सालोकी श्रीमतीलाई टिकट दिएको भन्दै काङ्ग्रेस कार्यकर्ता आक्रोशित

सालोकी श्रीमतीलाई टिकट दिएको भन्दै काङ्ग्रेस कार्यकर्ता आक्रोशित


– हेमशंकर सिंह
राजविराज । नेपाली काङ्ग्रेस सप्तरीका जिल्ला सभापति दिनेशकुमार यादवका सालोकी श्रीमती सुशीला यादवलाई काङ्ग्रेसका नेताकार्यकर्ताहरुले धुरु–धुरु रुवाएका छन् । पार्टीको राजनीतिमा सक्रिय नरहेकी यादवलाई राजविराज नगरपालिकाको उपमेयरको उम्मेदवार बनाइएपछि आक्रोशित काङ्ग्रेसका नेता कार्यकर्ताहरूको बैठकमा मेयरका उम्मेदवार ध्रुव देवसँगै बैठकमा पुगेकी यादवलाई धुरुधुरु रुवाएका हुन् ।

बैठकमा उपस्थित नेता कार्यकर्ताहरूले यादवको पार्टीमा कुनै भूमिका नरहनुका साथै पार्टीमा योग्य तथा अनुभवी महिला नेतृहरू रहे पनि जिल्ला सभापतिले आफ्नो सालोको श्रीमती भएकै कारण उपमेयरको उम्मेदवार बनाएको आक्रोश पोखेपछि श्रीमती यादव बैठकमै धुरुधुरु रुन थालिन् ।

मेयरको उम्मेदवारको सन्दर्भमा समेत असन्तुष्टि रहेकै बखत उपमेयरमा नयाँ अनुहारसँगै जिल्ला सभापतिको नातेदारलाई उपमेयरको उम्मेदवार बनाइएपछि नेपाली काङ्ग्रेसभित्र असन्तुष्टि र आक्रोश झन् बढ्न गएको छ । बठकमा सहभागी कतिपय नेताहरुले मेयरका उम्मेदवार देव पार्टीमा लामो समयदेखि क्रियाशील रहेकाले पार्टीको निर्णय मान्न आफूहरु तयार रहे पनि उपमेयरका उम्मेदवार यादवको सम्बन्धमा जिल्ला सभापति दिनेशकुमार यादवले पार्टीका नेता कार्यकर्तासँग माफी माग्नुपर्ने अडान लिएका छन् ।

असन्तुष्टहरूको बैठक बसिरहेको सूचना पाएपछि त्यहाँ पुगेका मेयरका उम्मेदवार देवले आफू व्यक्तिगत उम्मेदवार नभई पार्टीको उम्मेदबार भएकाले पार्टीको साख जोगाउनु सबै काङ्ग्रेसीको दायित्व भएको भन्दै वडाहरूमा देखिएको विवाद मिलाउन आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । वडाहरूको विवाद मिलाउन पार्टीले गर्ने निर्णय आफूले शिरोधार गर्ने भन्दै देवले मेयर र उपमेयरको उम्मेदवारी छनोटमा विवाद नर्गन सबैसँग आग्रह गरे । पार्टीको निर्णयविरुद्ध जानेहरूको भविष्य डावाँडोल हुने चेतावनी सोही बैठकमा उनले दिए ।

तीन दिनअघि मात्र नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले सप्तरी जिल्लाको केही गाउँपालिका र नगरपालिकाको केही प्रमुख र उप प्रमुख बाहेक नामावली सार्वजनिक गरेसँगै काँग्रेस भित्र असन्तुष्टि बढ्न पुगेको छ ।

जिल्ला सभापति दिनेशकुमार यादवले एकपक्षीय ढंगले टिकट वितरण गर्नुका साथै प्रधानमन्त्री शेयरबहादुर देउवाकी पत्नी आरजु देउवाको समेत यसमा संलग्नता रहेको आरोप काङ्ग्रेसका स्थानीय नेताहरूले लगाएका छन् ।

यसैबीच टिकट वितरणदेखि असन्तुष्टहरूको भर्खरै सम्पन्न बैठकले राजविराज नगरपालिकामा उत्पन्न टिकटको विवाद मिलाउन नगरसभापति शम्भुलाल देवको संयोजकत्वमा एक समिति गठन गरेको छ । उक्त समितिले पार्टीका शीर्ष नेताहरुको बैठक गरी आज बेलुकासम्ममा विवाद मिलाउने जिम्मेवारी आफूलाई बैठकले दिएको संयोजक देवले जानकारी दिए ।