यस्ता छन् वीरगञ्जको विकासका बारे उम्मेदवारका एजेण्डा

यस्ता छन् वीरगञ्जको विकासका बारे उम्मेदवारका एजेण्डा


असोज २ गते प्रदेश नं २ मा स्थानीय तह चुनाव हुर्दैछ । यहि क्रममा वीरगञ्जमा विभिन्न दलहरुबाट दर्जनौँ उम्मेदार खडा भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका निम्ती नेपाली काँग्रेसबाट महानगर प्रमुखका उम्मेदवार बनेका अजय द्विवेदीले मुलुकको लाइफलाइनका रुपमा रहेको आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपालको गेटवेका रुपमा रहेको वीरगञ्जको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

वर्षसम्म वीरगञ्ज नगरपालिकाको उपप्रमुख भइसकेका द्विवेदीसँग समृद्ध वीरगञ्ज बनाउने योजना भने धेरै छन् ।

उनले गाउँलाई वीरगञ्ज शहरसम्म जोड्न सडक विकास, घर घरसम्म पुग्ने मोबाइल अस्पताल, दलित तथा महिलाको समग्र विकास, वीरगञ्जलाई सुविधायुक्त शहर बनाउन, जलनिकासको स्थायी उपाय अवलम्बन गर्न, उद्योगी व्यापारीलाई सुरक्षाको प्रत्याभूति दिन आफूले प्रमुखमा उम्मेदवारी दिएको मतदातासमक्ष अठोट गरे ।

निर्वाचनमा मतदान गर्न मतदाता आतुर भए पनि कसलाई मत दिने भनेर अन्योलमा रहेको मतदातासामु आफ्नो उम्मेदवारीको कारणबारे स्पष्ट पार्दै प्रमुख पदका अर्का उम्मेदवार नेकपा एमालेका बसुरुद्धिन अन्सारीले महानगरपालिकाभित्रको बासिन्दालाई महानगर क्षेत्रभित्रका बासिन्दा हुँ भन्ने अनुभूति गराउनका साथै वीरगञ्जको समग्र विकासका लागि नै आफ्नो उम्मेदवारी परेको स्पष्ट पारे ।

सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख पदका अर्का उम्मेदवार रहवर अन्सारीले आफ्नो उम्मेदवारीबारे मतदातासामु विचार राख्दै देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि देशको लाइफलाइनका रुपमा रहेको वीरगञ्ज शहरको परिवर्तन हुन नसकेकाले यहाँको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले नगर क्षेत्रभित्र रहेको बिजुलीको पोलमा बत्ती छैन तर विभिन्न पार्टीका झण्डा फहराइरहेकाले झण्डा होइन उज्यालो दिने बत्ती राख्नुपर्ने आवश्यकता रहेको बताए ।

राजनीतिक क्षेत्रमा समेत अग्रणी मानिएको वीरगञ्जको औद्योगिक एवं व्यापारिक क्षेत्र धरासाही भएको भन्दै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका विजय सराबगीले मधेशमा विद्यमान विभेदको अन्त्य, युवा स्वरोजगार, आर्थिक विकास, शिक्षा क्षेत्रको विकास, ऐतिहासिक सिरसिया नदीको संरक्षण आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।

सुशासन र राजनीतिमा इमान्दारीको अभाव रहेको वीरगञ्जलाई संकटबाट मुक्त गर्न आफ्नो उम्मेदवारी दिएको भन्दै राजपाका प्रमुखका उम्मेदवार राजेशमान सिंह र राष्ट्रिय जनता दलका मनोज रौनियारले युवालाई रोजगारीको अवसर, समुन्नत वीरगञ्जको विकास, भ्रष्टाचार मुक्त वीरगञ्ज बनाउन आफूहरुको उम्मेदवारी परेको बताए ।

वीरगञ्ज शहरलाई सुन्दर, हराभरा र विकासमुखी शहर बनाउने एजेण्डा भएका उम्मेदवारको पक्षमा मतदाता रहेको देखिन्छ । वीरगञ्ज महानगर क्षेत्रभित्र ३२ वडा रहेको छ भने त्यहाँ एक लाख आठ हजार ५ सय १ मतदाता रहेका छन् ।