शीर्ष नेतादेखि मन्त्रीकै मिलेमतोमा ‘फ्रि भिसा’ असफल !

शीर्ष नेतादेखि मन्त्रीकै मिलेमतोमा ‘फ्रि भिसा’ असफल !


शीर्ष नेतादेखि मन्त्रीकै मिलेमतोमा सरकारले ल्याएको ‘फ्रि भिसा फ्रि टिकट’ को नीति असफल भएको पाइएको छ ।

म्यानपावर व्यवसायी विभिन्न दलको छत्रछायाँमा रही शीर्ष नेतादेखि मन्त्रीसँग हिमचिम मिलाउन थालेपछि सरकारले ल्याएको उक्त व्यवस्था कार्यान्वयन हुन नसकी असफल बनेको हो ।

यसले शीर्ष नेतादेखि मन्त्रीकै संरक्षणमा म्यानपावर व्यवासायीले लूट मच्चाइरहेको प्रष्ट देखाएको छ ।
स्रोतका अनुसार म्यानपावर व्यवसायीहरू आफ्नो गलत धन्दा रोक्न पावर सेयरिङका निम्ति विभिन्न दलसँग गासिँएका छन् ।

म्यापावर व्यवसायी दलीय संगठनमा 

यतिबेला म्यानपावर व्यवसायी कुनै न कुनै दलसँग जोडिएकै छन् । एमालेनिकटका रूपमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल छ, जसको अध्यक्ष हरिबहादुर पाण्डे छन् ।

त्यस्तै, कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी (फोरम) छ, जसको नेतृत्व विष्णु गैरेले गरेका छन् ।

यस्तै, माओवादी केन्द्रनिकटका रुपमा वैदेशिक रोजगार गणतान्त्रिक मञ्च चिनिनेगरेको छ । जसको नेतृत्व भुवन घिमिरेले गरेका छन् ।

सरकारले फ्रि भिसा फ्रि टिकट लागू गर्न खोजे पनि दलनिकटका ती संगठनबाट ठूलो दबाब आउने गर्दा सरकारले यो व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको छैन ।

दल निकटका संगठनबाट व्यवसायीहरुले आफ्ना नेताहरुलाई दबाब दिँदा सरकारपिच्छे आउने मन्त्रीले यो नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरे पनि कार्यान्वयन हुन नसकेको स्रोत बताउँछ ।

चुनाव जित्न ठूलो रकम सहयोग

दलनिकटका म्यानपावर व्यवसायीले स्थानीय तह चुनावमा आ–आफ्ना दल र नेतालाई जिताउन आर्थिक सहयोग गर्ने गरेको उच्च स्रोत बताउँछ । यसले पनि नेता तथा मन्त्रीहरु प्रलोभनमा पर्ने गरेको देखिन्छ ।

कारबाहीमा परे दललाई गुहार्ने

दलको छत्रछाँयाबाट चलेका व्यवसायीहरुमाथि सरकारले कारबाही गरे नेताहरुलाई गुहार्ने गरिएको छ ।
वैदेशिक रोजगार विभागमा कुनै म्यानपावर विरुद्ध उजुरी परे, विभागले अनुगमन गरी म्यानपावरलाई कारबाही गरे ढाकछोपका निम्ति म्यानपावर व्यवसायीले दलका नेताहरु गुहार्ने गरेको स्रोत बताउँछ ।

नेताहरुको दबाबमा मन्त्रीलाई लगाई त्यस्ता उजुरी तथा मुद्दाहरु सामान्य मिलापत्रमा छाडिने गरेको विभागकै कर्मचारी बताउँछन् ।

ठगीका घटना बढ्दै

उता, वैदेशिक रोजगार विभाग भने ठगीका घटना बढेको स्वीकार्छ । सरकारले ल्याएको यो व्यवस्था कार्यान्वयन गर्न आफू लागिपरिरहेको बताउने विभागले हालै इन्टरनेसनल जव लिङ्क, युनिभर्सल इन्टरनेसनल म्यानपावर,सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावर र निड म्यानपावरमा छापा मारेको थियो ।

उनीहरुले विदेश जाने कामदारसँग मोटो रकम लिएको विभागलाई सूचना प्राप्त भए अनुरुप छापा मारिएको र कतिपयलाई रंगेहात पक्राउ गरिएको थियो ।

राजधानीको बसुन्धरास्थित नीड इम्प्लोईमेन्ट सर्भिस प्रालिकी प्रतिनिधि सुमिना गुरुङले एक कामदारसँग १ लाख २० हजार असुल्दै गर्दा वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको भएपनि विभागले म्यानपावरकी प्रतिनिधि गुरुङलाई २ लाख धरौटीमा रिहा गरेको थियो ।

यसरी भदौमा मात्रै विभागले सामान्य अनुगमन एवं छापा मार्दा कामदार ठगिएको प्रष्ट देखिन्छ । विभागले अनुगमन एवं छापा मारेको देखिएतापनि थोरै मात्रमा मुद्दा चलाइने गरिएको स्रोत बताउँछ ।

राजनैतिक दबाबका कारण विभागले वैदेशिक रोजगारमा हुने ठगीलाई सामान्य मिलापत्रमा छाडिदिने गरेको र कतिपय म्यानपावरको कौफियतमा विभागका अधिकारीहरुले बार्गेनिङ समेत गर्ने गरेका छन् ।– अर्थ डेक्स