मिडियामा लामो समयदेखि बहुचर्चित रहेका डोकलाम क्षेत्रको सीमा विवाद समाधान भएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ ‘आमने–सामने’ भएका छन ।
दुवै नेताले हात मिलाउँदै गरेको तस्विर भारतीय मिडियाहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् भने उक्त फोटो अहिले निकै ‘भाइरल’ भइरहेको छ ।
ब्रिक्स सम्मेलनका लागि चीनको सियामेन पुगेका मोदी र सीबीच भेट भएको हो । सीले अन्तर्राष्ट्रिय कन्फरेन्स सेन्टरमा मोदीको स्वागत गरेका थिए ।
यसअघि दुई नेता जर्मनीमा भएको जी २० सम्मेलनका बेला भेटेका थिए । तर, त्यतिबेला डोकलाम विवादका कारण दुई पक्षीय छलफल भने हुन पाएको थिएन ।
त्यतिबेला दुई नेताबीच भएको छोटो कुराकानीपछि नै डोकलाम विवाद समाधानको आधार तय भएको भारतीय पक्षको दाबी रहेको छ ।
बैठकका दौरान दुई नेताबीच भोलि साइडलाइन वार्ता हुने बताइएको छ ।
एबिपि न्युजका अनुसार डोकलाम विवादपछि दुई देशको सम्बन्ध नयाँ शिराबाट अघि बढाउने पक्षमा भारत रहेको उल्लेख गरेको छ ।
‘अब भविष्यमा डोकलाम शब्दको भूतलाई गाडेर अघि बढ्ने सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीले दिन चाहेका छन्,’ उच्च स्रोतको हवाला दिँदै समाचारमा उल्लेख गरिएको छ ।
यसो त राष्ट्रपति सि जिनपिङले पनि ब्रिक्स सम्मेलनको उद्घाटन सत्रमा ब्रिक्स राष्ट्रहरुबीच कतिपय राष्ट्रिय मुद्दामा रहेका असहमतिका बीच एकै ठाउँमा उपिस्थित भएकोमा खुसी व्यक्त गरेका थिए ।
उनले ब्रिक्सका पाँच राष्ट्र विकासको समान चरणमा रहेको र विकासको समान उद्देश्य रहेको बताएका थिए ।ब्रिक्स राष्ट्रहरुमा भारत र चीनसहित ब्राजिल, दक्षिण अफ्रिका र रुस रहेका छन् ।

प्रतिक्रिया