प्रादेशिक प्रशासक नियुक्तीमा एमालेको गम्भीर असन्तुष्टी

प्रादेशिक प्रशासक नियुक्तीमा एमालेको गम्भीर असन्तुष्टी


प्रादेशिक प्रशासक नियुक्तीमा एमालेले गम्भीर असन्तुष्टी देखाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारले स्वेच्छचारी रुपमा प्रादेशिक प्रशासकहरु नियुक्ती गरिरहेको भन्दै उक्त नियुक्ती तत्काल नरोके वर्तमान सरकारको विकल्प खोज्ने चेतावनी दिएको हो ।

बुधबार राजधानीमा भएको साक्षात्कारमा एमाले उपाध्यक्ष भीम रावलले वर्तमान सरकारको म्याद चार महिना मात्रै बाँकी रहेको उल्लेख गर्दै भने, ‘यो सरकारको म्याद अब चार महिनामात्रै बाँकी छ, तर अहिले प्रदेशहरुमा धमाधम प्रशासकहरु नियुक्ती गरिरहेको छ भन्ने कुरा आएको छ, त्यसको लागि हामीसँग कुनै परामर्श गरेको छैन्, यदि यसैगरि स्वेच्छचारी ढंगले नियुक्ती गरियो भने एमालेले प्रतिवाद गर्छ, हामी हदैसम्मको कदम चाल्न बाध्य हुनेछौं ।’

उनले निर्वाचन मिति घोषणा भैसकेको र निर्वाचन आचारसंहिता समेत लागु भैसकेको अवस्थामा वर्तमान सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध मनपरी र स्वेच्छचारी ढंगले कर्मचारीहरुलाई जथाभावी चलाउने काम गरेको आरोप लगाए ।

उनले भने,‘निर्वाचन आयोगकै सचिवलाई सरकारले तीन चोटी सरुवा गर्यो, अब यस्तो काम बन्द गरोस् ।’ त्यस्तै उनले वर्तमान सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको समेत आरोप लगाए ।

रावलले भने,‘वर्तमान सरकारले नेपाल स्काउटको २२ रोपनी जग्गा हत्याउन प्रयास गर्यो, यो कुरा आयोगका पदाधिकारीहरुले थाहा पाएर विरोध गर्नुभएको थियो, सरकारले आयोग नै विघटन् गर्यो ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बेला आफ्नो देशको प्रतिरक्षा गर्नुको साटो चाकडीको भाषणा गरेको समेत आरोप लगाए । रावलले थपे,‘नेपाली जनता लज्जित भएका छन्, हाम्रो संसदको घोर अपमान भएको छ ।’

रावलले प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा टिप्पणी गर्दै भने,‘उहाँले यो देशलाई सार्वभौमसत्ता सम्पन्न ठान्नुभएको छ वा कसैको इकाई ? भ्रमणका बेला भएको संयुक्त वक्तव्यमा समेत कतिपय बुँदामा नेपाली मनलाई घोच्ने कुराहरु उल्लेख भएका छन् ।’

देउवाको भारत भ्रमणको बेलामा भएका कतिपय गम्भिर विषयमा आफूले प्रमुख प्रतिपक्षी दलको हैसियतमा संसदमा कुरा उठाएपनि प्रधानमन्त्री देउवाले सार्वभौमसत्ता सम्पन्न संसदमा आएर बोल्न नसकेको गुनासो पोखे ।

रावलले अघि थपे,‘हेर्दै जानुहोला, नेपाली जनताहरुले यस्ता खाले काम गर्नेहरुलाई यही निर्वाचनमार्फत दण्डित गर्नेछन् ।’ उनले प्रदेश नम्बर २ को निर्वाचनमा समेत आफ्नो पार्टी पहिलो हुने दाबी गरे ।