स्थानीय तहमा शिक्षा नीतिसम्बन्धी बहस शुरु

स्थानीय तहमा शिक्षा नीतिसम्बन्धी बहस शुरु


– रमेश बस्ताकोटी (कावासोती)

मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भई काम शुरु भइसकेका स्थानीयतहहरुमा अबको शिक्षा नीति कस्तो हुने भन्ने विषयमा बहस शुरु भएको छ । स्थानीय तहमातहत नगरपालिका तथा गाउँपालिकाहरुमा नगर तथा गाउँ शिक्षा समिति रहने र स्थानीय तहले नै स्थानीय शिक्षा नीति समेत निर्माण गर्ने सन्र्दभमा नगर तथा गाउँपालिकाहरुमा यससम्बन्धी बहस शुरु भएको हो ।

नवलपुरमा पहिलोपटक देबचुली नगरपालिकाले नगर शिक्षा नीति कस्तो हुने भन्ने विषयमा सरोकारवालाहरुका बीचमा बहस तथा अन्तरक्रिया शुरु गरेको छ । प्रगतिनगर सामुदायिक सिकाई केन्द्र र रजहर सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा आज रहजहरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले अबको शिक्षा निति कस्तो हुने भन्ने बिषयमा छलफल गरेका थिए ।

कार्यक्रममा देबचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठले शिक्षा विकासको मेरुदण्ड भएकाले अबको नगर शिक्षा नीति निर्माणमा विषेषज्ञहरु राखेर उत्कृष्ट शिक्षा नीति बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख श्रेष्ठले नगरपालिकाबाट कोही कसैलाई भेदभाव नहुने भन्दैं नीति निर्माण गर्दा स्थानीय आवश्यकताका आधारमा निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा प्रगतिनगर सिकाई केन्द्रका अध्यक्ष एवम् अवकाशप्राप्त शिक्षक खिमानन्द भुषालले कार्यपत्र प्रस्तुत गर्दै शिक्षा नीति बनाउने कुरा जटिल भएकाले यस विषयमा सबै गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा नीति संविधान र कानुनसँग नबाझिने गरि बनाउनुपर्ने हुँदा केन्द्र र प्रदेशको शिक्षा नीतिलाई समेत मध्यनजर गरेर निर्माण गर्नुपर्ने बताउनुभयो । उहाले नगर शिक्षा नीति नै अब नगरको शिक्षाको समग्र विकासको नीति भएकाले यसप्रति गम्भीर बन्न सबैसँग आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै देबचुली नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्काले मुलुकमा अहिले प्रचलित शिक्षा नीतिबाट दुईथरी जनशक्ति उत्पादन भइरहेको भन्दै अब बन्ने नगर शिक्षा नीतिमा त्यस अवस्थाको अन्त्य हुने गरि नीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा नीतिले समग्र नगरको शैंक्षिक अवस्थालाई मापन गर्ने भएकाले यसप्रति सबैले चासो दिनुपर्ने बताउनुभयो ।

३८ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित सो कार्यक्रम सम्पन्न गर्न देबचुली नगरपालिकाले सहयोग गरेको थियो । कार्यक्रममा भिमसेन आदर्श माविका प्रधानाध्यापक नरदेव न्यौपाने, विद्यालय निरीक्षक मोतिप्रसाद रिजाल लगायतले बोल्नुभएको थियो ।

नगरप्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, उपप्रमुख पार्वता तिवारीको विशिष्ट आतिथ्यता र प्रगतिनगर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।