– अरुणकुमार ज्ञवाली
०७३ साल वैशाख महिना नेपालमा केपी ओली सरकार हुँदा शेरबहादुर देउवाको दिल्ली भ्रमणको पूर्वसन्ध्यामा नेपाल सम्बन्धमा सकारात्मक सोच राख्ने समाजवादी नेता सुधीन्द्र भदौरियासँगको भेटमा पङ्क्तिकारले प्रश्न गऱ्यो, ‘नेपाली र भारतीय जनता–जनताबीच सहृदयी सम्बन्ध भए पनि नेपाल र भारतबीच कटुतापूर्ण सम्बन्ध रहनुको कारण के होला ?’ जवाफमा उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा भारतले प्रभाव राख्न खोज्नु इस्टइन्डिया कम्पनीको व्यवहारबाट पैदा भएको मानसिकताको उपज हो, तर भारतीय प्रशासनलाई रिसाएर, कज्याएर वा खुसी पारेर व्यक्तिगत फाइदा लिनु नेपाली नेताहरूको वंशाणुगत चरित्र हो ।’ त्यसपछि नेपालका राजनीतिक दल र तिनका चरित्रबारे भदौरियाजीको बुझाइ ‘सेयर’ गर्न अग्रह गरियो । उनको भनाइ थियो, ‘नेपालमा मूलतः साढे तीन प्रकारको राजनीतिक विचारधारा छन् । पहिलो, नेपाली काङ्ग्रेस, दोस्रो, वामपन्थी र तेस्रो, मधेसवादी र शिखण्डीको रूपमा रा.प्र.पा., यसमा विशेषण थप–घट भइरहन्छन् ।’
भदौरिया भन्छन्, ‘यी राजनीतिक दलको चरित्र हेर्ने हो भने मधेसवादी दल भारत सरकारको प्राइभेट लिमिटेड हो । नेपाली काङ्ग्रेस भारत सरकारको गैरसरकारी संस्था हो भने कम्युनिस्टहरू भारत सरकारको ज्यालादारी मजदुर हुन् । राप्रपा भनेकोचाहिँ कुनै विचारधारा नभएको व्यक्तिवादी पार्टी जो अवसरअनुसार उल्लेखित तीन गुण भएका पार्टीसँग मिल्न सक्छ ।’
त्यसो भए चरित्र प्रमाणित गर्नुस् भन्ने प्रश्नको जवाफमा ती अनुभवी विश्लेषकले भने, ‘मधेसी र मधेसबारे पञ्चायतकालदेखि आन्दोलन गर्ने सद्भावना पार्टी चिरा–चिरा भई विभिन्न दल बने, तर शरण लिन भारतीय दूतावास नै पुगे । भविष्यमा आवश्यकताअनुसार ती सबै पार्टी एकीकृत गर्न भारत सरकारको प्रतिनिधि खटाउनुपर्ने हुन्छ र ती एकीकृत पनि हुन्छन् ।’ उनको यो भविष्यवाणी सत्य साबित भइसकेको छ ।
नेपाली काङ्ग्रेस कसरी भारत सरकारको गैरसरकारी संस्था भयो भन्ने जिज्ञासामा उनी थप्छन्, ‘नेपाली काङ्ग्रेस स्थापनादेखि हालसम्म भारतबाट सिर्जित एजेण्डा बोकी कोही न कोही प्रोजेक्ट म्यानेजर भई आए । नेपालमा ०४६ सालमा प्रजातन्त्र आयो । प्रोजेक्ट म्यानेजर गिरिजाबाबु हुनुहुन्थ्यो । ०६० सालमा लोकतन्त्र ल्याउन प्रोजेक्ट म्यानेजर नरहरि आचार्य खटिनुभयो । तर, असफल हुनुभयो । ०६३ सालमा गणतन्त्र ल्याउन कृष्णप्रसाद सिटौला खटिनुभयो, हाल शेरबहादुरलाई हिन्दूराष्ट्र स्थापना गर्न प्रोजेक्ट म्यानेजर बनाउन डाकिएको हो ।’
कम्युनिस्ट पार्टीको हकमा भदौरियाजीको भनाइ थियो, ‘यी पार्टीहरूको जन्म नै भारतविरोधबाट भएको हुन्छ । जुन पार्टीले भारतको चर्को विरोध गऱ्यो त्यो पार्टी क्रान्तिकारी ठहरिने आमरीत रहेको छ । तर, यी सब भन्ने कुरा मात्र हो । ने.क.पा. एमालेले नेपाल–भारतबीच भएको टनकपुर बाँध सम्झौताको चर्को विरोध गऱ्यो, तर ज्याला पाएपछि टनकपुरको सट्टा पन्चेश्वर सम्झौता गरिदियो । त्यस्तै, पशुपतिदेखि तिरुपतिसम्म सुरुङ खन्ने माओवादीको वास्तविकता कसैबाट लुकेको छैन, राप्रपा यी तिनै पार्टीको अर्धाङ्ग बन्न रुचाउने, विचारधारा एवम् सङ्गठन नभएको व्यक्तिवादी संस्था भएकाले शिखण्डीको संज्ञा दिइएको हो ।’
आज विभिन्न पत्रपत्रिकामा ०७३ साल वैशाखपछि ०७४ साल भदौमा प्रधानमन्त्री भई भारत जानुभएका शेरबहादुर देउवाको यात्रा–वर्णन विभिन्न समाचारमाध्यमले उल्लेख गरेको हुँदा त्यसउपर पनि चर्चा गरिरहनु आवश्यक ठानिएन ।
पङ्क्तिकार पाठक वर्गलाई वामपन्थीहरूको राष्ट्रवादबारे अतीतमा लैजान चाहन्छ । भदौरियाजीले भनेझैँ के एमाले भारतको ज्यालादार मजदुर हो त भन्नेतर्फ हेर्दा केपी ओलीको नेतृत्वमा रहेको नेपाल सरकारको समयमा भारतले आर्थिक नाकाबन्दी लगायो । नेपाली जनताले सय रुपैयाँको पेट्रोल पाँच सय रुपैयासम्म तिरे । ग्यासको अभावमा खाना कटौती गरे । डिजेलको अभावमा आवागमन घटाएर ६ महिनासम्म बालक, स्त्री, वृद्ध, जवान, के पहाड, के तराई, के हिमाल सबैको नैतिक समर्थन केपी ओलीलाई थियो । कसैले पनि सरकारविरुद्ध नारा लगाएनन्, तर केपी ओली सरकारले ती आशामा तुषारापात ग¥यो । चीनबाट केरुङसम्म आउने रेललाई टेलिभिजनमा मात्र गुडाए । केरुङदेखि त्रिशूलीबीचको पेट्रोलियम पाइपलाइनको कथा सुनाएर पाँचखालमा इन्धान भण्डारणको सपना देखाए । चीनसँग व्यापार गर्ने भरपर्दो तातोपानी सडकलाई सदाका लागि बन्द गराए । केपी ओलीले आफ्नो सरकारको आयु लम्ब्याउन कहिले कमल थापालाई पठाई रविशंकरमार्फत भारतसँग बार्गेनिङ गर्न भन्ने कहिले नवधनाढ्यमार्फत बाबा रामदेव पठाई आफ्नो सरकार सुरक्षित गर्ने कार्यबाहेक एक सही काम गरे– त्यो भनेको एमालेको पार्टी कार्यालय बनाउन घर दिने एक पर्यटन व्यवसायीलाई दुईवटा हवाईजहाज किन्ने अवसर जुराइदिनु ।
आज अतीततिर फर्केर हेर्दा एमालेले ६ महिनाको आर्थिक नाकाबन्दीमा आफ्नो स्वार्थ पूरा गर्न नेपालीको शोषण र भारतलाई बदनाम गर्नुबाहेक केही पनि गरेको देखिँदैन । केवल चीनको त्रास देखाएर भारतसँग मोलतोल गरेको देखियो । चारित्रिक रूपमा हेर्ने हो भने नाकाबन्दीताकाको केपी ओलीको राष्ट्रवाद उत्तर कोरियाको शासकझैँ देखिन्थ्यो– जनता कङ्गाल नेता मालामाल ! सारांशमा भन्नुपर्दा नेपाल र नेपालीको हितमा हिँड्ने कोही भेटिएन । अस्तु ।
प्रतिक्रिया