निःशुल्क पाइने औषधिको चरम अभाव !

निःशुल्क पाइने औषधिको चरम अभाव !


देशका विभिन्न जिल्लामा निःशुल्क पाइने औषधिको चरम अभाव देखिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिरामीका लागि अति आवश्यक औषधि नुवाकोटको स्वास्थ्य संस्थामा अभाव देखिएको हो ।

स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट गएको वर्ष मागअनुसारको बजेट र औषधि नपठाएको र यस वर्ष पनि ढिलाइ गरेपछि बिरामीलाई निःशुल्क उपलब्ध गराइने औषधि विभिन्न स्वास्थ्य चौकीमा अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।

“मौजुदा औषधि सकिएकाले वितरणमा समस्या आएको छ ।” उहाँले भन्नुभयो, “तत्कालका लागि भिटामिन ‘बी’, ग्यास्ट्रिकविरुद्धको औषधि, विभिन्न रोगविरुद्धका एन्टिबायोटिक, टाइफाइडविरुद्धको सिप्रोलगायतका औषधि अभाव देखिएको हो ।”

औषधि उपलब्ध गराउन नसकिएपछि जिल्लाको त्रिशूली अस्पतालसहित तीन प्राथमिक स्वास्थ्य केन्द्र र ७१ स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराउने १५ भन्दा बढी प्रकारका औषधि अभाव भएको हो ।

राससका अनुसारमन्त्रालयले बजेट वा औषधि समयमा नपठाउँदा धेरै माग हुने सिटामोल, झाडापखालाविरुद्धको जीवनजल, निमोनिया बिरामीका लागि आवश्यक पर्ने औषधि पनि सीमित रहेकाले अति आवश्यक परेमा मात्र वितरण गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

“आवश्यक पर्ने औषधि अभाब भएकाले क्षेत्रीय कार्यालयमार्फत केन्द्रमा माग गरेका छौं ।” स्वास्थ्य अधिकृत अधिकारीले भन्नुभयो, “कार्यालय सञ्चालनको लागि उपलब्ध बजेटबाट अति आवश्यक औषधि खरिदको तयारी गरेका छौँ ।”

सरकारले सर्वसाधारणका लागि अति आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेअनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ६७, प्रसूति गृहसहितका स्वास्थ्य चौकीमा ३८ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउँदै आएको थियो ।

उता,तेह्रथुमका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ ।

आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह आफैँले औषधि खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि पठाएको छैन ।

कार्यालयले औषधि पठाउन छाडेपछि दुई महिना यता दैनिक अत्यावश्यक औषधि अभाव भएको चुहानडाँडा स्वास्थ्य चौकीका इन्चार्ज सुशील इङ्नामले बताउनुभयो । “दुई महिनायता औषधि सकिएको छ, निःशुल्क पाइने ३९ मध्ये अहिले दुई तीनवटा औषधि मात्रै उपलब्ध छ”, उहाँले भन्नुभयो । आठराई गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।

“महत्वपूर्ण औषधि सबैतिर सकिएको छ”, उहाँले भन्नुभयो, “यसबारे कसैले चासो दिएको छैन ।” सो स्वास्थ्य चौकीमा इवा, छातेढुंगा, चुहानडाँडा र थोक्लुङका सर्वसाधारण सेवा लिन आउने गरेका छन् । अहिले दैनिक २० देखि ३० जनासम्म बिरामी नियमित रुपमा उपचारका लागि आउने गरेका छन् ।

औषधि नहुँदा सिटामोल समेत किनेर खानुस् भनेर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका अहेव डम्बर अधिकारीले बताउनुभयो । “सिटामोल समेत छैन, आइरन चक्की नहुँदा गर्भवतीले सेवन गर्न पाएका छ्रैनन्,” उहाँले भन्नुभयो, “निःशुल्क दिने अस्थायी साधन पिल्स र डिपो तथा झाडापखाला लाग्दा सेवन गर्ने जीवनजल मात्रै छ ।”

सरकारले निःशुल्करूपमा बिरामीलाई वितरण गर्न निर्देशन दिएका औषधि पेटको दुखाइ कम गर्ने बुस्कोपान, ग्यास्ट्रिकको औषधि डाइजिन, बान्ता रोक्ने प्रोमिथाजिन, आँखाको समस्या भएका बिरामीलाई लगाउने मलम सिप्रोलगायत सामान्य प्रकारका कुनै पनि औषधि स्वास्थ्य संस्थामा लामो समयदेखि नभएको स्वास्थ्यकर्मीको भनाइ छ । घाउ सफा गर्ने झोल औषधि बेटाडिन नभएको महिनौँ बितेको छ ।

मासिक ३०० कण्डम खपत हुने यस स्वास्थ्य संस्थामा दुई महिनायता एक प्याकेट पनि छैन । जिल्ला स्वास्थ्य कार्यालयले औषधि नपठाएपछि बिरामी आउन छाडेका थोक्लुङ स्वास्थ्य चौकीका इन्चार्ज मुकेश यादवले बताउनुभयो । निमोनिया, ज्वरो, चोटपटक आदिका बिरामीलाई प्रयोग गर्ने एन्टिबायोटिक महिनौँदेखि अभाव भएको छ ।

निमोनिया भएका बच्चालाई प्रयोग गरिने कोट्रिम नभएको पनि लामो समय भएको उहाँले बताउनुभयो । यहाँ पनि गर्भवती महिलाका लागि नभई नहुने आइरन चक्की सकिएको छ । बिरामीलाई लठ्याउने सुई जाइकोलिन र सुई लगाउनुपूर्व सफा गर्ने स्प्रिट नभएको महिनौँ बितेको छ ।

इवा स्वास्थ्य चौकीमा पनि दुई सातायता औषधि अभाव छ । स्वास्थ्य संस्थाको भित्तामा स्वास्थ्य सेवा विभागले निःशुल्करूपमा बिरामीलाई वितरण गर्ने औषधिका प्रकार र तिनको नाम सूची टाँसिएको छ । तर औषधि छैन । औषधि राख्ने दराज महिनौँदेखि रित्तो छ । भएका केही औषधिको पनि म्याद सकिएको छ ।

“बिरामीको चाप बढिरहेको छ, औषधि छैन, जिल्ला स्वास्थ्य कार्यालयमा माग गरेर पठाउँदा पनि पठाइदिँदैनन्, पठाएका कतिपय औषधि म्याद नाघेर मात्र यहाँ आइपुग्छन्”, ओख्रे स्वास्थ्य चौकीका इन्चार्ज पूर्ण मगरले भन्नुभयो । हमरजुङ स्वास्थ्य चौकीमा समेत औषधि अभाव छ ।

जिल्लाका फेदाप, मेन्छ्यायेम र छथर गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्थानीयवासीले बताएका छन् ।

म्याङलुङ र लालीगुराँस नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा समेत औषधि अभाव छ । जिल्ला अस्पतालमा समेत औषधि अभाव छ । नयाँ आव लागेपछि औषधि किन्नै नपाएकाले औषधि अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो ।

गाउँपालिका र नगरपालिकाले पनि तत्कालै बजेट अभावका कारण औषधि किन्न सक्ने अवस्था नरहेको जनाएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयले सोमबार मात्रै बजेट निकासा गरेकाले औषधि किन्ने प्रक्रिया शुरु गर्न अझै केही दिन लाग्ने छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

“बजेट पास नभई खर्च गर्ने अवस्था छैन, बल्ल गाउँपालिकाको नाममा निकासी भएको छ”, उहाँले भन्नुभयोे, “तुरुन्तै निर्देशिका बनाएर औषधि किन्ने तयारी थालेको छु ।” सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक औषधि अभाव हुनु दुःखदायी भएको उहाँको भनाइ छ ।