यस्तो छ देउवाको चुनावी दौडाहा कार्यतालिका

यस्तो छ देउवाको चुनावी दौडाहा कार्यतालिका


नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठवटै जिल्लाका चुनावी सभाहरुलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि प्रधानमन्त्री देउवा भदौ २७ गते २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

बताइएअनुसार सभापति देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभालाई सम्बोधन गर्नेछन् भने त्यहाँ पार्टी कार्यकर्ताहरूसँग भेटघाट एवम् छलफल गरी उनी सिरहा प्रस्थान गर्ने कार्यक्रम छ ।

सोही दिन सिरहाको जिरोमाइलमा आयोजना हुने चुनावी प्रचार सभालाई अपरान्ह ४ बजे देउवाले सम्बोधन गर्नेछन् । सिरहाको सम्बोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि उनी जनकपुर प्रस्थान गर्नेछन् । भदौ २७ गते राती प्रधानमन्त्री देउवा जनकपुरमा बास बस्ने छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले भदौ २८ गते विहान रामजानकी मन्दिरको दर्शन गर्नुको साथै कार्यकर्ताहरुसँग भेट गर्नेछन् । उनले दिउँसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी, जनकपुरको सम्बोधनपछि देउवा सोही दिन अपरान्ह महोत्तरीको बर्दिवास प्रस्थान गर्नेछन् । उनले त्यहाँ आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । २८ गते चाहिँ प्रधानमन्त्री देउवा कहाँ बास बस्ने टुंगो लागिसकेको छैन । को रात्री मुकाम निर्धारित भैसकेको छैन । पार्टी कार्यालयले जानकारी दिएअनुसार महोत्तरीको बर्दिबास वा सर्लाही वा रौटहतको गौर वा चन्द्रनिगाहपुर कतै पनि उनी बास बस्न सक्ने छन् ।

भदौ २९ गते पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई सम्बोधन गर्नेछन् र अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभामा पुग्नेछन् । त्यसपछि देउवा वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले पर्साका कार्यकर्ताहरुसँग भदौ ३० गते बिहान भेटघाट गर्ने र दिउँसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्ने छन् ।

कलैयाको संबोधन पछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवा सोही दिन काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।