लमजुङमा दशैअगावै अलैंची टिप्न शुरु, यस वर्ष उत्पादन नबढ्ने

लमजुङमा दशैअगावै अलैंची टिप्न शुरु, यस वर्ष उत्पादन नबढ्ने


लमजुङका किसानहरुले दशैअगावै अलैंची टिप्न शुरु गरेका छन् । जिल्लाको सात सयदेखि एकहजार २ सय मिटर उचाईमा रोपिएका अलैंची बगानमा अलैंची टिप्न थालिएको हो । जिल्लाको कम उचाई भएका स्थानमा लगाइएका अलैंची टिप्नका लागि तयार भएकोले किसानहरू आ–आफ्ना बगैचामा पुगेका छन् ।

अलैंची ब्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले जिल्लामा तीन फरक मौसममा अलैंची पाक्ने गरेको बताए । उनका अनुसार दशैअगावै अलैंची पाकेकोले किसानहरू अन्य काम थाती राखेर बगान पुग्न थालेका छन् ।

भुलभुले शेराका डम्बरसिंह अधिकारीले अन्य बगानमा लगाइएको अलैंचीभन्दा आफ्नो बगानमा अलैंची चाँडै गरी पाकेको बताए । ‘मेरो बगान निकै होचो ठाउँमा रहेको छ’, उनि भन्छन्, ‘होचो ठाउँमा लगाएको डम्बरसाही, जिर्मले र साउने जातका अलैंची टिप्ने बेला भएको छ ।’

जिल्लाका किसानहरूले सात सयदेखि तीनहजार मिटर उचाईमा अलैंची लगाउँदै आएका छन् । जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिकाका उच्च भेगमा अलैंची उत्पादन हुँदै आएको अध्यक्ष तामाङ बताउँछन् ।

अलैंची किसान समेत रहेका अध्यक्ष तामाङले जिल्लामा यस वर्ष अघिल्लो वर्षकै हाराहारीमा अलैंची उत्पादन हुने बताए । उनका अनुसार अघिल्लो बर्ष जिल्लामा ८ सय २१ क्विन्टल अलैंची उत्पादन भएको थियो । ‘यसबर्ष पुराना बगैंचाबाट सोचेअनुरुपको उत्पादन हुँदैन ।’ तामाङ भन्छन्, ‘नयाँ बगैंचामा यस वर्ष राम्रो उत्पादन छ ।’

विशेषगरी वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरू अलैँची खेतीतर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालले जनाएको छ । किसानहरुले वार्षिक रुपमा अलैची बेचेर मात्रै बार्षिक १ लाख ५० हजार देखि ८ लाखसम्म कमाउँदै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार अघिल्लो वर्ष अलैंची बिक्रीबाट किसानले १० करोड ६७ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाको अलैंचीलाई गुणस्तरीय बनाउनका लागि उद्योग बाणिज्य संघ, कृषि विकास कार्यालय, जिविस लगायतका संस्थाहरुले किसानहरूलाई तालिम, औजार, बेर्ना, अनुदान तथा सुधारिएको भट्टि वितरण गर्दै आइरहेका छन् ।

नेपालका ३० बढि जिल्लामा उत्पादन हुने अलैचीमध्ये लमजुङका किसानले फलाएका अलैंची स्वादिष्ट, गुणस्तरयुक्त र आकर्षक भएको नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराइले जानकारी दिए ।

– छविलाल बगाले