पुस्तक विमोचन तथा स्व. तमू आदिकवि अक्षयकोष निर्माण

पुस्तक विमोचन तथा स्व. तमू आदिकवि अक्षयकोष निर्माण


लण्डन / तमू ल्होछार ऐतिहासिक बनाउनका लागि पोखरास्थित तमू धिं नेपालको संयोत्कत्वमा यसपटक पोखरामा समस्त तमूहरुले एकै थलोमा तमू ल्होछार चारदिनसम्म अत्यन्त भव्यताको साथ मनाएका छन् । पोखरा प्रदर्शनी केन्द्रमा बुधवारदेखि शुरु भएको मुप्रि ल्होछार मेलामा विहीवार दिउँसो स्वर्गीय आदिकवि हर्कबहादुर तमूको स्मृतिकोषका लागि रकम हस्तान्तरण र सुमल कुमार गुरुङद्वारा लिखित “यूरोप यात्राका अनुभूतिहरु” पुस्तक विमोचन र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । लेखक सुमल कुमार गुरुङका कृति विमोचन गर्नुअघि काठमाडौस्थित बाग बजारमा पुस्तक उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रममा कवि शशि लुमुम्बू, विप्लब ढकाल, श्रवण मुकारुङ, नेपाल संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानका सदस्य सचिव आभास तथा लेखक स्वयम् लगायतकाले कृति उपर बोलेका थिए ।
सुमल कुमार तमुद्वारा लिखित यूरोप यात्राका अनुभूतिहरु मुप्रि ल्होछार मेलाकै अवसरमा विमोचन गरिएको छ । कृतिको तमू धिं नेपालका अध्यक्ष कर्म तमू, श्ािक्षासेवी गणेशबहादुर तमू, कृतिकारका आमा भाइसिरी तमू, सासु दौपती तमूले संयुक्त रुप विमोचन गरेका थिए । विमोचित कृति र कृतिकारको बारेमा आदिवासी जनजाति पत्रकार संघ अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमूले परिचर्चा गरेका थिए । उक्त अवसरमा कृतिकार सुमल कुमार तमूले तमू धिं नेपाललाई विमोचित दुईसय पुस्तक सहयोग प्रदान गरेका थिए ।
सोही दिनमा बेलायतमा रहेका योगेश तमूको पहलमा संकलित साढे ४ लाख ५१ हजार ३३५ रुपैंया मुप्रि ल्होछार मेलामा सुमल कुमार तमूले तमू धिं नेपालका अध्यक्ष कर्म तमूलाई हस्तान्तरण गरेका थिए । तमू धि नेपालद्वारा सञ्चालन हुने कोषको अध्यक्षतामा कर्म तमू, सदस्य सचिव देविराज तमू, सदस्यहरुमा योगेश तमू, सुमल कुमार तमू, अर्जुन तमू, हिरादेवि तमू र राजेन्द्र तमू रहेका छन् । तमू भाषा, संस्कृति, राष्ट्र र तमूहरुको विकासका लागि योगदान दिएका तथा गरिव एवं जेहेन्दार तमू एक छात्र र एक छात्रालाई पुरस्कृत गर्न स्थापित स्वर्गीय आदिकवि हर्कबहादुर तमूको स्मृतिकोषका लागि संकलित रकम हस्तान्तरण गरिएको थियो ।
मुप्रि ल्होछार मेलामा जिफानको संयोजनमा भएको विविध साँस्कृतिक कार्यक्रममा क्याप्टेन हितमान तमू र साथीहरुले लोपोन्मुख पुराना ठाडोभाका, सुनिमाया, जामतो रेलैमा गीत प्रस्तुत गरेका थिए भने रजनी राई, मनोज गुरुङ, खेम गुरुङलगायतले गीत प्रस्तुत गरेका थिए भने खडागाउँको लालीगुराँस क्लव, तमू प्ये ल्हु घि युवा समिति, चलचित्रका नायक नायिकाहरुले नृत्य प्रस्तुत गररे भने दोहोरी प्रस्तुतिसमेत गरिएको थियो ।
पोष १३ देखि १६ गतेमासम्म धुमधाम सम्पन्न गरिएको तमू ल्होछारले अब आगामी दिनहरुमा समस्त तमूहरु आफ्नो हक अधिकारका लागि एक जुट भएर अधि बढ्ने सन्देश प्रदान गरेको छ । -सुमल, मेस ।