आफ्नै कार्यकर्ताबाट घरभित्रै थुनिइन् रेणु यादव

आफ्नै कार्यकर्ताबाट घरभित्रै थुनिइन् रेणु यादव


पार्टीले दिएको टिकटमा रकम लिएर चलखेल गरेको आरोप लगाउँदै उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालकी उपाध्यक्ष एवम् पूर्वमन्त्री रेणु यादवविरुद्ध सो पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । पार्टीले सप्तरीको बेल्ही छपेना गाउँपालिका अध्यक्षको टिकट सुरेन्द्र यादवलाई दिएकोमा २० लाख रकम लिएर निर्णय उल्टाउँदै रेणुले चित्तरञ्जन यादवलाई टिकट दिलाएको आरोप कार्यकर्ताले लगाएका छन् । यसपछि आफ्नै कार्यकर्ता रेणुको विरोधमा उत्रिएका थिए ।

टिकट–प्रकरणबाट क्रुद्ध बन्न पुगेका सुरेन्द्र यादवका समर्थकहरूले रेणुविरुद्ध नारावाजी गर्दै दुव्र्यवहारसहित उनलाई उनकै घरभित्र बन्दी तुल्याएर बाहिर मूलगेट अगाडि टायर बाली प्रदर्शन शुरु गरका छन् । फोरम कार्यकर्ताको उग्र प्रदर्शनलगत्तै रेणुको घरमा प्रहरीले कडा सुरक्षा प्रदान गरेको छ भने भीडलाई तितरवितर पार्ने प्रयत्न जारी राखिएको सप्तरीबाट घटना र विचार सहकर्मी हेमशंकर सिंहले जानकारी दिएका छन् ।

बताइएअनुसार सुरेन्द्र यादव रेणु यादवकै पक्षधर जिल्ला नेता हुन् । तर, आफ्ना छोरा अभिषेक यादवलाई वर्षाइन नगरपालिकाको मेयरमा टिकट दिलाउने रेणुको प्रयत्नमा सुरेन्द्रले साथ नदिएका र छोरालाई वडा सदस्यमा पनि टिकट दिलाउन नसकेपछि रेणु तिल्मिलाउन पुगेकी थिइन् । यही झोंकमा आफूलाई रकमसहितको साथ दिन आइपुगेका चित्तरञ्जनलाई उनले आफ्नो शक्ति प्रयोग गरी सुरेन्द्रबाट खोसेर टिकट दिलाएकी थिइन् । सुरेन्द्र यादव कुनैबेला रेणुकै पक्षबाट फोरम नेपालको सप्तरी जिल्ला अध्यक्षमा प्रतिष्पर्धी बनेर पराजित भएका नेता हुन् ।

यस क्रममा रेणु यादव सञ्चारकर्मीको सम्पर्कमा आएकी छिन् । आफूले कसैको टिकट खोसेर कसैलाई दिएको भन्ने हल्ला नितान्त निराधार रहेको दाबी गर्दै उनले जनकपुरमा पार्टीको केन्द्रिय समिति बैठक बसेको तर त्यो सम्पन्न नहुँदै आफू बैठक छोडेर निस्केकोले टिकट वितरणमा कुनै भूमिका निर्वाह नगरेको बताइन् । उनले भनिन्– ‘टिकटको अन्तिम निर्णय नहुँदै किन–कसले मेरो बारेमा यस्तो भ्रमपूर्ण हल्ला फैलायो र निवासअगाडि आगजनीपूर्ण प्रदर्शन गर्न लगाएको हो, रहश्यको विषय बनेको छ ।’