प्रदेश नम्बर–२ मा उम्मेदवार मात्रै २८ हजार !

प्रदेश नम्बर–२ मा उम्मेदवार मात्रै २८ हजार !


प्रदेश नम्बर–२ मा उम्मेदवार मात्रै २८ हजार भन्दा बढी रहेको पाइएको छ । स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार प्रमुख÷अध्यक्ष पदमा एक हजार ५१०, उपप्रमुख/उपाध्यक्ष पदमा ९७५, वडाध्यक्ष पदमा छ हजार २८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

खुल्ला सदस्य दुई पदमा १० हजार ५१९, महिला सदस्यमा चार हजार ७४८ र महिला दलित सदस्यमा चार हजार २६६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराए ।

यस निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । तेस्रो चरणको निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने आयोगले जनाएको छ ।