‘शताब्दीपुरुष’ सत्यमोहनको संसर्गमा

‘शताब्दीपुरुष’ सत्यमोहनको संसर्गमा


– मणि लोहनी

कात्तिक नाच र झ्याल्चा यी दुई प्रसङ्ग मैले पहिलोपटक उनकै मुखबाट सुनेको हुँ । त्यसो त मेरो बाल्यकाल ललितपुरकै पेरिफेरीमा बितेको हो । सानेपा, झम्सिखेल, पुल्चोक र मंगलबजार एकै दिनमा धेरैचोटि चक्कर लगाउँथ्यौँ हामी । मैले मत्याको बारेमा सुनेको थिएँ । रातो मच्छिन्द्रनाथ रथयात्रा थाहा थियो । एक महिना लाग्ने आदीनाथ मेला पनि भरेको छु पटकपटक । तर, कात्तिक नाच र झ्याल्चाबारे मैले सुनेको थिइनँ ।

३ सय ७५ वर्षअघि राजासिद्धिनरसिंह मल्लको पालादेखि देखाइँदै आएको कात्तिक नाच हरेक वर्ष १० दिनसम्म साँझ ७ बजेदेखि मध्यरातसम्म पाटनमा देखाइन्छ । यो नाचमा बाःथः प्याँख, उषा हरण लीला, नारायण जलशयन, नृसिंह अवतार, भैरव, कुमारी, महालक्ष्मी नाच, बराह अवतार, मधुकैटभ बध, हिरण्यकश्यप बध, वस्त्रहरणलगायत नृत्य प्रदर्शन गरिन्छ । मध्यरातसम्म ललितपुरवासी निकै उत्साहका साथ कात्तिक नाच अवलोकन गर्छन् । उनैले बताएपछि यो सब कुरा थाहा पाएको हुँ । पछिल्ला केही वर्षदेखि त मिडियाले पनि कात्तिक नाचलाई प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरिरहेको छ । परम्परागत कात्तिक नाचमाथि कथा लेख्ने मेरो रहर अझै पूरा भएको छैन ।

तर, मैले पाटनकै परम्परागत पर्व झ्याल्चामाथि कथा लेखेको छु ।

‘एक दिन राजा योगनरेन्द्र मल्ल पाटनतिर जाँदै गर्दा च्यासलको इनारनजिकै एउटी व्यञ्जनकार युवती नुहाउँदै गरेको देख्छन् । निकै सुन्दर युवती देखेर मुग्ध राजाले उनलाई बिहे गरेर दोस्रो रानीका रूपमा भित्र्याएपछि जेठी रानीलाई असह्य हुन्छ । जेठी रानीले च्यासलका अवालहरू (कुम्हाले) उठाएर व्यञ्जनकार रानीको बेइज्जत गर्न झ्याल्चा देखाउन लगाइन् ।’ उनले भने, ‘झ्या भनेको झ्याल र ल्चा भनेको देखाउने हो । ती व्यञ्जनकार सुन्दरी केटीप्रति राजा आकर्षित भएपछि जेठी पत्नीले समाजमा योगनरेन्द्रको बदनाम गर्न सुरु गरेको जात्रा हो यो ।’

उनको यही भनाइपछि म कथा लेख्न उद्यत् भएँ ।

एक वर्ष कुरेर इन्द्रजात्राको अघिल्लो रात पाटनको च्यासलमा झ्याल्चा हेर्न गएँ पनि । अनि लेखेँ झ्याल्चा । यो कथा छापिएपछि निकै प्रतिक्रिया पाएँ । तर, उनको मुखबाट प्रशंसा सुनेपछि निकै आल्हादित भएँ ।

‘पाटनको कल्चरलाई तपाईंले पठनीय रूपमा कथामा उतार्नुभएको छ । हामीले लेख्नुपर्ने भनेको आफ्नै संस्कृतिमाथि हो । विदेशमा नेपाली साहित्य पु¥याउन उनीहरूको कुरा लेखेर हँुदैन । हाम्रो आफ्नो मौलिक कुरा लेख्नुपर्छ । त्यो तपाईंले गर्नुभयो । धन्यवाद भाइ ।’

म गमक्क फुलेँ, उनको धन्यवादले । निकै डराइडराइ कथा भयो कि भएन भनेर मैले झ्याल्चा लेखेको थिएँ । नेवार समुदायले इन्द्रजात्राको अघिल्लो दिन मनाउने झ्याल्चामाथि लेखिएको मेरो कथालाई उनले लालमोहर लगाइदिए । संस्कृतिका संवाहकका रूपमा चिनेको शताब्दीपुरुष सत्यमोहन जोशीले धन्यवाद दिइसकेपछि फुल्दिनभन्दा पनि गमक्क भएँ छु म ।

धेरैपटक नभेटेको भए पनि जतिपटक भेटेँ, शताब्दीपुरुषसँग बिताएका हरेक क्षण मेरो जीवनको अमूल्य निधि बनेका छन् ।

०००

विक्रमसम्वत् ०५७-५८ सालतिर हुनुपर्छ । त्यसताका म स्पेसटाइम दैनिकमा काम गर्थेँ । ०६१ भदौ १६ मा इराकमा १२ नेपालीले ज्यान गुमाएको विरोधमा काठमाडौंमा भएको हुलदंगापछि स्पेसटाइमको प्रकाशन रोकियो । तर, एउटा सामान्य कविलाई पत्रकार बनाउने स्पेसटाइमसँग मेरा धेरै सन्दर्भहरू जोडिएका छन् । स्पेसटाइमकै शनिबार निस्कने विशेषका लागि सामग्री तयार पार्न म सत्यमोहनको घर पुगेथेँ तेस्रोपटक । सन्दर्भ थियो न्युजिल्यान्ड पुग्ने पहिलो नेपालीको अनुभव सुन्ने । तर, त्यहाँ पुगेपछि उनको सादगी र छरितो जीवनशैलीले मलाई लोभ्यायो ।

‘भाइ जीवन सन्तोषले बाँच्यो भने पुग्छ । अरू सबै आफैँ प्राप्त हुन्छन् ।’

‘सन्तोष लिन त्यति सहज कहाँ सकिन्छ र ?’ मैले आफ्नै अज्ञानता पोखेँ ।

‘के लायो होला, के खायो होला, मेरो माया रेलिमाई जुरेली चरीले’ उनले त गीत पो गाए । म छक्क परेँ । ‘आफूलाई हेर्ने होइन अरूलाई हेर्नुस् … सन्तोष आफँै मिल्छ ।’

यो गीत उनले विक्रमसम्वत २००० तिर पहिलोचोटि सुनेका रहेछन् । नेपालका ग्रामीण क्षेत्रको सामाजिक–आर्थिक अवस्थाको अध्ययन गर्न त्यसताका गाउँगाउँ पुगेका उनी लोकभाका टिपेर फर्केछन् । त्यसो त आफ्नो जीवनको दृष्टिकोण नै फेरेर उनी राजधानी फर्किएका रहेछन् । त्यही सुनेका हुन् उनले, ‘किन रुन्छस् वनको न्याउली, तँभन्दा म छु नि वैरागी ।’

उनलाई लाग्छ, ‘मनमा दुःख परेको बेला निस्केको भावना नै मीठो सङ्गीत हो ।’ २६÷२७ वर्षको उमेरमा गाउँ पुगेर उनले त्यो कुरा बुझे । न्याउलीको विरह गीत, चराको जीवन र मनमा विछोडको पीडा हुँदाहुँदै पनि गीत गाएर हाँसीखुसी जीवन बाँचिरहेका गाउँलेलाई हेरे । अनि सोचे, ‘जीवन भनेको यस्तै त रहेछ । भोलिको के चिन्ता किन गर्नु ?’

हो, उनको यही दर्शनले उनलाई दीर्घ जीवन दिएको हो ।

उनले २६–२७ को उमेरमा बुझेका कुरा मलाई पनि २६–२७ मा नै बुझाएका हुन् उनले । न्युजिल्यान्ड पुग्ने पहिलो नेपालीको अनुभव लेख्न सत्मोहन जोशीको निवास पुगेको म ‘गाई पाल्यो रेलिमाई वनको बाघलाई, छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई’ सुनेर फर्किएँ ।

०००

त्यसअघि विक्रमसम्वत् २०४९ सालमा म सत्यमोहन जोशीको निवास पुगेको थिएँ । पहिलो कवितासङ्ग्रह ‘आन्दोलनले छटपटाएका कलमहरू’ लिएर । दीपक र मेरो यो संयुक्त कवितासङ्ग्रह ओल्टाइपल्टाई हेरेपछि उनले भने, ‘हेर्दा कलिला छौ, कविता त फेरि आन्दोलनका छन् त ?’
हामी केही बोलेनौँ ।

‘लेख्नू । लेख्न नछाड्नू । र लेख्दा सधैं आफ्नै समाज, संस्कृति र परिवेश लेख्नू । जुन विश्व जगत्का लागि नौलो बनोस् ।’

त्यसपछि विक्रमसम्वत २०५६ तिर हुनुपर्छ कवि गोबद्र्धनपूजा र म उनको निवास पुग्यौँ । पाटनको गल्लीभित्र ऐतिहासिक स्थानमा अवस्थित घरभित्र भेटिने उनी हामीलाई जीवित सम्पदाजस्तो लाग्थ्यो । मैले एकचोटि लेखेको पनि छु, ‘जीवित देवीको रूपमा कुमारीको पूजा गर्ने हामीले जीवित सम्पदाको रूपमा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरौँ ।’ त्यसताका घटना र विचारमा छापिएको यो आर्टिकलले केही चर्चा पनि पायो । त्यसो त संस्कृतिका संवाहक जोशीसँग नेपाली कला, रंगमञ्च र साहित्यका अथाह भण्डार छ । आफैंमा सम्पदा बनेका उनलाई त्रिमूर्तिले शताब्दीपुरुषको पदवी दियो । राज्यले तुरुन्तै स्वीकार ग¥यो । शताब्दीपुरुषलाई राज्यले भन्दा पहिले जनताले नै स्वीकार गरे । जनजिब्रोले स्वीकारिसकेपछि राज्यले स्वीकार्नु स्वाभाविक नै भयो ।

उनलाई दिइएको ‘शताब्दीपुरुष’ उनको जीवनको सम्मान मात्र थिएन, नेपाली जनताको आदर, भरोसा र आस्थाको पनि सम्मान थियो र त शताब्दीपुरुषको उपाधि छिटो जनजिब्रोमा झुन्डियो ।
[email protected]