रुपान्तरित संसद्को कार्यकाल अब मात्र ५० दिन बाँकी

रुपान्तरित संसद्को कार्यकाल अब मात्र ५० दिन बाँकी


संविधानसभा बाट रुपान्तरित संसद्को आयु बढीमा ५० दिन मात्र बाँकी रहँदा पनि सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक अझै संसद्‍मा दर्ता गरेको छैन । निर्वाचन आयोगले चुनावको एक महिनाअघि नै मनोनयन दर्ता गराउने र मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् कायम रहने संवैधानिक व्यवस्थाका कारण संसद्को आयु बढीमा ५० दिन मात्र देखिन्छ ।

सरकारले मंसिर १० र मंसिर २१ मा गरी दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकसमेत यही संसद्ले पारित गर्नुपर्ने भए पनि त्यसको मस्यौदासमेत दर्ता भएको छैन ।

‘कात्तिक १० को वरिपरि मात्र संसद्को आयु देखिन्छ’, संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले भने, ‘मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुन्छ । यो संसद्ले जे-जति गर्ने हो अब ५० दिनमा गरिसक्नुपर्छ ।’

एमाले सांसद अग्नि खरेल यही संसद्ले राष्ट्रियसभा गठन र राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक पारित गर्नुपर्ने तर्क गर्छन् । ‘सरकारले यी विधेयक संसद्मा ल्याउन किन ढिला गरेको हो भन्ने बुझ्नै सकिएन’, खरेलले भने, ‘आवश्यक विधेयक फटाफट पारित गरेर चुनावमा होमिनुको विकल्प छैन ।’