दरबारमार्गका व्यवसायीले सिलबन्द बाहेकका पसल खोले

दरबारमार्गका व्यवसायीले सिलबन्द बाहेकका पसल खोले


आपूर्तिमन्त्री शिवकुमार मण्डल सहितको एक टोलीले अत्याधिकमात्रामा नाफा खाई सामान बिक्री गरेको आरोपमा बन्द गरीएको दरवारमार्गका पसलहरु व्यवसायीले खोलेका छन् । गतसाता आपूर्तिमन्त्री मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा २० प्रतिशतभन्दा बढी नाफा लिएपछि टोलीले ४ वटा पसलमा शिलबन्दी गरेको थियो ।

त्यसको विरोधमा अन्य पसल समेत बन्द गरेर सरकार विरुद्ध आन्दोलनमा उत्रेका व्यापारीहरुले सोमबारदेखि नेपाल चेम्बर अफ कमर्सको मध्यस्तकर्तामा पसल खोलेका हुन । सोमबार चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ सहितको टोलीसंग दरबारमार्गमा व्यापारीबीच भएको छलफलमा हाल पसल खोलेर जाने र गलत गर्नेमाथी कारबाही गर्न समेत सहयोग पु¥याउने सहमतिमा पसल खोलेका हुन । अनुगमन टोलीले ८ वटा पसल शिलबन्दी गरेपनि अनुगमनको विरोधमा गतसातादेखि नै दरवारमार्गका व्यवसायीले बन्द गराएका थिए । सिल गरिएका पसल बाहेर अन्य पसलहरु भने व्यवसायीहरुले खुलाएका छन् ।

चेम्बरले समस्या समाधान गर्न पहल गर्ने भएपछि दरवारमार्गका व्यवसायीले पसल खोल्न तयार भएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् । अध्यक्ष श्रेष्ठले भने,‘सरकारको तर्फबाट पनि गल्ती भएको छ, व्यापारीको तर्फबाट पनि गल्ती भएको होला तर जसले गल्ती ग¥यो उसैलाईमात्र कारबाही गर्नु पर्छ, सवैलाई एउटै बाकसमा हालेर सरकारले कारबाही गर्नु खोज्नु गलत हो ।’

उनले दुई दिनभित्रमा समस्या समाधान गर्ने वातावरण बनाउने गरी व्यवसायी पसल खोल्न राजी भएको र सरकारसँगपनि समस्या समाधानको लागि हामीले पहल गरी रहेको बताए । व्यवसायीलाई कारवाही नगर्न आग्रह गर्दै गएको व्यवसायी टोलीलाई भने आपूर्तिमन्त्री मण्डलले दोषी व्यवसायीलाई जसरी पनि कारवाही गर्ने बताएका थिए ।

दशैंको समयमा सरकारले अनुगमन गर्ने गर्छ । जसले गर्दा व्यवसायी र सरकारबीच विवाद देखिदै आएको छ ।छलफलमा व्यवसायीहरुबीच पसल खोल्ने र बन्द गर्ने विषयमा लामो समयसम्म चर्काचर्की नै परेको थियो । लाखौं रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गर्दै आएकोमा अनुगमनका विरुद्ध व्यवसाय बन्द गरेर आन्दोलमा उत्रिदा आफ्नै नोक्सानी हुने तथा दशैंको बेला ग्राहकहरु अन्यत्र जाने भएकाले पसल खोल्नुपर्ने केही व्यवसायीहरुको भनाई रहेको थियो भने सरकारले गलत तबरबाट दुख दिएका कारण बन्द गरेर दबाव दिनु पर्ने भन्ने केहीको तर्क रहेको थियो ।

न्यून बिजकिकरण तथा अधिक बिक्री मूल्य राखेका व्यवसायीहरुले भने पसल कुनै पनि हलतमा खोल्नु पर्ने, आफूहरु बीचको एकता कायम राख्नु पर्ने सरकारलाई दवाव दिन न्यूरोड खिचापोखरीलगायतका क्षेत्रका पसलहरु पनि बन्द गरी सडकमा उत्रिनुपर्नेमा जोड दिएका थिए ।

दुई दिनभित्र चेम्वरले दरबारमार्गका व्यवसायीमाथिको कारबाहीलाई तुहाउन नसके दशैंको मुखमा न्यूरोड, दरबारमार्ग, खिचापोखरीका पसल बन्द गर्ने चेतावनी दिएका थिए । तर, उनीहरुको चेतावनीमा सहमत नभएको शेर्पा महलको क्याफे रिना रेस्टुरेण्टको टेरेसमा जम्मा भएका न्यूरोड र दरबारमार्गका व्यवसायीबीचको विवाद नमिल्दै दरबारमार्गका पसल खोलिएका थिए । त्यहाँ न्यून बिजकिकरण गरि राजस्व छलिगर्ने तथा खरिद मूल्यभन्दा अधिक मुल्यमा सामानको बिक्री गरी कालोबजारी गर्न सक्रिय व्यवसायीले भने अब छापामार्ने र सिलबन्दी गर्ने विषयमा चेम्वरले ग्यारेन्टी गर्नुपर्ने भन्दै चेम्वरले लिनु पर्ने माग राखेका थिए ।