दरबारमार्गका व्यापारी अर्थमन्त्रीको चेम्बरमा

दरबारमार्गका व्यापारी अर्थमन्त्रीको चेम्बरमा


अर्थमन्त्रालयले उपभोक्तामाथी चरम ठगी गर्ने व्यवसायीलाई उन्मुक्ति दिने तयारी गरेको समाचार प्राप्त भएको छ । गत साता उपभोक्ता ‘ठगी’ गरेको आरोपमा दरबारमार्गका व्यापारीको पसलमा गरेको सिलबन्दपछि अर्थमन्त्रालय र आपूर्ति मन्त्रालयबीच नै वाकयुद्व चलेको अर्थस्रोतले जनाएको छ । कारबाहीमा परेका दरबारमार्गमा व्यापारी र नेपाल उद्योग वाणिज्य महासंघले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई भेटेर सो सिलबन्द खुलाउन दबाब दिएको थियो ।

तर सो दबाबलाई मन्त्री मण्डलले नमानेपछि सो समुह अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सचिब शान्तराज सुबेदी र राजस्व सचिब शिशिरकुमार ढुंगानासमक्ष पुगेका थिए ।  महासंघ र कारबाहीमा परेका व्यापारीले कुनै पनि हालतमा कारबाही हुनबाट जोगाउन समेत अर्थमन्त्री कार्कीलाई आग्रह गरेपछि सो कारबाहीका बारेमा आपूर्तिमन्त्रालयले गरेको आग्रहलाई अर्थमन्त्रालयले कुनै पनि सुनुवाई नगरि बसेको छ ।

आपूर्ति मन्त्रालयले पछिल्लो समय दरबारमार्ग क्षेत्रका पसलहरुमा अनुगमन गर्दा अत्याधिक मूल्य असुले गरेकोे भेटेपछि एक दर्जन ब्राण्डेड पसलमा सिल गरिएको थियो । सरकारी अनुगमनको विरोधमा दरबारमार्गका व्यापारीहरुले एक सातादेखि पसल बन्द गरेर शक्तिकेन्द्र धाएका छन् । मन्त्रालयका अनुसार यो उपभोक्तामाथि ठगी मात्र होइन, कम मूल्यको विल बनाएर ठूलै मात्रमा कर छली भएको भन्दै कारबाही गर्न सम्बिन्धित निकायमा सिफरीस गर्दा समेत अर्थले सो कारबाहीलाई अगाडि नबढाई आनाकानी गर्दै आएको आरोप आपूर्तिमन्त्रालयको रहेको छ ।

कालोबजारी ऐनमा टेकेर अघि बढ्दा मुद्दा कमजोर हुन सक्ने भएकाले राजश्वको पाटोबाट अघि बढ्न अर्थको सहयोग खोजेको भन्दै सो मुद्दालाई ‘पेन्डिङ’ मा राखेको छ । बजार अनुगमनका क्रममा उपभोक्ता ठगेको पाइएका व्यापारीमाथि आवश्यक छानविनका लागि आपूर्तिमन्त्री शिवकुमार मण्डलले अर्थमन्त्री र सचिवसँग सहयोगको आग्रह गरेका थिए । मन्त्रालयले अनुगमनमा अर्थमन्त्रालयको प्रतिनिधि नभएको भन्दै आपूर्ति मन्त्रालयको आग्रहलाई अस्वीकार गर्दै आएको छ ।

अर्थमन्त्री कार्कीले आपूर्ति मन्त्रालयको छानविनको सहयोगमा आग्रहलाई अस्वीकार गरेको आरोप समेत लगाइएको छ । संयुक्त बजार निर्देशिका–२०६९ को दफा १५ मा बजार अनुगमनमा आवश्यक सहयोग मागेको खण्डमा सम्बन्धित निकायले जुनसुकै बेला पनि आफ्ना प्रतिनिधि पठाउने व्यवस्था रहेको छ ।राजश्व सचिव ढुंगानाले आपूर्ति मन्त्रालयले गरेको छानविनमा अर्थले सहयोग गर्ने बताउदै आएपनि कारबाहीका लागि गरेको आग्रहलाई अहिले सम्म अर्थमन्त्रालयले कुनै सुनुवाई गरेको छैन ।

अर्थको असहयोगपछि अब कालोबजारी ऐनमार्फत कारबाही अघि बढाइने आपूर्ति विभागले जनाएको छ । आपूर्तिमन्त्रालयले गरेको सो कार्यको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघले खुलेरै विरोध गरेको छ ।महासंघको अध्यक्ष भबानी राणाको नेतृत्वमा गएको एकप्रतिनिधि मण्डलले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई भेटेर दरबारमार्ग क्षेत्रलगायत अन्य स्थानमा गरिएको सिलबन्द खुलाउन र कारबाही नगर्न दबाब समेत दिएको थियो । महासंघी अध्यक्ष राणाले अनुगमनबाट व्यापारीको छवि नै विग्रेको भन्दै शिलबन्दी गरेका पसल खोलिदिन दबाब दिएपछि मन्त्री मण्डलले कारवाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत हुन आग्रह गरे ।