अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति


ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलिया अन्तर्गतको ला ट्रोब बिजनेश स्कुलका प्रमुख, प्रोफेसर पल माथरले नेतृत्व गरेको एक वरिष्ठ टोलीले काठमाडौंको भ्रमण गरेको छ ।  नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखी यस बिजनेश स्कुलले नोभेम्बर महिनामा अन्डरग्राज्युएट बिजनेश कोर्सहरूमा नयाँ भर्ना लिने घोषणा समेत गरेको छ । यस सत्र फेब्रुअरी र जुलाइका दुइ प्राज्ञिक सत्र बाहेकका हुन् ।

केही वर्ष अघि नै ला ट्रोब बिजनेश स्कुलले आफ्ना पोष्टग्राज्युएट (स्नातकोत्तर) कार्यक्रमहरूका लागि तेस्रो सेमेस्टर पनि थप गरेको छ । यी कार्यक्रमहरू अहिले नेपाल, भारत र श्रीलंकाका विद्यार्थीहरूमाझ ज्यादै लोकप्रिय बनेको दाबी गरिएको छ । यसका अलावा सम्बन्धित उद्योगहरूको आवश्यकता पूर्ति गर्नको लागि र रोजगार बजारमा देखिएका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राखी नयाँ कार्यक्रमहरू पनि आरम्भ गरिएको समेत राजधानीमा आयोजीत एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सो कार्यक्रममा प्रोफेसर पल माथरले भने,‘ला ट्रोब विश्वविद्यालयको हाम्रो क्षेत्रका मुख्य देशहरूसँग सम्पर्क गर्ने र विद्यार्थीहरूका लागि उत्कृष्ट तर अवसरहरू सिर्जना गर्ने निरन्तरको प्रयासले ला ट्रोब बिजनेश स्कुल फेरि नेपालमा आएको छ, हाम्रो नयाँ अन्डरग्राज्युएट तहमा भर्ना कार्यक्रम, नयाँ शैक्षिक कार्यक्रमहरू र छात्रवृत्तिहरूले नेपालबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई ला ट्रोब बिजनेश स्कुलमा उपलब्ध विशेषज्ञता तथा एकदमै नयाँ उत्कृष्ट सुविधाहरू मार्फत् धेरै फाइदा लिन सघाउनेछन् ।’

दुइ वर्षको छोटो अवधिमा विश्वभरका विश्वविद्यालयहरूको पछिल्लो शैक्षिक उपलब्धिको सूचीमा ला ट्रोब विश्वविद्यालय २ सय  स्थान भन्दा माथि उक्लेको छ । पछिल्लो अकेडेमिक ¥याकिङ् अफ वल्र्ड युनिभर्सिटीजको नतिजाहरूले ला ट्रोबलाई आफ्नो उपलब्धिमा सबैभन्दा बढी सुधार गर्न सफल अष्ट्रेलिया विश्वविद्यालयको रूपमा स्थापित गरेको छ । विश्वमा सन् २०१७ मा ला ट्रोब विश्वविद्यालय ३ सय १ औँ स्थानमा रहेको छ ।

ला ट्रोब बिजनेश स्कुल, अष्ट्रेलियाले छात्रवृत्ति प्रदान गर्दैछ, जसको मूल्य कूल शैक्षिक शुल्कको १५, २० र २५ प्रतिशतसम्म छुट रहेको छ । सन् २०१७ देखि प्रदान गरिएका यी छात्रवृत्तिहरू अन्डरग्राज्युएट र पोष्टग्राज्युएट तहमा अध्ययनरत अन्तर्राष्ट्रिय  विद्यार्थीहरूका लागि रहेको छ । यी छात्रवृत्तिहरू प्राप्तांकको उत्कृष्टतामा आधारित छन् र विद्यार्थीको पछिल्लोे शैक्षिक उपलब्धिका आधारमा प्रदान गरिनेछन् । छात्रवृत्ति प्रदान गर्दा पहिला भर्ना हुने विद्यार्थीहरूलाई ग्राह्यता दिइने छ ।