हामी भ्रमणको ११औ दिनमा बिहानै नेदरल्याण्डतर्फ जाँदा बाटोमा मलाई नेदरल्याण्डको बारेमा केही जानकारी गाइडबाट प्राप्त भएको थियो । मैले भ्रमण गर्नुअघि पनि वेबर्साईटहरुमा यस देशको बारेमा केही पढेको थिएँ । हामी जर्मनीको सिमाना नाघेर अहिले डचवासीहरुका भूभागमा पुगिसकेकाछौ । प्रशस्त पानी भएको भूभागमा टाढा टाढासम्म पहाडको नामोनिशान थिएन । राजमार्ग निकै फराकिलो एकतर्फ मात्र पाँचवटासम्म गाडीहरु चल्ने लाइनहरु देख्दा म दंग परे । दुईतिरको राजमार्गमा एकैचोटि दशवटासम्म गाडीहरु चलेको देख्दा श्रीमती पनि छक्क परीन् । हजारौको संख्यामा गाडीहरु लगातार गुडिरहेका थिए । यहाँका ड्राइभरहरुको शीट देब्रेपट्टी हुँदारहेछन् प्राय यूरोपेली मुलुकहरु सरह बाँया पारेर गाडी हाँक्ने चलन रहेछ । हामी आज अमस्टारड्याम शहर र रेडलाइट जिल्लालाई बेलुकिको समयमा भ्रमण गर्ने प्रोग्राम थियो । तर, त्यसभन्दा अघि दिनको समयमा नेदरल्याण्डका ऐतिहासिक विन्डमीलहरु, गाउँले क्षेत्रका चीज फ्याक्टरी र काठको जुत्ता फ्याकटरी हेरेर हामी बस्ने होटलमा जाने भ्रमण तालिका थियो । भ्रमणको तालिका अनुसार दिनमा छिट्टो नै आर्मस्टार्डामनजिक आइपुगेका थियौं । नेदरल्याण्डको सिमानामा प्रवेश गरेपछि हामीले अलि भिन्नै वातावरण र यहाँको भूभाग अनुसारको खेतीपाती गर्ने नहरहरु देखे । बेलाबेलामा यो देश डुबानमा पर्नेजस्ता समाचारहरुपनि पढेको थिएँ । प्रत्येक खेतीका फाटहरुमा ससाना पाइपहरु डिलतिर जडान गरिएका देखे । ठूलठूला राजहाँसहरु पानीमा तैरिरहेका, भेडाहरु र गाईवस्तुहरु फाँटैभरि चर्दै गरेका दृश्यहरु देखें । चीज उत्पादनको लागि पशुहरु बढी मात्रमा पालेका होलान् भनेर मैले सोचें ।
अहिले मानेकेनड्याम नजिकैको ल्याकल्याण्ड होटल छेउको चीज फ्याक्टरीमा गाइडले हामीलाई लगेर गईन् । चीज फ्यक्टरीभित्र विभिन्न खाले चीजहरु तयार बनाएर राखेका रहेछन् । त्यस फ्यक्टरीकी एकजना महिला कर्मचारीले हामीलाई चीज बनाउने तरिकाबारे बताएकी थिईन् । चीज उत्पादन दूधबिना हुँदैन । एउटा भाँडामा दूधलाई राखेर दूध फटाउने रसायन हाल्दो रहेछ, । लगभग दुईघण्टापछि दूध पूर्ण रुपले पानी र छोकरा बनेपछि त्यसलाई तारेर चीज बनाउनलाई छानेका छोकराहरुलाई विशेष प्रकारको कपजस्तो भाँडाहरुमा पानी तार्नलाई थिचेर राख्दो रहेछ । चीजलाई तार्नुअघि दूधलाई फटाउँदा दूध हालेको ठूलो भाँडोमा घडिको उल्टो सुइ गरेर दूधलाई चलाउने विशेष किसिमका धर्काहरु भएको चालनी जस्तो भाँडाले घुमाउँदै तार्दो रहेछ । चीजलाई थिचेर राखेको २४ घण्टापश्चात्, पूर्ण रुपले पानी निख्रेपछि त्यसलाई चीज बनाउनकालागि लगभग २९ डिग्री तापक्रम भएको ठाउँमा राख्दो रहेछ । यसरी एकदुई हप्ता राखेपछि चीज तयार हुँदो रहेछ ।
हामीले चीज बनाउने प्रविधि सुनेपछि फेरी काठको जुत्ता, क्लोग बनाउने फ्यक्टरी त्यही चीज फ्यक्टरीसित जोडिएकोमा गयौं । त्यहाँ पनि एकजनाले काठको जुत्ता कसरी बनाउने भन्ने कुरा आफैंले आधा घण्टाभित्र एउटा जुत्ता हामीलाई बनाउँदै देखाएका थिए । यो काठको जुत्ता डचहरुको संस्कार र अस्तित्वसित जोडिएको छ भनेर जुत्ता बनाएर देखाउनेले भनेका थिए । विशेषगरि गिरजाघरमा जाँदा, ठुलुठुला समारोहहरुमा जाँदा डचहरुले क्लोग लगाउँदा रहेछन् । यदि तपाईले एउटा क्लोगजुत्ता कुनै युवतीलाई दिँदा यदि त्यो जुत्ता उनले स्वीकार गर्छिन् भने तपाईले त्यस केटीसित घरजाम गर्न सक्दोरहेछ अर्थात् उनी विवाहका लागि राजी भएकी मान्दो रहेछ । यसैकारण विवाहमा क्लोगका जुत्ता अनिवार्य लगाउनुपर्ने चलन रहेछ । वास्तबमा डचभूमिमा हिलो बढी हुनालेपनि उनीहरुले काठको जुत्ता प्रयोग गरेका होलान जस्तो मलाई लागिरहेको थियो । यसरी संस्कार अनुरुप काठको जुत्ताको विशेष महत्व भएको नेदरल्याण्डमा अहिले देशका एक प्रतिशतले मात्र व्यवहारमा यस्ता जुत्ताहरु लगाउँछन् । तर, यो उनीहरुका सांस्कृतिक पहिचान भएकोले गर्दा अचेल यस जुत्तालाई सजाउने सामग्रीअनुरुप घरघरमा सजाएर राख्छन् । जुत्ता बनाउने कारिन्दाले हामीलाई देशको ७ प्रतिशत जनताहरु अझ पनि गिर्जाघरहरुमा जाँदा क्लोगजुत्ता लगाएर जान्छन् भनेका थिए । जे होस्, नेदरल्याण्डको विशेष पहिचान भनेको चीज र काठको जुत्ता, क्लोग रहेको बुझियो ।
यहाँ ठाउँ ठाउँमा पर्यटकहरुका लागि सोभेनियर विक्री गर्ने पसलहरुमा यही ससाना क्लोग जुत्ताहरुका स्याम्पल र विन्ड मीलहरुका स्याम्पलहरु विक्री गरिरहेका देखेको थिएँ । विशेष पर्यटकहरुका लागि चीज फ्याक्टरीहरुमा जुत्ता बनाउने फ्याक्टरी पनि साथैमा राख्दा रहेछन । हामीले चीज र काठका जुत्ताको बारेमा बनाउने तरिका र डचवासीहरुका लागि महत्व रहेको कुरा थाहा लाग्यो । हामीले केही चीजहरु किन्यौं र सजाउनका लागि काठका केही क्लोगजुत्ताहरु पनि किन्यौं । हामीलाई विभिन्न प्रकारका चीजहरु चखाउनका लागि मसिना-मसिना टुक्राहरु बनाएर प्लेटमा राखेका थिए । ससाना गिलासहरुमा भ्रमणकारीहरुका लागि राखिएको मीठो वाइनको स्वादसँग ती चीजहरु चाखेका थिए ।
चीज फ्याक्टरीको अवलोकन गरिसकेपछि हामीले ठुलो मान्छे नै अटाउने क्लोगजुत्ताभित्र बसेर फोटोहरु खिच्यौं । कहिल्यै नदेखेका चीज फ्यक्टरी र क्लोगको जुत्ताबारे बुझ्दा रमाइलो लागेको थियो । त्यसपछि हामी भोलेन्ड्यामको माछा मार्ने माझीहरुको गाउँतर्फ गयौं । यस ठाउँमा नयाँ नयाँ घरहरु बनाएर ब्रि्रीका लागि राखेका हामीले देख्यौं । बेलायतको अनुपातमा यहाँका घरहरु एकदमै सस्ता थिए । हामी ती नयाँ घरहरुको मध्य भएर एउटा सानो नहर पारगरी समुन्दको किनारमा पुग्यौं । एकदमै सुन्दर सानो माझीहरुका गाउँमा पर्यटकहरुका घुँइचो देखे । समुन्द्र किनारमा एउटा बेञ्चमाथि एकजना माझीको मानवकद बराबरका ढलौटको मूर्ति देखे । मैले त्यो मूर्तिलाई अँगालो हालेर फोटो खिँचे । यहाँ आएका पर्यटकहरुमा सबै एसियालीमूलका पर्यटकहरु थिए । जापानिज, चाइनिज, कोरियान, थाई, सिँगापुरी तथा मलयसियाका धेरै पर्यटकहरु देखेको थिएँ । मलाई धेरै एसियाली पर्यटकहरु देख्दा एसिया अहिले विकसित हुँदै गइरहेको प्रतीत भइरहेको थियो ।
हाम्रो भ्रमणटोलीमा पनि बढी एसियाली मूलका भ्रमणकारीहरु थिए । समुन्द्र किनारमा निकै धेरै रेस्टुरेन्टहरु देखिए । ती रेस्टुरेन्टहरुमा माछाका विभिन्न परिकारहर पकाएर बेच्ने गर्दारहेछन् । केहीबेर किनारमा घुमेर फोटोहरु खिचेपछि हामी डेढबजेतिर त्यहाँबाट फर्केका थियौं । मौसम राम्रो र रमाइलो वातावरणमा हामी सबै भ्रमणको आनन्द लिइरहेका थियौं । सबै नयाँ वातावरण, नयाँ ठाउँ, नयाँ कुराहरुबारे बुझ्दै जाँदा एउटा नौलो रमाइलो अनुभूतिका सँगालोहरु स्मृतिका पानाहरुमा थपिदै थिए म । श्रीमती भन्दै थिईन्… यो ठाउँ यूरोपमा समुन्द्री सतहदेखि अरु देशभन्दा सबैभन्दा तल छ भन्छन् .. पछि विश्वतापक्रम बढ्दै जाँदा डुबानमा परेपछि यहाँका जनताहरुलाई ठूलो आपत आउला हैन, बुरा… मैले हाँसो गर्दै.. त्यतिबेलासम्म प्रलय नै आउलानी बुरिया…हामी पनि कहाँ भाग्ने ? यस ठाउँमा असर परे विश्वको अरु ठाउँमा पनि असर परिहाल्छ… हो यहाँका वासिन्दाहरु शुरुमा प्राकृतिक प्रकोपको शिकारचाँहि बन्नेछ …बुरियालाई भनें । मेरी जीवन संगिनी कसैको दुःख र पीडा आँखाले हेर्न सक्दिनन्, कसैलाई ठूलो पींडा भएको छभने मसँग कम्तीमा केहीदिनसम्म त्यससम्बन्धी कुरा दोहोर्याइरहन्छिन् । सायद उनीभित्रको नारी कोमलताले गर्दाहोला । श्रीमती कहिले सँगै, कहिले पछिपछि सानो प्लास्टिकमा सोभेनियरहरु बोकेर मसँग कुरा गर्दै आइरहेकी थिईन् । यसरी मलाई पछ्याउँदै जिन्दगीमा मेरो पाइला पाइला टेक्दै हिँडेकी पनि ३१ वर्ष पुगिसक्यो । १६ वर्षकी मेरी श्रीमती अहिले ४७ पुगिसकेकी छिन् । जीवनको उकाली ओरालीहरुमा कहिल्यै थाकेकी मैले महशुस गरेको छैन । लगातार मलाई साथ दिएकी छिन् । मलाई मेरी सँगीनीको साथ पाउँदा सबै दुनिया नै पाएको जस्तो लाग्छ । त्यसैले मेरो जिन्दगी सार्थक बनेको जस्तो लाग्छ । यसपालिको भ्रमणले मेरी श्रीमतीले केही विश्राम गर्न पाएकीछिन्, म एकदमै खुशी छु । हामी दुबै माली बनी जतनको साथ हुर्काएका सुमनरुपी २ बच्चाहरुले प्रायोजन गरेको यो भ्रमण हाम्रो जीवनको स्मरणीय भ्रमण बनेको छ ।
मैले त्यहाँका रैथानेहरुसँग केहीबेर कुरा गरे । त्यो सानो माझीहरुको गाउँ हेरसिकेपछि हाम्रो आजको अर्को कार्यक्रम नेदरल्याण्डका ऐतिहासिक विन्डमीलहरु हेर्ने रहेको थियो । भोलेनड्यामबाट फर्केर आएपछि हामी ऐतिहासिक हावाघरहरु अर्थात् नेदरल्याण्डका पुराना विन्ड मील भएको ठाउँतर्फ लागेका थियौं । १३औ शताब्दीताका निर्माण गरेका विन्ड मीलहरुबाट धेरै कामहरु यी डचवासीहरुले लिने गरेका रहेछन । खेतीकिसानका लागि खेतहरुमा पानी तान्ने कामदेखि लिएर कुटनपिसन इत्यादिमा प्रयोग गरेका रहेछन् । विशेषगरी विद्युतको आपूर्ति नहुँदा यी विन्ड मीलहरु त्यसबेला घरेलु कामहरुका लागि प्रयोग गरिन्थे । तर, आधुनिक ऊर्जाको विकास भएपछि यी विन्ड मीलहरु अहिले पर्यटकहरुले हेर्ने म्युजियम बन्न पुगेका छन् अर्थात् यी विन्ड मीलहरु सञ्चालन नगरी त्यसै थन्किएका छन् । हामी एउटा ठूलो तलाउवरिपरि रहेका तीन चारवटा पुराना विन्ड मीलहरु भएका ठाउँमा पुगेका छौं । सायद पर्यटकहरुलाई देखाउनका लागि डच सरकारले जिर्णोद्धार गरेर प्रदर्शनका लागि राखेका होलान् भन्ने मलाई प्रतीत भईरहेको थियो । ती विन्ड मीलहरुका छेउमा रेस्टुरेन्टहरु र पर्यटकहरुलाई फोटो खिच्ने स्टुडियो पनि राखेको रहेछ । हामी सबै भ्रमणटोलीका साथीहरुले फटाफट फोटो खिच्न थाल्यौं । हामीलाई गाइडले केवल ४५ मिनटको समय दिएकी थिईन् ।
दिनको यस्तै साढे चार बजिरहेको थियो । सफा मौसम घाम पश्चिमतिर कोल्टे पर्दैथियो । तलाउको नजिकका हावाघरहरुमा धितमरुन्जेल फोटोहरु खिचेपछि हामी फक्यौं । मन्द-मन्द हावा चलिरहेको बखत तलाउको पानीका लहरहरु तरंगित भइरहेको दृश्यमाझ केही सेतोरंगका हाँसहरु तैरिरहेका थिए । हामी आफ्नो कोचभित्र बसेर आजको भ्रमणको अन्तिम रात बिताउने ल्याकल्याण्ड होटल, मानेकेनड्यामतर्फ गइरहेका छौ । लौ, हामी आइपुग्यौं हाम्रो होटलमा । होटलअघि मैले सयौं पाल टाँग्ने खालका इन्जिनबोटहरु देखे भन्नाले यो ठाउँ बोटहरु निर्माण गर्ने अथवा यहाँ बोटहरु राख्ने बन्दरगाह हो कि भन्ने भान भइरहेको थियो । गाइडले मलाई २२६ नम्बरको कोठाको चाबी दिईन् । हामी आफ्नो सुट्केशहरु गुडाउँदै कोठातर्फ लाग्यौं ।
आज हाम्रो सातबजेको डिनर थियो त्यसपछि हामी अम्सटरड्यामको रेडलाइट जिल्ला र शहरका केही भागहरु हेर्ने कार्यक्रम रहेको थियो । मलाई अलि-अलि जाडो लागिरहेको थियो सायद समुन्द्र किनारमा भएर होला । स्नानबाट निवृत्त भएपछि हामी दुबैले न्यानो कपडाहरु लगाएर डिनरको प्रतीक्षा गर्दै टीभी हेरेर कुराकानी गर्दै बसिरहेका थियौं । एकछिनपछि श्रीमतीले बाहिर जाऊँ अनि त्यही बाटो डिनरहलतिर जाऊँ भनिन् । श्रीमती एकदमै खुशी थिईन्, तर पनि पर्सिबाट कामको कुरा गर्न थालेकी थिईन् । लण्डन पुगेको भोलिपल्टबाट दुबैजना कामका लागि कस्सिइनु पर्ने कुरा सम्झाईन् । मैले ढुक्क भएर भनें.. हेर बुरिया जबसम्म ऊर्जा छ तनमा केही फिकर गर्न हुँदैन अब केही वर्ष यसरी नै निरन्तर दिनुपर्छ, मनलाई सन्तोश र तनलाई सुविधा कायम गर्नसक्नुपर्छ… भने ऊ केही नबोली मलाई पछ्याइरहेकी थिईन् । हामी ती बोटहरु भएको ठाउँको अघिल्तिर गएर केही फोटोहरु लियौं अनि डिनरहलतर्फ लाग्यौं । डिनरहलतर्फ आउँदा रिसेप्शनमा गएर्रर् इमेल चेक गरेर छोराछोरीलाईर् इमेल द्वारा हामी अमस्टरड्याम पुगेको सुचित गरे । हामीले डिनर लियौं त्यसपछि सबैजना केवल सातजनाबाहेक आर्मस्टार्ड्यामको रेडलाइट जिल्लातर्फ साढे सातबजे लाग्यौं । हामी आर्मस्टार्ड्यामको सेन्ट्रल रेलवे स्टेशनको अघि आठबजेतिर पुगेका थियौं । हामी आबेर राति भन्नाले ११ बजेसम्म ३ घण्टाजति शहर घुमेर फेरि त्यही ठाउँमा भेटेर होटलको शटल बसबाट होटल फर्किने कुरा गाइडले भनेकी थिईन् । आर्मस्टार्ड्यामको रेडलाइट एरियाको बारेमा विश्वलाई थाहा भएकै कुरा हो । अहिले नेदरल्याण्ड सरकारकालागि राजश्व संकलन गर्ने माध्यम बनेको छ । सरकारले भवनहरुमा ससाना कोठे झ्यालहरु निर्माण गरिदिएर यौंन-पेशाका लागि ती कोठाहरु भाडामा दिन्छ । वेश्यालय निर्माण गरेर कानून बमोजिमको स्वास्थ्य परिक्षण, यौनकर्मीहरु दर्ता गर्ने कार्यालयहरु इत्यादि सरकारले व्यवस्थित बनाएको छ । धेरै धेरै धन्यवाद …. अब अन्तिम श्रृंखलामा भेटौला ।
-सुमल कुमार
प्रतिक्रिया