माओवादीतिर देउवा र मधेसीतिर निधि लागेपछि

माओवादीतिर देउवा र मधेसीतिर निधि लागेपछि


नेपाली काङ्ग्रेसका दुई नेता दुई अलग–अलग पार्टीलाई खुसी पार्ने प्रतिस्पर्धामा लाग्दा काङ्ग्रेस र प्रजातन्त्रसमर्थक प्राध्यापकहरू निराश र विचलित हुनुपर्ने अवस्था सिर्जना भएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा माओवादीलाई खुसी तुल्याउन लागिपरिरहँदा उनकै गुटका अर्का नेता विमलेन्द्र निधिचाहिँ ‘राजपा’लाई खुसी पार्न प्रयत्नशील देखिएपछि काङ्ग्रेससमर्थक प्रजातन्त्रवादी समुदाय निराश र दुःखी बनेका हुन् । प्राप्त जानकारीअनुसार त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा रिक्त सदस्य पदमा नियुक्तिको विषयमा देउवा र निधिको व्यवहार देखेर प्राध्यापकहरू असन्तुष्ट बनेका हुन् ।

सेवा आयोगको अध्यक्ष एमालेको भागमा परेकोले एमालेसमर्थित चिरञ्जीवी शर्माले अध्यक्षको रूपमा काम गरिरहेका छन् । काङ्ग्रेसको कोटाबाट सदस्य नियुक्त प्रा.डा. केदार घिमिरेको पदावधि भने गत असार ४ गतेदेखि सकिएको छ । रिक्त पदमा प्रजातान्त्रिक प्राध्यापक सङ्घका तर्फबाट विनोद ढकालको नाम नियुक्तिका लागि सिफारिस भएको छ भने अन्य प्राध्यापकहरूले चिन्तामणि शर्मालगायतको नाम पनि सम्भावित उम्मेदवारका रूपमा अघि सारेका छन् । तत्काल पूर्ति हुनुपर्ने रिक्त पदमा समयमै कसैको नियुक्ति नभएपछि प्रजातन्त्रवादी प्राध्यापकहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी छलफल गरेको थियो ।

त्रिवि सेवा आयोगको सदस्य नियुक्तिसम्बन्धी कुरा सुन्नेबित्तिकै देउवाले ‘उक्त पद माओवादीलाई दिने वचन मैले दिइसकेको छु, प्रचण्डले नाम दिएपछि त्यहाँ नियुक्ति हुन्छ’ भन्ने जवाफ दिए । प्राध्यापकहरू प्रधानमन्त्रीको कुरा सुनेर स्तब्ध भए र भने, ‘सेवा आयोगको सदस्यको भूमिका धेरै महत्वपूर्ण हुन्छ र यो काङ्ग्रेसको भागमा परेको हो, त्यसैले प्रजातन्त्रवादी प्राध्यापकहरूबाट नै उक्त पदमा चयन हुनुपर्छ ।’

तर, प्रधानमन्त्री देउवामा प्राध्यापकहरूको कुराको कुनै असर देखिएन, उनले ‘माओवादीलाई आफूले वचन दिइसकेको’ भन्ने एकोहोरो रटान लगाइरहे । त्यसपछि प्राध्यापकहरू पनि क्रूद्ध भए र भने, ‘यदि सेवा आयोगको सदस्यमा माओवादीलाई ल्याउनुभयो भने हाम्रो सङ्गठन (प्रजातान्त्रिक प्राध्यापक सङ्घ)ले नेपाली काङ्ग्रेससँगको आबद्धता तोड्छ, अब हामी तपाईंसँग कुनै संवाद गर्न पनि आउने छैनौँ ।’ यसरी प्राध्यापकहरू रिसाएपछि देउवाले यससम्बन्धी विषयको छलफल गरेर टुङ्गो लगाउन तत्काल विमलेन्द्र निधिलाई जिम्मा लगाए । निधिले चाहिँ अहिले मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीसम्बद्ध व्यक्तिलाई सेवा आयोगमा नियुक्ति दिने तयारी गरिरहेको जानकारीमा आएको छ ।

निधिले आफ्ना निकटस्थहरूमार्फत प्राध्यापकहरूसम्म ‘मधेसीलाई नियुक्त गर्दा दुई नम्बर प्रदेशमा हुन लागेको निर्वाचनमा लाभ हुने भएकोले राजपानिकटका कसैलाई नियुक्ति दिन उपयुक्त हुने’ सन्देश पु¥याएका छन् । निधिको सन्देशले प्राध्यापकहरू थप क्रूद्ध हुन पुगेका छन् । एउटा नेता माओवादीलाई खुसी तुल्याउन लाग्ने र अर्कोचाहिँ राजपातिर भएपछि प्रजातन्त्र र काङ्ग्रेसको पक्षमा रहेका काङ्ग्रेसी नेताहरू को हुन सक्छन् भनी प्रजातन्त्रवादी प्राध्यापकहरूबीच खोजी र चर्चाको विषय भएको छ ।

काङ्ग्रेस र प्रजातन्त्रका पक्षमा भएका काङ्ग्रेस पार्टीमा आबद्ध नेताहरूको पहिचान गरी प्राध्यापकहरूले आफ्ना कुराहरू राख्ने भएका छन् । कुनै पनि हालतमा उक्त रिक्त पदमा प्रजातन्त्रवादी प्राध्यापकको नियुक्ति गरिएन भने काङ्ग्रेसमा आबद्धता रहेको प्रजातान्त्रिक प्राध्यापक सङ्घले काङ्ग्रेससँगको आफ्नो आबद्धता तोड्ने निश्चित मानिएको छ । काङ्ग्रेस पार्टीका सरकारी नेताहरू (देउवा र निधि) माओवादी र मधेसीलाई खुसी पार्ने प्रतिस्पर्धामा लागेका कारण पद रिक्त भएको अहिले तीन महिना बित्न लाग्दा पनि पूर्ति हुन सकेको छैन । पदपूर्ति नभएका कारण तीन महिनादेखि त्रिवि सेवाका कुनै पनि काम–कारबाही अघि बढ्न सकेका छैनन् ।