प्रदेश नम्बर–२ मा मनोनयन दर्ता आज

प्रदेश नम्बर–२ मा मनोनयन दर्ता आज


स्थानीय तह चुनावका निम्ति प्रदेश नम्बर–२ मा मनोनयन दर्ता आज भैइरहेको छ ।  १ सय ३६ स्थानीय तहको निर्वाचनका लागि आज मनोनयन दर्ता भैइरहेको निर्वाचन आयोगले जनाएको छ ।

१ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा असोज २ गते निर्वाचन हुँदैछ । ती सबै तहबाट ६ हजार ६ सय २७ जना प्रतिनिधि चयन हुनेछन् ।

निर्वाचनका लागि २ हजार १६६ मतदानस्थल , ३ हजार ५७८ मतदान केन्द्र रहनेछन् भने निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी खटिएका छन् ।

यसैबीच तेस्रो चरणको यस निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल हुने भएको छ । आज मनोनयन गर्नुअघि नै केही तहमा तालमेलको निर्णय हुने बताइएको छ । राति अबेरसम्म पनि बैठक जारी रहेको र अहिले अन्तिम कसरत गरेर टुंगो लगाइने जनाइएको छ ।

यसैबीच नेकपा एमाले भने एक्लै चुनाव लड्ने भएको छ । केही तहको आन्तरिक कारणले टुंगो लाग्न नसकेको जानकारी दिँदै एमालेले अहिलेसम्म कसैसँग पनि तालमेल नभएको जनाएको छ । मनोनयन दर्ताका निम्ति निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजे सम्म तोकेको छ ।