पूर्व-सांसदहरुलाई राज्यले थप सुविधा दिनुपर्ने काँग्रेसको माग

पूर्व-सांसदहरुलाई राज्यले थप सुविधा दिनुपर्ने काँग्रेसको माग


नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव गरेको छ । काँग्रेस सांसदहरुले जनताबाट निर्वाचित पूर्व सांसदहरुलाई राज्यले तत्काल सुविधा उपलब्ध गराउनुपर्ने माग समेत गरेका छन् । उनीहरुले राज्यले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीको मान्यता नदिएकोमा पनि आपत्ति जनाएका छन् ।

पूर्व पदाधिकारीको सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सोमवार संसदको राज्यव्यवस्था समिति बैठकमा भएको छलफलमा कांग्रेस सांसदहरुले पेन्सनको प्रस्ताव राखेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने, अर्जुन जोशी लगायतले सांसदलाई राज्यले पेन्सन लगायत सुबिधा उपलव्ध गराउनुपर्ने र विधेयकमा यो पनि व्यवस्था थप्नुपर्ने माग गरे ।

सचेतक न्यौपानेले भनिन्, ‘पूर्वसांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अब त्यसो गर्नु हुँदैन ।’ कांग्रेसका अर्का सांसद अर्जुनप्रसाद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्वसांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिइ सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

 

यता, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउन सामयिक नहुने टिप्पणी गरे । उनले भूकम्प र बाढीले जनता पीडित भएका बेला राज्यले उनीहरुको सेवालाई उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पारे ।

पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रीपरिषदका अध्यक्ष, प्रधानन्यायाधिश, प्रतिनिधि सभा वा व्यवस्थापिका संसदको सभामुख, राष्ट्रिय सभा वा संविधान सभाको अध्यक्ष भई निवृत भएको व्यक्तिलाई मात्रै पूर्व पदाधिकारीको मान्यता दिएको छ ।