‘केन्द्रिय स्तरमा तालमेल नगरिने, स्थानीयमा हस्तक्षेप नहुने’

‘केन्द्रिय स्तरमा तालमेल नगरिने, स्थानीयमा हस्तक्षेप नहुने’


नेपाली कांग्रेसभित्र अनेक मतमतान्तरका विषय झाँगिदै गएसो पार्टीका प्रभावशाली नेता डा. रामशरण महतले खुलासा गर्नुभएको छ । पार्टी कामको सिलसिलामा इटहरी पुग्नुभएका नेता डा. महतले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा भरसक पार्टीभित्रै बृहत् बहस र संवाद गरेर त्यस्ता विवादहरु मिलाउने विषयमा आफू सधैँ सक्रिय रहँदै आएको बताउनुभयो ।

वर्तमान अवस्थामा पार्टीभित्र देखिएको तिक्ततासम्बन्धी जिज्ञासाको जवाफ दिँदै उहाँले विधिको शासन हुनुपर्छ भन्नेमा आफूले अडान राख्दै आएको प्रष्ट्याउनुभयो । पार्टीलाई विधान बमोजिम चलाउने विषयमा नेतृत्व तहले जिम्मेवार भएर बहस चलाउन जरुरी रहेको र नेपाली कांग्रेस पार्टीलाई अरु पार्टीभन्दा मजबुत तुल्याउन नेतृत्व तह संवेदनशील हुनुपर्नेमा पनि उहाँको विशेष जोड थियो ।

कांग्रेस पार्टी सक्षम बन्यो भने मात्र देशको विकासले गति लिने आफ्नो अवधारणा सुनाउँदै डा. महतले बाढीले क्षतिग्रस्त बनेको र घरबासविहीन बन्न पुगेका पीडितको पक्षमा कांग्रेसले राहतसँगै उनीहरुको बचाउका लागि सक्दो सहयोग गर्दै आएको, भविष्यमा पनि सहयोगको निरन्तरता रहने जानकारी दिनुभयो ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका डा. महतले प्रदेश नं २ मा हुन लागेको निर्वाचनमा पार्टीको केन्द्रीय तहबाट तालमेल नहुने स्पष्ट पार्दै स्थानीय तहमा देखिएको आवश्यकताले अन्य राजनीतिक दलसँग तालमेल भएको अवस्थामा केन्द्रले त्यसलाई सहमति दिने जानकारी दिनुभयो ।