संविधान संशोधन नहुनु मधेसी जनताको अपमान : लेखक

संविधान संशोधन नहुनु मधेसी जनताको अपमान : लेखक


स्थानीय तह निर्वाचन २०७४ पार्टी प्रचारप्रसार समन्वय उपसमितिका संयोजकको जिम्मेवारी पाएका काङ्ग्रेस नेता रमेश लेखकले मधेशी जनतालाई पटक–पटक अपमान गर्ने राजनीतिक शक्तिलाई मधेशी जनताले सवक सिकाउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले रौतहटको चन्द्रपुरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले मधेशी जनतालाई शंकाको दृष्टिले मात्र हेर्ने र चुनावको बेला उपयोग मात्र गर्ने पार्टीलाई मधेशी जनताले सवक सिकाउनुपर्ने तर्क गरेका हुन् ।

तराई मधेशवासीविरोधी संकीर्ण पार्टीको रुपमा एमाले आएको आरोप उनले लगाए । संविधान संशोधन हुन नदिने एमालेको कदम तराई–मधेशमाथिको अपमानको रुपमा परिभाषित गर्दै लेखकले भने– ‘तराई मधेशको मात्र नभर्र्इ देशका अन्य भूगोल, समुदायले चाहेको विषयलाई समेत समेटेर हुन लागेको संविधान संसोधन हुन नदिएर एमालेले मधेशीलगायतका जनतामाथि अपमान गरेको छ ।’

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तराई मधेशको पक्ष र विपक्षमा रहेका शक्तिहरुबीचको जनमतसंग्रह भएको लेखकको धारणा छ । तराई मधेशमा प्रत्येक वर्ष हुने बाढी र डुबानको समस्याको दीर्घकालिन हल खोज्न नेपाली कांग्रेस लागिरहेको बताउँदै लेखकले भने,’प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणताका समेत नेपाल भारतको साझा समस्या रहेको डुवानको दीर्घकालिन हल खोज्ने प्रयासका लागि द्धिदेशयि कार्यदलले काम थाल्न सहमति भएअनुसार काम शुरु हुन थालेको छ ।’