जम्बो भनिएको देउवा सरकार फेरिविस्तार हुँदै

जम्बो भनिएको देउवा सरकार फेरिविस्तार हुँदै


कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर पशुपति शम्शेर राणले बनाएको राप्रपा प्रजातान्त्रिक अन्ततः सरकारमा सामेल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आगामी बुधबारसम्ममा मन्त्रिपरिषद गर्ने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । १८ सांसद रहेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराएपछि प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउने छ ।

राप्रपा प्रजातान्त्रिकले प्रधानमन्त्री देउवासँग चार मन्त्रालय मागेको छ । त्योसँगसँगै चार मन्त्रालयमा राज्यमन्त्री पनि पठाउने जानकारी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबराले प्रधानमन्त्री देउवालाई गराएका छन् ।

प्रधानमन्त्री देउवाले भने सकेसम्म तीन मन्त्रालयमा चित्त बुझाउन अध्यक्ष पशुपति शम्शेरलाई आग्रह गरेका छन् । राप्रपा प्रजातान्त्रिकले मन्त्री र राज्यमन्त्री हुनेको नाम लगभग टुंगो लगाएको छ ।

राप्रपा प्रजातान्त्रिकका तर्फबाट सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा र रेशमबहादुर लामा मन्त्री बन्ने लगभग पक्का भएको छ ।

त्यस्तै, राप्रपा प्रजातान्त्रिकले मन्त्रीसँगै चार राज्यमन्त्री पनि बनाउने भएको छ । राप्रपा प्रजातान्त्रिकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको सपथ लगत्तै राज्यमन्त्री पठाउने तयारी गरेको हो ।

राप्रपा प्रजातान्त्रिकले राज्यमन्त्रीका लागि राज्य लक्ष्मी श्रेष्ठ, इश्तियाक अहमद खान, रमेश कुमार लामा र सयन्द्र बान्तवाको नाम लगभग टुंगो लगाएको छ ।