर २ मा चुनावी तयारी तीव्र बनाएको छ ।

आयोगले चुनावी तयारीलाई तीव्र बनाउँदै प्रदेश नम्बर २ मा चार आयुक्त खटाएको हो । ८ जिल्लमा स्थानीय तह निर्वाचनको सम्पूर्ण अनुगमनका लागि आयोगले आयुक्त खटाएको जनाएको छ ।

आयोगका अनुसार स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्तलगायतका पक्षहरुको अनुगमन आयुक्तहरुले गर्नुपर्ने हुन्छ ।

रौतहट र सर्लाहीका लागि नरेन्द्र दाहाल, धनुषा र महोत्तरीमा आयुक्त इला शर्मा, पर्सा र बाराका लागि ईश्वरीप्रसाद पौडेल तथा सप्तरी र सिरहाका लागि सुधीरकुमार शाह आयोगबाट खटिएका छन् ।

यसैबिच, निर्वाचन आयोगले १२ भदौ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको र १५ गतेदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकहरु घरदैलोमा परिचालन गरिएको जानएको छ ।

आयोगका अनुसार मतदाता शिक्षाका लागि ३५ सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ । निर्वाचन कार्यालयदेखि मतदान केन्द्रसम्ममा करीब ३१ हजार कर्मचारी परिचालन हुने जनाइएको छ ।