राष्ट्रिय सरकारको जिम्मा नेताहरुलाई

राष्ट्रिय सरकारको जिम्मा नेताहरुलाई


प्रमुख तीन दलहरु एकीकृत माओवादी, नेपाली कांग्रेस तथा मधेशी मोर्चाका मुख्य नेताहरु संलग्न आइतबारको बैठकले मंसिर मसान्तभित्रै राष्ट्रिय सहमतिको सरकार बनाउने जिम्मा तीन प्रमुख दलका शीर्ष नेतालाई दिएको छ। ती नेताहरुले सबैभन्दा पहिले राष्ट्रिय नेतृत्वका लागि सहमति जुटाउनेछन् र राष्ट्रिय सरकारको साझा आधार तय गर्नेछन्। अब बन्ने राष्ट्रिय सहमतिको सरकारले नै संविधान जारी गर्ने, नयाँ निर्वाचन गराउने र निर्वाचन पछि बन्ने नयाँ सरकारलाई सत्ता सुम्पने बताइएको छ।

आइतबारको बैठकअनुसार कात्तिक १५ गते सात बुँदे सहमति गर्ने बेलामा र गत साता संविधानसभाको म्याद तेश्रोपटक थप्ने बेलामा मंसिरभित्रै राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो। शान्ति प्रक्रिया र संविधान निर्माणका काम सँगसँगै राष्ट्रिय सरकार गठन गर्ने सहमति बनेको थियो। त्यसैबमोजिम मंसिर मसान्तसम्म नै राष्ट्रिय सरकार बनाउने प्रयत्न थालिएको हो। आइतबार करीब दुई घन्टा छलफल गरेका मुख्य राजनीतिक दलहरुले ठूलो समूहमा कुराकानी गर्दा विलम्व हुने भन्दै शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेका हुन्। शीर्ष नेताहरुले मुख्यत: कसको नेतृत्वमा कसरी सहमतिको सरकार बन्ने भन्ने निधो गर्नेछन्।

राष्ट्रिय सहमतिको सरकारको अपरिहार्यताबारे सबै सहमत भएको र त्यस्तो सरकारले नै संविधान निर्माणका बाँकी काम गर्ने, संविधान जारी गर्ने, नयाँ निर्वाचन गराउने र निर्वाचन पछि आउने सरकारलाई सत्ता सुम्पिने आम सहमति दलहरुबीच बनिसकेको बताइएको छ। दलहरुबीच राष्ट्रिय सरकारको नेतृत्व तय भएपछि मात्र कसले कुन मन्त्रालय लिने भन्ने शक्ति बाँडफाँडको चरणमा प्रवेश गर्ने बताइएको छ।-देव, मेस, काठ्मान्डौ