किसुनजी स्मृति भेट्रान कप फुटबल भदौ ३१ गते देखि

किसुनजी स्मृति भेट्रान कप फुटबल भदौ ३१ गते देखि


नेपाली काँग्रेसका सन्त नेता पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको सम्झनामा ‘किसुनजी स्मृति भेट्रान कप सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिता’ भाद्र अन्तिम साता हुने भएको छ । सदावहार खेलकुद समाजको आयोजनामा भदौ ३१ गते देखि अशोज ७ गते सम्म संचालन हुने प्रतियोगितामा विभिनन ए डिभिजन क्लब तथा टिमहरुको सहभागिता रहने आयोजक समितिका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति, काठमाण्डौका उपाध्यक्ष बद्रि भट्टराईले जानकारी गराएका छन ।

प्रतियोगितामा आयोजक सदावहार, हिमालयन शेर्पा क्लब, चावहिल स्पोर्टस क्लब, सिन्धु स्पोर्टस क्ल, मोसेस मिर्मिरे युवा क्लब, बुढानिलकण्ठ भेट्रान, सानोगौचरण युवा क्लब, टोखा भगवती क्लब, एजे भेट्रान, सामाखुसी फुटसल, सूर्योदय खेलकुद सोसाईटीलगायत टिमको सहभागिता निश्चित भईसकेको आयोजकले जनाएका छन् । यस्तै जाउलाखेल युथ क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी, मध्यपुर ठिमि, फ्रेण्डस क्लबको समेत सहभागिता गराउन प्रयास भईरहेको भट्टराईले बताएका छन् ।

कपनस्थित ह्याण्डबल मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५० हजार, उपविजेताले नगद २५ हजार हात पार्ने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही ५ हजार प्राप्त गर्ने छन् ।

नेपाली खेलकुद क्षेत्रमा किसुनजीको योगदानको स्मरण योग्य भएको हुँदा उनको नाममा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । प्रतियोगिताको उद्घाटन खेल नेपाल खेलकुद पत्रकार र माननिय सांसदहरुको समूहविच प्रतिस्पर्धा गराईने समेत आयोजकले जनाएका छन् । अतिथि टिमका रुपमा कोरियन एम्बेसीका खेलाडीहरुको सहभागिता हुने भएको छ ।