आर्थिक पत्रकारले सत्यतथ्य समाचार लेख्न नडराउनुः चेम्बर

आर्थिक पत्रकारले सत्यतथ्य समाचार लेख्न नडराउनुः चेम्बर


नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुलाई स्वागत गरेको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सफल कार्यकालको शुभ कामना व्यक्त गर्दै आगामी दिनमा चेम्वर र सेजन वीचको सम्वन्ध अझ वढी प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।  आर्थिक समाचारको प्रबाहमा सेजनका पदाधिकारीहरुको भूमिकाको चर्चा गर्दै आर्थिक पत्रकारहरुबाट उद्योग वाणिज्यसँंग सम्वन्धित सत्य तथ्य समाचार सम्प्रेषण हुनु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिएका छन् ।

सेजनका नवनिर्वाचित अध्यक्ष पुष्पराज आचार्यले आगामी दिनमा पनि पहिला जस्तै चेम्वरसँंग सहकार्य गरेर अगाडि वढ्न सेजन तत्पर रहेको बताएका छन् । उनले विगतका दिनमा चेम्वरसँंग सहकार्य गरी सेजनले तालिम, अन्तरक्रिया कार्यक्रम गरेको स्मरण गर्दै चेम्वर र सेजन एउटै सिक्काका दुई पाटा रहेको बताए । अध्यक्ष आर्चायले आर्थिक समाचार सम्प्रेषण गर्दा सत्य तथ्य बुझेर मात्रै गर्ने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि चेम्वरसँंग मिलेर सेजनका दुई सय ५० जना साधारण सदस्यहरु लाई तालिम लगायतका क्षमता अभिबृद्धि कार्यक्रम गरिनु पर्ने बताए ।

सेजनका नवनिर्वाचित अध्यक्ष आचार्य, उपाध्यक्ष प्रभात भट्टराई, महासचिव भीमप्रसाद गौतम, सचिव सुजन ओली, कोषाध्यक्ष भागवत भट्टराई सहित कार्य समिति सदस्यहरु एलिजा उप्रेती, हिमाल पौडेल, सागर घिमिरे, कृष्ण रिजाल र शिव बोहरा गरी सम्पूर्ण पदाधिकारीहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा चेम्वरका पदाधिकारी तथा कार्य समितिका सदस्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।