कोटिहोम महायज्ञमा २९ लाख संकलन

कोटिहोम महायज्ञमा २९ लाख संकलन


 भदौ ६ देखि २१ गतेसम्म सञ्चालन भएको विश्वकल्याण कोटिहोम महायज्ञबाट रु २९ लाख नगद संकलन भएको छ । कोटिहोम महायज्ञ तिला गाउँपालिका–४ तिलात्रिवेणीमा सञ्चालन भएको थियो । महायज्ञमा दाताहरुबाट रु २३ लाख ४०० नगद र सात कित्ता जग्गा दान गरेर जम्मा रु २९ लाख बराबर संकलन भएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष गोरखबहादुर शाहीले जानकारी दिनुभयो ।

“महायज्ञ सञ्चालनको नौ दिनसम्म बडो मुस्किलले रु १० लाख उठेको थियो, यसबाट हामी निरास थियौँ तर ६ दिनमा ह्वात्तै रु २० लाख संकलन भएको छ”, अध्यक्ष शाहीले भन्नुभयो । उठेको रकमले धामको संरचना निर्माण गर्ने लक्ष्य पूरा नहुने भए पनि त्रिवेणी धार्मिक आकर्षणको केन्द्रविन्दुका रुपमा परिचित भएको उहाँको भनाइ थियो । यो महायज्ञले त्रिवेणीधामको व्यापक प्रचार–प्रसार भएकाले अब धार्मिक पर्यटन प्रवद्र्धन हुने उहाँको विश्वास रहेको छ ।

समारोह समितिका महासचिव शान्तिनाथ योगीले महायज्ञमा सातजनाले जग्गादान गरेको बताउनुभयो । महासचिव योगीका अनुसार जग्गादाता हरिलाल शाही, जया शाही, अझबहादुर शाही, दलवीर शाही, मुनिराम सुनार, लालबहादुर शाही र शेरबहादुर शाहीले एक÷एक कित्ता जग्गा दान गरेका छन् । महायज्ञमा भूमि, अन्न, तुला, गौदान लगायतका थुप्रै दान गरिएको थियो ।

कोटिहोम महायज्ञ सञ्चालनका समन्वयकर्ता लोकेश शाहीले ओझेलमा परेको धार्मिक क्षेत्रमा पहिलो पटक विश्वकल्याण कोटिहोम महायज्ञ लगाउने काममा सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।साधारण लेखपढ भए पनि कोटिहोम लगाउने दुई वर्षदेखिको पहल र प्रयासमा आफू सफल भएको समन्वयकर्ता शाहीको भनाइ थियो । पन्ध्र दिनसम्म सञ्चालन भएको विश्कल्याण कोटिहोम महायज्ञमा ६० हजार भक्तजनको सहभागिता रहेको आयोजकले जनाएका छन् । रासस