फेरि एकपटक हङकङको सेरोफेरो (भाग एक)

फेरि एकपटक हङकङको सेरोफेरो (भाग एक)


सन् १९९६को अगस्त महिनामा पहिलोचोटि हङकङको काइताक विमानस्थलमा पाईला टेकेको थिएँ । विमान अवतरण हुँदैगर्दा अकाशबाट तलहेर्दा हङकङमा अहिलेजस्तो गगनचुम्बी अट्टालिका र भवनहरुको भरमार भने देखेको थिएन । विस्तारै रोयल नेपाल एअरलाईन्सको फुच्चे जहाज धावनमार्गतिर अवतरण हुँदैथियो, चारैतिर झिलिमिलि बत्तीहरुका प्रकाशमा हङकङ आईल्याण्ड र काउलुनलाई घेरेका समुन्द्रको पानीमाथि छरप्रष्ट राखेका डुंगाहरु र जहाजहरुको मोहक दृष्याले मन पुलकित भएको थियो । सबै नेपालीहरुसरह म पनि आफ्नो भाग्य हातको मुट्ठीभित्र कसेर विमानस्थलमा उत्रेको थिएँ । हङकङको बारह वर्षको बसाइपछि बेलायतमा फेरि आफ्नो गन्तव्य खोज्दै आजभन्दा तीनवर्ष पहिले आएको थिएँ । सन् १९९६ देखि सन् २००८सालसम्मको बसाइमा मैले हङकङमा धेरै परिवर्तनहरु देखेको थिएँ । हङकङलाई चिनिया सरकारसमक्ष हस्तान्तरण गर्ने क्रममा र गरिसकेपछि विशेषगरि भौतिक संरचनाहरु र आर्थिक विकाशमा हङकङले ठुलो फड्को मारेकी छिन् । नब्बेको दशकमा हङकङ प्रवेश गरेका नेपालीहरु यतिबेला एकप्रकारले हङकङेली जीवनको मूलधारमा मिस्सिइसकेका अनुभूति यसपल्ट भयो मलाई । यतिबेला म ठीक तीनवर्ष पुग्नुअघि हङकङमा बस्ने स्थायित्वको अधिकार कायम राख्न पुनः हङकङ फर्केको थिएँ ।

यतिबेला म काठमाडौबाट नभई लण्डनको हिथ्रो विमानस्थलबाट दुईतले एमिरेट्स विमानबाट हङकङ आएको थिएँ । नब्बेको दशकमा हजारौ नेपालीहरुका श्रम योगदानबाट निर्माण गरिएका संसारका दशवटा मुख्य भौतिक संरचनाहरु मध्येका एउटा, हङकङको अन्तर्राष्ट्रिय विमानस्थल, चेपलापकोकमा म आफ्नो जीवन संगिनीसँग राति साढे नौबजे अवतरण गरेको थिएँ । तीनवर्ष अघि बेलायत प्रस्थानगर्दापनि यही विमानस्थलबाट नै उडेको थिएँ । विमानस्थलमा अवतरण गर्नुअघि मैले विगतलाई सम्झेको थिएँ । त्यतिबेला हङकङमा श्रमिकहरुको ठूलो माँग थियो । विशेषगरी निर्माण र सुरक्षाक्षेत्रमा स्थानीयहरुलाई भन्दा वफादार र परिश्रमी नेपालीहरुलाई राम्रो तलब भत्ता दिएर काम दिएको थियो । यसले हङकङको व्यावसायिक सुझबुझलाई दर्शाउछ । वास्तवमा प्राय विदेश पसेका नेपालीहरुको मुख्य लक्ष्य नै आर्थिक उपार्जन गर्ने रहन्छ । यस सन्दर्भमा हङकङको परिवेशले नेपालीहरुलाई मजबुत आर्थिक टेवा दिंदै आएको छ । मात्र एउटा पासपोर्ट, पहिचानका केही कागजातहरु र हजार पन्द्रहसय डलर बोकी छिरेका नेपालीहरु अहिले हङकङमा मिलियन मिलियन डलरका मालिक बनी सकेका छन् । यो उनीहरुको मिहिनेत र मौकको प्रतिफल हो । नेपालीहरुका लागि यो राम्रो आर्थिक उपलब्धि रहेको हो । हङकङबाट रेमिटेन्स मार्फ देशमा गतिलो पुँजी भित्रिएको कुरा कसैले नकार्न सक्दैनन् ।
धेरैजसो नेपालीहरु त्यतिबेला युनलोङ र कामतीन क्षेत्रमा बस्दै आएका थिए, पछि विस्तारै काउलुनको जोर्डन र याउमातेइतर्फ बसोबास गर्न थालेका थिए । केहीवर्षपछि त आफूलाई पायक पर्ने ठाउँहरुमा नेपालीहरु हङकङमा चौतर्फी छरिएर बस्न थालेका थिए । शनैः शनैः वर्षहरु बित्दै गए । कर्मठ नेपालीहरुले हङकङको छोटो बसाइमा नेपाली संस्कार, संस्कृति र अस्तित्वलाई कायम राख्न राख्दै अघि बढ्न सफल भए । धेरै संघसंस्थाहरुको निर्माण गर्दै ताइमोशान र मंकीहिलका डाँडाकाँडाहरुलाई नेपालित्वको अभास दिलाउन सफल भए । सन् साठीको दशकमा प्रवेश गरेका हाम्रा पर्ुवजहरुले जुन भुमीको सेवा गदै जीवनका उर्बर समयहरुमा सन्तानहरु जन्माएका थिए त्यही सन्ततीहरु यसरी हङकङको परिवेशमा रमाउलान् भन्ने कुराको कल्पना उनीहरुले गरेका थिएनन् । यथार्थको धरातललाई पहिल्याउँदै जाँदा हङकङले नेपालीहरुलाई राम्रो अवसर दिएको मान्नु पर्छ । शुरुका दिनहरुमा कुनै पनि ठाउँमा स्थापित हुनलाई कडा संघर्ष गर्नुपर्छ । सन् नब्बेको मध्यतिर हङकङलाई बेलायतले हस्तान्तरण गर्नेबेलामा नेपाली श्रमिकहरुले कामदाम दुबै पाए, कमाए र कैयौले लगानी गरेर व्यावसाय गरे । अहिले नेपालीहरु व्यापार व्यावसायमा लागेर स्थापित भइसकेका कैयौ छन् । नेपालीहरुलाई वातावरण र समयले साथ दिए अघि बढ्न धेरै समय नलाग्ने उदाहरण हङकङका नेपालीहरुले दिएका छन् । व्यावसायतर्फमात्र नभई, यति सानो ठाउँमा नेपालीहरुका संस्कृति, संस्कार र अस्तित्वलाई कायम गर्दै खेलकुद, नेपाली सँगीत र साहित्यका दरिला सर्जकहरु पनि हङकङले जन्माएका छन् । मैले पनि जीवनको केही महत्वपूर्ण भाग यहाँ व्यतित गरेकाले मलाई हङकङ सदा प्यारो लाग्छ र मेरो सम्झनाको आँखीझ्यालभित्र सुन्दर स्मृतिको चित्र झै तैरिरहन्छ । केही सामाजिक सेवा र नेपाली साहित्यलाई पनि केही इँटा थप्ने प्रयास मैले यहाँबाट गरेको थिएँ ।

लण्डनको गृष्मकालीन न्यानो बतास छाडेर हामी हङकङ जाँदै थियौ । समानहरु धेरै थिएन, त्यसकाराण हामी (श्रीमती र म) ट्यूबबाट हिथ्रो गएका थियौ । एअरपोर्टमा हुमजी (हु्म बहादुर गुरुङ, मेरो यूके डटकमका सीईओ) लाई भेट्यौ । उनले केही समान हङकङमा पठाएका थिए, हाम्रो चेकर्-इनको समय भएकोले धेरैबेर कुरा नगरी हामी काउन्टरतर्फ लाग्यौ । सबै समानहरु चेक गरेर पठाएपछि हामी आफ्नो बोर्डिङपास लिएर सुरक्षा चेकका लागि माथिल्लो तल्लामा गयौं । त्यहाँबाट फेरि चेक भइसकेपछि हामी विमानमा सवार हुनलाई आठबजेसम्म कुरेर बसेका थियौ । पहिले पहिले यसरी कुरेरबस्दा पट्यार लाग्थ्यो, तर, अचेल अभ्यस्त भएर हो कि समय सजिलै व्यतित हुन्छ । यसरी बारहवर्ष बिताएको कर्मभुमिमा म १६ अगस्त २०११को दिनमा फेरि फर्केको थिएँ । १४ घण्टाको विमान उडानपछि हामीले हङकङको भूमिलाई छोएका थियौ । यसैबीच हाम्रो ट्रान्जिट दर्ुबईमा थियो, त्यहाँ तीनघण्टा जति कुरेका थियौ । ओहो, कति सुन्दर भौतिक संरचनाहरु । चेपलापकोकबाट हामी इ२३ नम्बरको ब्ासमा चढेर जोर्डनकालागि रवाना भयौं । डबलडेकर बसको माथिल्लो तल्लामा बसेर दृष्यहरु हेर्दै सफर गर्नु पनि छुट्टै मजा आउछ । फराकिला सडकहरु, अग्ला अग्ला भवनहरु, समुन्द्रकिनारमा गुडिरहेका गाडीहरु, रेलहरु र चिङमा ब्रिजको भव्यताले हामी दुबैजना मक्ख थियौ । अर्को रमाइलो पक्षचाँहि आफ्नो परिवारका सदस्यहरु र पुरानो मित्रहरुसँग भेट गर्ने तथा भलाकुसारी गर्नको लागि पूरा दुई सप्ताहको विदामा आएको थिएँ ।

१९९२ सालबाट बन्दै गरेको चिङमा ब्रिजलाई हेर्दा यो पुल कहिले पूरा हुने होला भन्दै सधै म युनलोङबाट क्वाइफोङको मोटोरोला कम्पनीमा काममा जाँदा बसबाट सधै पुलको निर्माण प्रगति हेर्ने गर्थे । यो पुल संसारको सस्पेन्सन ब्रिज -पानीभित्रबाट जग नउर्ठाई एक कुनाबाट अर्को कुनाको संरचनाको भरमा निर्माण गरिएको पुल) मध्येको सातौ लामो पुल हो । यसको लम्बाई एक दशमलव तीनसय सतहत्तर किलोमिटर छ । यो संसारको डबलडेक -माथि सडक र मुनि रेलमार्ग) भएको सबैभन्दा ठूलो सस्पेन्सन ब्रिजमा पर्दछ । यो पुललाई हङकङ सरकारले हङकङको प्रतीक चिन्हको रुपमा लिएको छ जसको उद्घाटन तत्कालीन बेलायती प्रधानमन्त्री मार्गारेट थेचरले दिनांक २७ अप्रिल १९९७ सालमा गर्की थिईन् । यही पुल हुँदै दुबै दम्पती जोर्डनतर्फ गइरहेका थियौ । यस पुलले चिङयी द्वीप र मावान द्वीपलाई जोडेको हुनाले यसको नामाकरण चिङमा रहन गएको हो । हामी चिङयी टनल पार गरेर फराकिलो राजमार्ग र्हुँदै केहीबेरमा जोर्डनको सङर्घाई स्टि्रट, मेनिङ दुकानको अघि आइपुग्यौ । त्यहाँ दर्ुइजना छोरीहरु -मेरी छोरी समिक्षा र सालीकी छोरी सइक्षा) ले हामीलाई कुर्दै बाटो हेरिरहेका पायौ । ममताको वात्सल्य उर्लेर आएर होला श्रीमतीलाई छोरीहरुले ढोग्दा श्रीमतीका आँखाहरु सजल भएको देखे । उनीहरु दुबैले मलाई ढोग्दै अँगालोबद्ध भए । मलाईपनि केहीवर्षपछि यी छोरीहरुका सानीध्य पाउँदा स्नेहले अन्तस्करण छिचोल्दै लगेको अनुभूति भयो । थाहा नै नपाई मेरा आँखाका कुनाहरुबाट पनि आँशुका दानाहरु पल्टिएका पाएँ । छोरीहरु फटाफट हाम्रो सुटकेशहरु गुडाउँदै टेम्पल स्टि्रटस्थित सिउ हिङ बिल्डिङको १३ तल्लामा हामीलाई पु-याए । परिवारका सदस्यहरु हामीलाई पर्खेर बसेका थिए । तीनवर्षपछि फेरि एउटा सुखद मिलन यसरी भएको थियो । अबेर रातिसम्म कुरा ग-यौ । मेरा सासुससुरा, साला गौरव र साली शान्तिका परिवार, मेरा छोरी-ज्वाइँ र अन्य इष्टमित्रहरुलाई भेट्न पाउँदा खुशी लागेको थियो साथै यो भ्रमण साह्रै खुशीयालीमा बितेको थियो ।
जोर्डनको फेरी र बसपार्क, काउलुन स्टेशनमा रहेका खाली ठाउँहरु, जोर्डनस्थित अहिलेको एमटीआर स्टेशन र रेलमार्गहरु, आईएफसी टावर, कन्भेन्शन सेन्टर, रिज कार्लटन होटल, चिम्शासुइका साथै विभिन्न ठाउँहरुका भवनहरु र काइताक एअरपोर्टलाई अहिले कंक्रिटको जंगलले घेरेको देखेँ । द्रूतगतिमा विकास भएको हङकङले संसारका धेरै शहरहरुलाई उछिनेर एसिया पेसिफिक क्षेत्रका अहिले आर्थिक राजधानी बन्न सफल भएकी छिन् । नयाँ-नयाँ धेरै भौतिक संरचनाका योजनाहरु सरकारले अघि ल्याएकोले गर्दा निर्माण क्षेत्रमा काम गर्ने कामदारहरुको माग बढेको छ । अहिले स्थानीय कामदारहरुबाट निर्माण कार्य पूरा गर्न नसक्ने भएकोले बाहिरबाट कामदारहरु झिकाउने भएको छ । यति मात्र नभई अहिले हङकङ सरकारले प्रत्येक नागरिकलाई ६००० हङकङ डलर दिने घोषनाले यहाँ पाउण्ड स्टर्लिङ, अमेरिकी डलर तथा विश्वका मुद्राहरु खन्किदै नाच्न थालेको आभास भएको छ । अहिले नेपालीहरुको अवस्था एकदमै राम्रो छ । प्राय सबैले घर किनेर बस्ने जमर्को गर्न थालेका छन् । तीनचार वर्षअघि फ्ल्याट किनेकाहरुलाई अहिले किनेको मुल्यभन्दा डबल पैसा दिएर एजेन्सीहरुले बेचीदिने कुरा गर्छन् । हङकङको वैभव र विकासको प्रगति चीनको आर्थिक अभिवृद्धिले गर्दा प्रभावित भएको हो ।

यतिबेला गर्मीको कारणले गर्दा बेलायतबाट जानेहरुलाई अलि तापक्रम र उष्णताले प्रभावित गर्दछ, तर, हङकङको वातावरणमा मलाई गर्मीको अनुभूति पनि रमाइलो नै लागिरहेको थियो । मेरो यो छोटो अवधिको भ्रमणमा मकाउ र शेन्जेन, चीन जानको लागि पनि समय निकाल्नु परेको थियो । मेरो आगमनको कुरा थाहा पाउने इष्टमित्रहरु र साथीहरुले समय निकालेर भेट्ने आ-आफ्नै कार्यक्रम थियो । तर, मसँग समय अभाव थियो । गएको भोलिपल्ट सासुको लागि जकी क्लब, याउमातेइको अस्पतालमा गएँ, उनी अलि अश्वस्थ थिईन् । त्यसपछि टेम्पल स्ट्रिट हुँदै घर र्फकदा त्यहाँ दर्ुइतिर चिनिया शैलीमा नयाँ द्वारहरु निर्माण गरेको देखे । त्यो दिन धेरै इष्टमित्रहरु घरमा नै भेट्न आएका थिए । बेलुकिपख म मिस्टर ली -नेपालीहरुका साह्रै सहयोगी, तर, अल्पायुमा नै म बेलायत प्रस्थान भएपछि दिवंगत भएका थिए) को तालीम केन्द्रमा गएँ । त्यस तालीम केन्द्रमा मैले प्रशिक्षकको हैसियतले झण्डै तीनवर्ष सुरक्षा गार्ड, अंगरक्षक र सुपरभाइजरहरुलाई तालीम दिएको थिएँ । नाथान रोडमा स्थित पर्ल ओरिएन्टल टावरको ८ तल्लामा विदेशीहरुका लागि अंग्रेजी माध्यमबाट निर्माण क्षेत्रमा काम गर्ने प्रमाणपत्रका तालीमहरु र सुरक्षाकर्मीहरुका तालीम प्रदान गरिन्छ । अहिले मिस्टर ली दिवंगत भएपछि पनि सो तालीमकेन्द्र सुचारु रुपमा चलिरहेको पाएँ । त्यहाँ मैले मिस्टर वोङ, म बेलायत गएपछि मेरो सट्टामा पढाउने प्रशिक्षक जसलाई हामी सोमबहादुर गुरुङले पुकार्दा खुशी हुन्थेलाई भेटेँ तथा अर्की नेपाली रिसेप्सनिष्ट बहिनी डिनालाई भेटेँ । खुशी लाग्यो आफूले केहीवर्ष बिताएका कोठाचोटाहरु घुमेँ । मलाई मिस्टर लीको सम्झना भइरहेको थियो । एकजना साँचो मानवहितका लागि सेवा गर्ने कर्मठ व्यक्ति, नेपालीहरुका असल मित्र, हङकङभरि तालीम केन्द्रहरुका सञ्जाल फैलाई राखेर अल्पायुमा नै स्वर्गारोहण भयो । उनले नेपाली संघसंस्थाहरु र गैर आवासीय नेपाली हङकङ च्याप्टरकालागि धेरैपटक आर्थिक प्रायोजन गरेका थिए । म एनआरएन हङकङको उपाध्यक्ष र सल्लाहाकार रहेको बेलामा उनको १५ तल्लाको अफिसलाई सभा र गोष्ठीका लागि निःशुल्क धेरैपटक प्रयोग गर्न दिने सहृदयी व्यक्ति आज हाम्रोमाझ नपाउँदा मलाई नराम्रो लागेको थियो । क्रमश…. अर्को एपिसोडमा ।