संयुक्त अभ्यासमा नेपाल र भारतका सैनिक

संयुक्त अभ्यासमा नेपाल र भारतका सैनिक


नेपाली सेना र भारतीय सेनाबीच एक्स सूर्य किरणको संयुक्त अभ्यासको १२औँ श्रृङखला रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा शुरु भएको छ । विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आइतबार शुभारम्भ गर्नुभयो ।

संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गर्नुभएको छ । दुवै देशका करिब ३००-३०० जना नफ्रि सहभागी गराई सञ्चालन भएको सो संयुक्त अभ्यास यही भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा भएको थियो । विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको सो संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सफलतापुर्वक सञ्चालन भइसकेको छ ।

संयुक्त अभ्यासमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद व्यवस्थापनको समयमा स्वास्थ्य उपचारसम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा आदानप्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बताइएअनुसार नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ । सो संयुक्त सैनिक अभ्यासले दुई देशबीच वषौँदेखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशको सेनाको सकलदर्जाबीच समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।