दशैँको नयाँ नोट भदौ २८ देखि

दशैँको नयाँ नोट भदौ २८ देखि


नेपाल राष्ट्र बैंकले भदौ २८ गतेदेखि दशैँका लागि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । बैंकद्वारा जारी सुचना अनुसार राष्ट्र बैंककै मुद्रा व्यवस्थापन सटही काउण्टरबाट सर्वसाधारणका लागि २७ हजार रुपैयाँसम्मको नोट साट्ने सुविधा उपलब्ध गराउने भएको छ ।

यसबाहेक नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखाहरुबाट भने सोही मितीदेखि प्रतिव्यक्ति २० हजार रुपैयाँसम्मको सटही सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । केन्द्रीय बैंकको थापाथलीस्थित भवन क्षतीग्रस्त भएपनि चाडपर्वमा उपलब्ध गराउँदै आएको यो सुविधा नरोकिने जनाएको छ ।

बैंकले संस्थागत पत्रका आधारमा नोट सटही सुविधा चाहनेलाई भने भदौ २१ गतेदेखि नै यस्तो सुविधा प्रदान गर्ने जानकारी गराएको छ । संस्थागत पत्र ल्याउनेलाई नोटको उपलब्ध हेरी सटही गर्ने पनि जनाइएको छ । राष्ट्र बैंकले ५, १०, २०, २५ र एक सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउनेछ । नोट सटहीलाई सहज बनाउन एक सयको प्याकेटमात्र वितरण गरिने भएकोले त्यसै अनुसार सटहीको माग गर्न सर्वसाधारणसँग बैंकले आग्रह गरेको छ ।