मोदीलाई अरुण जलविद्युत उद्घाटन गर्न दिए दुर्घटना हुनेछ : विप्लव

मोदीलाई अरुण जलविद्युत उद्घाटन गर्न दिए दुर्घटना हुनेछ : विप्लव


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अरुण तेस्रो जलविद्युत आयोजनाको उद्घाटन गर्न दिए ठूलो दुर्घटना हुने चेतावनी दिएको छ ।

सप्तकोसी उच्च बाँध नेपाल र नेपालीको हित विपरित रहेकाले तत्काल उक्त सम्झौता खारेज नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत बास्तोलाले दिएका छन् ।

सप्तकोसी उच्च बाँधको विरोधमा धरानमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले अरुण तेस्रो उद्घाटन गर्न मोदी आए ठूलो दुर्घटना हुने चेतावनी दिएका हुन् ।

विरोधसभा अगाडि पार्टीले धरानको छाताचौकबाट राष्ट्रघाती सप्तकोसी उच्चबाँध खारेज गर, नेपालको जलसम्पदा नेपालके लागि प्रयोग गरौँ लगायतका नारा लगाउदै कार्यकर्तालाई सडकमा उतारेको थियो।

सरकारले सप्तकोसीमा २ सय ६९ मिटर अग्लो बाँध निर्माणका लागि सप्तकोसी उच्च बाँधको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न स्वीकृती दिएपछि विप्लव नेतृत्वको पार्टीले विरोध जनाउदै आएको छ ।

नेता बास्तोलाले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको बेला मोदीलाई अरुण तेस्रोको उद्घाटन गर्न निम्ता दिएको प्रसंग कोट्याउदै नेपाल र नेपालीविरुद्ध गलत अभिव्यक्ति दिने भारतीय प्रधानमनत्रीलाई कुनै पनि हालतमा अरुण तेस्रोको उद्घाटन गर्न नदिने बताए ।

पूर्वसांसद तथा पार्टीका केन्द्रीय सदस्य किरणकुमार राईले तत्काल भारतलाई दिएको डीपीआरको काम बन्द गर्न आग्रह गरेका छन् ।

सप्तकोसीमा बाँध बने प्रदेश १ का धेरै जसो जिल्लाका धेरै मानव बस्ती डुवानमा पर्ने भएकाले सप्कोसी उच्च बाँध नेपालको हितमा नरहेको उनको दाबी छ ।

सीमाविद् गोपाल कोइरालाले ३० बर्ष अगाडि भएको कोसी उच्च बाँध सम्झौता अनुसार नै उच्च बाँध बन्न लागेकोले यो समय सान्दर्भिक नभएको भन्दै त्यसकाविरुद्ध लाग्न सबै राष्ट्रवादीलाई आग्रह गरेका छन् ।

प्रा.डा.गोपाल शिवाकोटी (चिन्तन) ले सप्तकोसी उच्च बाँध नेपाल र नेपालीका लागि मात्र नभएर भारतका लागि समेत हानिकारक हुने बताए ।

प्रजातन्त्र र लोकतन्त्र पश्चात भारतसंग भएका प्राकृतिक सम्झौता कहिल्यै पनि नेपालीको हितमा नभएको बताउदै उनले यसपछिका सरकारले राष्ट्रियता जोगाउन भन्दा पनि भारतलाई खुशी पार्ने काम गरिरहेको आरोप लगाए ।

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीसँग गरेको ४६ बुँदे सहमतिको २८ नं. बुँदामा कोसी नदीमा उच्च बाँध बनाउने उल्लेख गरिएको छ ।