स्थानीय तहका अस्थायी कर्मचारीले यसरी जागिर जोगाउन पाउने

स्थानीय तहका अस्थायी कर्मचारीले यसरी जागिर जोगाउन पाउने


स्थानीय तहमा कार्यरत अस्थायी तथा करार प्रकृतिका कर्मचारीले जागिर कायमै राख्ने हो भने उनीहरुले लोकसेवाले लिने परीक्षा पास गर्नेपर्ने भएको छ । अन्यथा कुनै सुविधाविना नै जागिर छोड्नुपर्ने भएको छ ।संसदको विकास समितिले स्थानीय शासन ऐन २०७३ विधेयकलाई विभिन्न संशोधनसहित आइतबार पास गरेको छ । अब यो विधयेकको अन्तिम मस्यौदा संसदमा निर्णयार्थ पेश गरिनेछ ।

विधयेकले यस्ता कर्मचारीलाई एकपटक लोकसेवाको परीक्षा दिने अवसर दिने व्यवस्था गरेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । तर, अब एकपटक लोकसेवाको परीक्षा दिन ति कर्मचारीलाई उमेर हद लाग्ने छैन । सो मौका परीक्षा पास गर्न नसके उनीहरुले जागीरबाट हात धुनुपर्नेछ ।

अहिले विभिन्न स्थानीय तहमा ६ हजारभन्दा बढी अस्थायी कर्मचारी रहेको अनुमान छ । विधयेकमा स्थानीय निकायमा कार्यरत अस्थायी कर्मचारीलाई एकपटक लोकसेवाको परीक्षामा सामेल हुने अवसर दिने उल्लेख छ । अहिले स्थानीय तहमा अस्थायी, करार, ज्यालादारी लगायत विभिन्न प्रकारका स्थायी नभएका कर्मचारी छन् ।

कुनै स्थानीय तहमा सुब्बाको लागि पाँच कर्मचारीको दरबन्दी रिक्त छ भने त्यहाँ कार्यरत अस्थायी कर्मचारीहरुले खुल्ला प्रतिस्पर्धीहरुसँगै परीक्षा दिन पाउनेछन् । सो परीक्षामा भाग लिन उनीहरुलाई उमेर हद लाग्ने छैन । तर, पास हुन नसके जागिरबाट हट्नुपर्ने छ ।