सप्तरीमा उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता

सप्तरीमा उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता


हेमशंकर सिंह

राजविराज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत आगामी असोज २ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारहरुले उत्साहपूवर्क मनोनयन दर्ता गरेका छन् ।

सप्तरीका १८ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरुले दल र स्वतन्त्र उम्मेदवारहरुलाई पालो मिलाएर मनोनयन पत्र दर्ता गरेका छन् भने कतिपय निर्वाचन अधिकृतको कार्यालयले जो अगाडि आए उसैको दर्ता पहिले गरेका छन् ।

खड्ग नगरपालिकामा अगाडि आएका नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार जयप्रकाश चौधरीको मनोनयन पत्र दर्ता गरी उद्घाटन गरिएको निर्वाचन अधिकृत रीताकुमारी बख्रेलले बताउनुभयो । बख्रेलका अनुसार अनुसार बिहान १० बजेदेखि सुरु गरिएको उम्मेदवारहरुको मनोनयन पत्र दर्ता बेलुकासम्म गरेका छन् ।

प्रायः मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा नेपाल, नेपाल लोकतान्त्रिक फोरम, नयाँ शक्ति–नेकपा संयुक्त, राप्रपासहित केही स्वतन्त्र उम्मेदबारहरुले प्रमुख÷उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष र वडा सदस्यका लागि मनोनयन पत्र दर्ता गरेका छन् ।

प्रायः सबै दलका नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारहरु आ–आफ्ना कार्यकर्ता, समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन पत्र दर्ता गरेका छन् भने कतिपय दलहरुले बाजागाजासहित गएर मनोेनयन पत्र दर्ता गरेका छन् ।

सप्तरीको नगरपालिका तथा गाउँपालिकाको केन्द्र रहेको बजार तथा चोकहरुमा तथा प्रमुख÷अध्यक्षका उम्मेदवारहरुको घरमा तथा पार्टी सम्पर्क कार्यालयहरुमा दलका कार्यकर्ता र समर्थकहरुको भीडभाड रहेको थियो ।

उता खडग नगरपालिकाको कल्याणपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ताका लागि मुख्य सडक महेन्द्र राजमार्गको विसनपुरदेखि चकवा सम्मको २ किलो मिटरसम्मको दुरीमा दलका नेता तथा कार्यकर्ताहरुको भिडभाड रहेको थियो । संघीय समाजवादी फोरम नेपाल पार्टीका प्रमुखका उम्मेदबार रहेको पूर्व सभासद् स्वर्गीय सदरुल मियाँ हकको छोरा हेमायु हकको घरमा सयौ कार्यकर्ताहरुको भिडभाड तथा भोजभतेर समेत रहेको थियो ।

त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिकाको कनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ताका कदमाहा, कुशहा, कनकपुर बजारमा उम्मेदवर र तिनका समर्थकहरुको घुँइचो लागेको थियो ।

यता सप्तरीको सदरमुकाम रहेको राजविराजको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहानैदेखि दलका उम्मेदबारहरुको भिडभाड रहेको थियो । बाजागाजा सहित मनोनयन पत्र दर्ताका लागि आएका दलहरुको बेलुका सम्म मनोनयन पत्र दर्ता गरेको छ । भने मनोनयन दर्ताको क्रममा नारा जुलुस गर्दे आएका दलहरुको जुलुसमा बालबालिकाहरुको पनि प्रयोग गरेको पाइएको छ ।

सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानीय तहमा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुसहित कुल ८ सय ५६ पदका लागि मनोनयन दर्ता भएका छन् ।