व्यवसायीको दादागीरिले टिकट बुकिङ फेरि अन्योलमा

व्यवसायीको दादागीरिले टिकट बुकिङ फेरि अन्योलमा


यातायात व्यवसायीको दादागीरिले टिकट बुकिङ अन्योलमा पर्ने देखिएको छ । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रीम टिकट बुकिङ खुला गर्ने भनिएपनि यातायात व्यवसायीले चासो दिएका छैनन् ।

सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर ((छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

महासंघले गत असारबाट भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिंदै आएको छ । यातायात व्यवस्था विभाग र महासंघबीच भदौ २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो ।

उक्त सहमतिसँगै विभागले भाडा समायोजन गर्ने सहमति पनि भएको महासङ्घले दाबी गर्दै आएको छ । महासंघका अध्यक्ष डोलनाथ खनालले विभागले भाडा समायोजनको निर्णय नगर्दासम्म टिकट खुला नगरिने बताए ।

व्यवसायीहरूका मागहरूप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष खनालले चार वर्षदेखि भाडा समायोजन नहुनु दुखद भएको बताए ।

विभागले जति छिटो भाडा समायोजन गर्छ त्यतिनै छिटो अग्रिम बुकिङ खुला गरिने खनालको भनाइ छ । तर सरकार भने भाडा बढाउने पक्षमा देखिन्न । यसरी व्यवसायी र सरकार बीच मनमुटाव रहँदा यात्रुहरु प्रतक्ष्य रुपमा प्रभावित हुने देखिन्छ ।