नयाँ संरचनामा जाँदै एमाले

नयाँ संरचनामा जाँदै एमाले


नेकपा (एमाले)को स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार १ सय ६५ निर्वाचन क्षेत्रमा नयाँ क्षेत्रीय कमिटी बनाउने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीको केन्द्रिय कार्यालयमा सोमबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको नयाँ संरचनाअनुसार कमिटी निर्माण गर्ने निर्णय रेको हो ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीर्ला उद्धृत गर्दै राससले जनाएअनुसार यसअघिका २ सय ४० क्षेत्रीय कमिटी विघटन गर्दै नयाँ कमिटी बनाइने छ भने चाँडै नै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा तत्कालका लागि एकजना संयोजक रहने गरी कमिटी बन्ने छ ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी ७७ जिल्लाका ३ सय ३० निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीसमेत गठन गर्ने निर्णय एमालेले लिएको छ । बताइएअनुसार एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय कमिटी हुने छैनन् जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी कमिटी बनाइने छ ।

बैठकले समानुपातिक प्रणालीको निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने समेत निर्णय गरेको छ । सो बैठकले नेपालका सात प्रदेशको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने सिट र समानुपातिक सिटका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको उपाध्यक्ष ज्ञवालीले बताए ।

यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालयको जिम्मेवारी हेरफेर गरेका छन्। एक विज्ञप्ति जारी गरी अध्यक्ष ओलीले सचिवालयमा रहने विभिन्न व्यक्तिलाई नयाँ जिम्मेवारी तोकेको जानकारी दिएका हुन् ।

राजनीतिक तथा पार्टीको अन्य कामकाजलाई सहज र व्यवस्थित बनाउन सचिवालयको नयाँ जिम्मेवारी तोकेको जानकारी दिँदै ओलीले केन्द्रीय सदस्य देवराज घिमिरेलाई विभिन्न पार्टीका नेता एवं पार्टी कार्यालयबाट हुने कार्य सम्पादन, प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य, स्वकीय सचिवमा अनिस दाहाल र प्रेस संयोजकमा चेतन अधिकारीलाई जिम्मेवारी दिइएको जनाएका छन् ।