दरबारमार्गका पसलमा चरम ठगी हुँदै आएकोे खुलासा

दरबारमार्गका पसलमा चरम ठगी हुँदै आएकोे खुलासा


चौविस सय रुपैयाँ पर्ने सामानलाई के तपाईं २६ हजार तिर्न तयार हुनुहुन्छ ? सायद यसका लागि कुनै अर्बपति पनि तयार हुँदैनन् । तर, साधारण गक्ष भएका आमउपभोक्ताले नै कतिपय सामानलाई एघार गुणा बढी मूल्य राजीखुशीले तिर्दै आएको खुलासा भएको छ । राजधानीको दरबारमार्गमा सञ्चालित केही पसल सञ्चालकले पच्चीस सयका सामानलाई २५ हजारभन्दा बढी मूल्य असुल गरेर वर्षौंदेखि ग्राहकलाई ठग्दै आएका रहेछन् ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा सोमबार गरिएको आकस्मिक अनुगमनपछि यस्तो खुलासा भएको हो । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा सिलबन्दी नै गरेको छ । मन्त्रालयको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरिएको हो ।

दरबारमार्गका ब्रेन्टली, स्टोरवन, पुमा र नाइक पसलमा सिलबन्दी गरिएको छ । ती पसलमा बिल विजक नभएको, बढी मूल्य लिएको र वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी ‘दशैँ छुट’ गरिएको भेटिएकाले सिलबन्दी गरिएको आपूर्तिमन्त्रालयले जनाएको छ ।

बताइएअनुसार नाइकले ४ हजार ७ सय खरिद बिलको जुत्ता २६ हजार ९ सय ९० मा बिक्री गरेको र दुई हजार ६ सय मूल्यको सामान २६ हजारमा बिक्री गरेको फेला परेको थियो । यस्तै, नर्थ फेसमा १३ हजारको सामान बेचेर चार हजारमा बिल काटेको पनि भेटिएको थियो । खरिद र बिक्री मूल्यमा धेरै अन्तर राखेको उक्त पसललाई सबै कारोबारको कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ । आपूर्ति मन्त्रालयले दशैंको मुखैमा यसरी अनुगमन गरेर ठगीबारे खुलासा गरेको कार्यलाई सकारात्मक रुपमा लिइएको छ ।

उपभोक्ताले महँगो सामान बाध्यात्मक तरिकाले किन्नुपर्ने र जनताका समस्याभन्दा पनि व्यवसायीको मनपरीबाट समाजमा विकृति आएकाले अनुगमन आएको बताउँदै आपूर्तिमन्त्री मण्डलले व्यवसायी र उपभोक्ताका बीचमा समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गरिने दृढता व्यक्त गरेका समाचार राससले प्रसार गरेको छ ।

दरबारमार्गसँगै कमलादीको सिटी सेन्टर, ठमेलको नर्थ फेस र नक्सालको भाटभटेनीमा पनि आपूर्ति विभागले अनुगमन गरेको छ । कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने भए पनि पसलले अत्यधिक नाफा खाने गरेको भेटिएकाले उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले प्रतिबद्धता व्यक्त गरेका छन् ।