खाना-पानीको अभावले ३० हजार अल्पसंख्यक रोहिंग्या बिचल्लीमा

खाना-पानीको अभावले ३० हजार अल्पसंख्यक रोहिंग्या बिचल्लीमा


अल्पसंख्यक रोहिंग्या समुदायका ३० हजार भन्दा बढी बंगलादेशको सीमा क्षेत्रको पहाडमा खानापानीबिना अलपत्र समाचार छ । म्यानमारको सेनाले रोहिंग्या समुदायका मानिसहरुको आम हत्या गर्दै पूरै बस्ती जलाउन थालेपछि गत १० दिनमा ८० हजार भन्दा बढी रोहिंग्या बंगलादेशतिर भागेका छन् ।

म्यानमारको उत्तर रखाइन क्षेत्रमा विद्रोही समूहसँगको भीडन्तका बीच सरकारी सेनाले गाउँ नै खरानी बनाउन थालेका छन् भने ४०० भन्दा बढीको हत्या भइसकेको छ । बस्ती छोडेर पहाडतिर भागेका ३० हजारभन्दा बढी रोहिंग्याहरुलाई रसदपानीको अभावमा रहेको बताइएको छ।

म्यानमारका समाचार एजेन्सीहरुका अनुसार रोहिंग्याहरुलाई दिइँदै आएको संयुक्त राष्ट्रसंघीय सहायतामा पनि म्यानमारले रोक लगाएको छ ।अल्पसंख्यक मुस्लिम रोहिंग्याहरुलाई बंगलादेशी भन्दै म्यानमारका बहुसंख्यक बौद्धहरुले लामो समयदेखि हिंसाको शिकार बनाइरहेका छन्। सोही कारण उनीहरुलाई नागरिकताबाट समेत वञ्चित गरिएको छ। बंगलादेशले पनि उनीहरुलाई आफ्नो मान्न अस्वीकार गर्दै आएको छ।

म्यानमारको यस्तो हिंसात्मक कदमको विश्वभर निन्दा भएको छ। इण्डोनेसिया, कतारलगायतका मुलुकले रोहिंग्याहरुमाथि भएको आक्रमणको भर्त्सना गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइले पनि म्यानमारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकीको आलोचना गरेकी छन् ।

उनले आफू सुकीले रोहिंग्यामाथिको आक्रमणको भर्त्सना गर्ने समयको प्रतीक्षामा रहेको बताएका छन् । विश्वभर सुकीको यो मौनताको आलोचना गरिएको छ। एजेन्सी