टुक्रिएका जिल्लामा एलडीओ कहिले पठाउने ?

टुक्रिएका जिल्लामा एलडीओ कहिले पठाउने ?


  • विजय दमासे

सरकारले टुक्रिएका जिल्लामा एलडीओ हालसम्म पठाएको छैन् । प्रदेशको सीमांकनको क्रममा टुक्रिएको दुई जिल्ला नवलपरासी र रुकुममा जिल्लामा सरकारले एलडीओ पठाउन नसकेको हो ।

एलडीओ जिल्लामा नहुँदा कति संख्यामा जिल्ला समन्वय समिति गठन हुने अझै यकिन हुन नसकेको जनाइएको छ ।

कति संख्यामा जिसस गठन हुने यकिन नहुँदा नवलपरासी र रुकुममा जिल्ला समन्वय समितिको निर्वाचन समेत हुन सकेको छैन् ।

हालै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको निर्वाचन आयोगको बैठकले भदौ मसान्तसम्म जिल्ला समन्वय समितिको कार्यालय स्थापना गरी स्थानीय विकास अधिकारीसमेत खटाई त्यसको जानकारी निर्वाचन आयोगलाई गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको जनाएको छ।

आयोगले यसअघि पनि चार जिल्लामा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न मन्त्रालयमा लेखी पठाइएकोमा हालसम्म जानकारी प्राप्त नभएको आयोगका प्रवक्ता तथा सहसचिव नवराज ढकालले बताए ।

स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचनबाट गाउँपालिका तथा नगरपालिकाको निर्वाचन सम्पन्न भई गाउँसभा.नगरसभाले पूर्णता प्राप्त गरी अन्य सबै जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

तर नवलपरासी, रूकुम र चितवन जिल्लामा हुन सकेको छैन् । उता सरकारले साबिकको ठाउँलाईनै तत्काल केन्द्र निर्धारण गरि समन्वयका निम्ति एलडीओ पठाउन प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ्ले एलडीओ  छिट्टै पठाइने र ती जिल्लामा निर्वाचन प्रक्रिया समेत अघि बढाइने बताए ।

ठ्याक्कै कहिले पठाउने त एलडीओ ? घटना र विचारको प्रश्नमा उनले भने,‘साविकको स्थानलाई अन्तरीम रुपमा केन्द्रमान्ने आज निर्णय भएको छ, एलडिओ पठाउने विषयमा छिट्टै निर्णयमा पुग्नेछौं ।’