बाहिर दिनभरिको घामको गर्मी खप्नु परेता पनि बेलुकि साँझ परेपछि बिजुलीको प्रकाशमा हङकङको समुन्द्र किनारमा डुल्ने मज्जा छुट्टै हुन्छ । दिनभरि वातानुकुल भवनहरुमा तापक्रम सन्तुलनकालागि बिजुली चालु राख्ने हुनाले र कंक्रिटको जंगलले घेरिएको हङकङे वातावरणमा यूरोप र अन्य चिसो ठाउँहरुबाट भ्रमणमा गएकाहरुलाई निकै गर्मीको अनुभूति हुन्छ । विशेषगरी जोर्डन पछाडितिरको काउलुन एमटीआर स्टेशनको छेउतिरपर्ने पार्क क्षेत्रको तटीय क्षेत्रमा बेलुकि हङकङ आइल्याण्डका रंगीविरंगी प्रकाशपुञ्जले झिलिमिलि सज्जिएका भवनहरु र माथि हङकङ पिकका रमणीय दृष्यहरु अत्यन्तै मनमोहक देखिन्छन् । मेरो विगतको जोर्डन बसाइमा म प्रायः यही पार्कको समुन्द्र किनारमा श्रीमतीसँग फुर्सदमा घुम्न निस्कन्थेँ । हङकङ पुगेको भोलिपल्टदेखि इष्टमित्रहरु र साथीहरुसँग भेटघाट गर्ने क्रममा अलि व्यस्त भएँ । पर्सिपल्ट वान्चाइको एमिग्रेशनमा सासु ससुराको भीसा थप गर्नका लागि सासु छोरी र श्रीमतीसँग वान्चाई गएको थिएँ । जोर्डनबाट हिँडेर ओसियन टर्मिनल त्यसपछि स्टार फेरी हुँदै पारी वान्चाइ जाने विचारले घरबाट हामी चारैजना विस्तारै हिँडेर गएका थियौं । ओसियन टर्मिनलमा मानिसको घुइंचो र व्यस्तता देखेर हामी दङ्ग मान्दै कुरा गर्दै हिँडिरहेका थियौ । त्यति व्यस्त र घुँइँचो भएको सानो ठाउँमा व्यवस्थापनको राम्रो पक्ष हामीले प्रत्येक ठाउँमा देख्यौ । सरसफाइका लागि प्रत्येक सयमिटरको दूरीमा कुनै न कुनै सफाइकर्मी त्यो गर्मी याममा पनि काम गरिरहेका देख्यौं । सबै आ-आफ्नो काममा व्यस्त देखिन्थे । मैले प्रजातन्त्रको जननी, बेलायतको राजधानीमा बसभित्र सवार गर्दा उद्धण्ड स्वाभावका किशोर किशोरीहरु मातिएर उताउलो हुँदै, चिच्याउँदै हिँडेजस्तो यहाँका कुनै किशोर किशोरीहरुलाई देखिनँ । साँच्चै नै भन्नुपर्दा हङकङेली जनताहरु अनुशासन र कानूनको मर्यादालाई बुझ्ने संख्यामा कमी छैनन् । हङकङको वातावरणमा महिलाहरु राति अबेर कामबाट फर्कदा अपराधिक तत्वहरुबाट डराउनु पर्दैन । अन्य ठाउँहरुभन्दा अझ पनि यस ठाउँमा सुरक्षाको राम्रो व्यवस्था रहेको पाइन्छ । बेलायतले डेढसय वर्षभन्दा बढी राज गरेर छाडेको यस ठाउँमा अहिले अनुशासन र कर्तब्यबोधको कुरामा प्रायः नागरिक सचेत भएको पाइन्छन् भने हालै बेलायतमा घटेको दंगा र लुटपाटको घट्नालाई सम्झँदा कानून निर्माण गरी संसारलाई बाटो देखाउने राष्ट्र निरीह बनेको अनुभूति हुन्छ मलाई ।
हामी ओसियन टर्मिनल नाघेर स्टारफेरीमा आईपुगेका थियौ यतिबेला । ओसियन टर्मिनलबाट विभिन्न गन्तव्यका लागि जेटबोटहरु, स्पिडबोटहरु र ठूला-ठूला विश्वप्रसिद्ध क्रुज जहाजहरु आवत जावत गर्दछन् । दुई पटक क्युइटु क्रुज जहाजको हङकङ आगमन हुँदा जहाजको सुरक्षाकालागि वरिस्ठ सुरक्षा अधिकृतको हैसियतमा जारि्डन सेक्युरिकोरमा काम गर्दा म यही टर्मिनलमा खटिएको सम्झना हुन आयो । त्यतिबेला जहाजको चोटाकोठा सबै घुमेको थिएँ, तर, बेलायतको त्यो ऐतिहासिक जहाज सन् २००८बाट अहिले थन्किएको छ । हङकङ विश्वको सबैभन्दा ठूलो स्वतन्त्र कन्टेनर पोर्टको रुपमा चिनिन्छ । यहाँ मालवाहक जहाजहरुका लागि ठाउँ ठाउँमा बन्दरगाहहरु बनाएका छन् । सामरिक महत्वको ठाउँ तथा साउथ चाईनाको प्रमुख व्यापारिक केन्द्र भएकोले सामुन्द्रिक यातायातका लागि हङकङ प्रमुख केन्द्र बन्दै आएको छ । शताब्दि पहिले निर्माण गरिएको चिम शा चर्ुइ फेरीपियरलाई स्टार फेरीको नामले अहिले चिनिन्छ । यसलाई स्टार फेरी कम्पनीले समुन्द्रमाथि भिक्टोरिया हार्बर वारिपारि यात्रुहरु ओसारपसार गर्नका लागि सन् १८८८मा स्थापित गरिएको थियो । पुरानोर् इतिहास बोकेको स्टार फेरी कम्पनीले अहिले काउलुन र हङकङ आइल्याण्डलाई जोड्ने यात्रुवाहक फेरीबाट एकैदिनमा सत्तरीहजार यात्रुहरु ओसारपसार गर्दाछन अर्थात् एकवर्षमा छब्बीस लाख यात्रुहरुको ओसारपसार हुने गर्दछ । हरियो रंगको दुईतल्ले सानो पानी जहाजमा सुटबुट लगाउनेदेखि साधरण जनसमूह बिहानदेखि बेलुकिसम्म ओइरिन्छन् । हङकङ सानो ठाउँ भएकोले विश्वको एउटा अति जनघनत्व भएको शहरमा गनिन्छ ।
यो शहर उहिले माछा मार्ने माझीहरुका सानो गाउँको रुपमा थियो रे । अहिलेको ओसियन पार्क जाँदा दाहिने पर्ने आप लेइ चाउ, सानो माछा मार्ने गाउँलाई उहिले हक्का भन्ने गर्दथ्यो त्यही नाउँ अप्रभंश भएर अंग्रेजहरुले कोलोनी स्थापना गरेपछि हङकङ नामाकरण गरिएको भनिन्छ । सबैभन्दा पहिले पश्चिमाहरुले यस ठाउँमा यहाँका चिनीयँाहरुसँग सम्पर्क स्थापित गरेका थिए । १९औ शताब्दीतिर बेलायतीहरु यहाँका माझीहरुसँग सम्पर्कमा आएका थिए । व्यापारको सिलसिलामा आएका बेलायतीहरुले चीनसँग सन् १८३९ देखि १८४२सम्म लडेको अफिम युद्धपछि हङकङ द्वीप बेलायतीहरुको अधिनमा गएको थियो । पछि काउलुन प्रायद्वीप र न्यूटेरीटोरी लीजमा बेलायतीहरुले लिएका थिए । शुरुमा बेलायतले आफ्नो अधिनमा हङकङ आइल्याण्डलाई लिँदा ३०० युरेपेली मूलका र १५०० चिनीयाँहरु मिलाएर जम्मा १८०० जति हङकङको जनङ्ंख्या रहेको कुरा उल्लेख भएको पाइन्छ । यो सङ्ख्या अहिले बढेर सत्तरी लाख पुगेको छ जस्मा ९५ प्रतिशत चिनीयाँ मूलका नागरिकहरु छन् । अरु पाँच प्रतिशतशत विभिन्न विश्वका अरु समूहका मानिसहरुछन् । हङकङलाई बेलायतले अधीनस्थ गरेपछि दोश्रो विश्वयुद्धताका सन १९४१ सालमा जापानीहरुले हङकङलाई आक्रमण गरेर आफ्नो कब्जामा लिएको थियो । दोश्रो युद्धको समाप्तिपछि पुनः बेलायतले आफ्नो नियन्त्रणमा हङकङलाई लिएको थियो । त्यतिबेला हङकङको जनसख्या १६ लाख पुगेको थियो, तर, जापानीहरुको अधिनमा आएपछि दोश्रो विश्वयुद्ध समाप्ति भएको बेलासम्म हङकङको जनसंख्या ६ लाख जतिमात्र रहेका थियो । हङकङ विश्वका ठुला शहरहरुमध्ये यातायातको साह्रै राम्रो व्यवस्था भएको शहरमा गनिन्छ । आजभन्दा १०६वर्ष अघि हङकङमा ट्रामसेवाको यातायात शुरु गरिएको थियो । यो ट्रामसेवाको भाडा अहिले विश्वमा नै सबैभन्दा सस्तो जस्तो लाग्छ । हङकङ आइल्याण्डमा एकछेउबाट अर्को छेउसम्म ट्राम सेवा छ । तर, यातायातको सन्दर्भमा अहिले हङकङको प्रत्येक कुनाकाप्चामा यातायातको सुविधा छ । हङकङको हेर्नु पर्ने स्थलहरुमा पिकट्राम चढेर हङकङपिकबाट हङकङ शहर, ओसियन पार्क, लान्ताउको बिगबुद्ध, तुङचुङदृखि केबलकार राइड र वरिपरिका दृष्यहरु, डिज्नील्याण्ड, साइकुङ, लाम्मा आइल्याण्ड, ताइमोशान र मंकीहिलका दृष्यहरु, विभिन्न बीचहरु र साउथ चाईना समुँद्रमा पाईने पिंक कलरको डल्फिन, शातीन र हृयाप्पीभेलीका रेसकोर्सहरु मुख्य हुन् । यी ठाउँहरुबाहेक पुरातिनक ठाउँहरु, म्युजियमहरु र धेरै हेर्ने लायक राम्रा पार्कहरु हङकङभरी नै छन् । हामीले यी सबै ठाउँहरु पहिले नै हेरिसकेकाले समयले भ्याएसम्म केहि ठाउँहरुचाँहि भ्रमण गर्यौ ।
माथि हङकङपिकबाट हेर्दा हङकङको दृष्य अति मनमोहक देखिन्छ । हामी अहिले स्टारफेरीबाट पारी वान्चाइमा एमिग्रेशनका लागि जाँदै छौ । आजभन्दा १५वर्ष पहिले यसरी नै फेरीबाट हङकङ आइल्याण्ड र स्टारफेरीबीचको समुन्द्रको सानोपाटा तरेर म पहिलोचोटि भीसाकोलागि पारि पुगेको थिएँ । मलाई यतिबेला त्यो कुराको सम्झना हुँदैछ । समुन्द्रलाई धमाधम पुरेर भवनहरु निर्माण गरेकाले अहिले त्यो समुन्द्रको सानो भाग साँघुरिएको प्रतीत भयो मलाई । पहिलेको जोर्डन फेरी र त्यसवरिपरिका क्षेत्रमा अहिले अनगिन्ति भवनहरु निर्माण भइसकेका छन् । अहिले हङकङमा विश्वका अग्ला र कलात्मक तरिकाले निर्माण गरेका भवनहरुको भरमार छन् । ब्याङक अफ चाइना टावर, सेन्टर बिल्डिङ, सेन्ट्रल प्लाजा, हङकङ ब्याङकको मुख्य बिल्डिङ, इन्टरनेशनल कमर्स सेन्टर (११८ तल्लाको) संसारको चौथो अग्लो र चीनको दोश्रो अग्लो विल्डिङ, इन्टरनेशनल फाइनेन्स टावर इत्यादि भवनहरु आधुनिक इन्जिनियारिङ जगतको नमूना बनी ठाडिएका छन् । सनहुङकाइ, ब्याङक अफ चाइना टावरलाई बाँया पारेर अनि कन्भेन्शन सेन्टर र आईएफसी टावरलाई दाहिने पारेर हामी एमिग्रेशन टावरमा पुग्यौं । माथि पाँचतल्लामा पुगेर भीसा थपगरि फेरि त्यही बाटो हुँदै चिम शा सुई फर्केका थियौं । साँझपख न्यू वार्ड कम्प्लेक्स अघिको एभेन्यू आफ स्टार्सबाट पारीतिरको हङकङ आईल्याण्डको दृष्य, झलमल बत्ती बलेको देख्दा र मन्द मन्द समुन्द्रबाट आएको शीतल हावाले वातावरणलाई भिन्नै खाले थप आनन्द दिइरहेको थियो । हामी स्टारफेरी घुम्दै ती ठाउँहरु हेर्दै जोर्डन घर फर्कदा रात परिसकेको थियो । बेलुकि हङकङको जोर्डनस्थित डे मार्केट बन्द हुन्छ र साँझतिर नाइट मार्केट, छेवैको टेम्पल स्ट्रिटमा दुकानहरु खोलिन थाल्छन् । हजारौ मानिसहरुको जमात अबेर रातिसम्म हिडिरहेका हुन्छन् । मानौ यो कहिल्यै ननिदाउने शहर प्रतीत हुन्छ ।
हङकङ शहरको चारैतिर समुन्द्र र ससाना द्वीपहरु छन् । कतिपय समुन्द्र किनारहरुमा सुन्दर बीचहरु (बालुवाले भरेका तटहरु) छन् जहाँ प्राय मानिसहरु पौडीको आनन्द लिन जान्छन् । सेतो रंगमा अलि गुलाबी रंग मिस्रित प्रजातिका डल्पिmन यहाँको समुन्द्रमा देखिने आकर्षक समुन्द्री जीव हुन् । साउथ चाइना समुन्द्रमा पाइने यस प्रजातिका डल्पिmन हेर्न बोटमा चढेर पर्यटकहरु जाने गर्छन् । हङकङ गएपछि समुन्द्र किनारमा बीबीक्यू खाने र पौडी खेल्ने आनन्दको क्षण बेग्लै र अविस्मरणीय हुन्छ । बीबीक्यू र पौडी खेल्नका लागि डीप वाटर बेमा २२ तारिख जाने योजना बनाएको थिएँ । त्यसभन्दा पहिले १९ र २० तारिखको दिनमा शपिङ र इष्टमित्रहरुसँग भेटघाट गर्दा दिन बितेको थियो । अनि २१ तारिखको दिनमा गैरआवासीय नेपाली संघ हङकङ च्याप्टरले अन्तरक्रिया कार्यक्रमको आयोजना जोर्डनमा स्थित याक एण्ड यती रेस्टुरेन्टमा गरेको थियो अतः त्यस कार्यक्रममा सहभागी भएको थिएँ । पुरानो साथीहरुलाई भेट्ने इच्छा भएकोले सो कार्यक्रममा गएको थिएँ । त्यो दिनभरि अरु ठाउँ कँहि घुम्न गईनँ बेलुकितिर हङकङबाट हुमजीले पठाउनुभएको पार्सल स्याङजाली कान्छालाई दिन गएको थिएँ । जोर्डन क्षेत्र मात्र घुमे । । हिजो १८ तारिखमा वान्चाइस्थित एमिग्रेशन जाँदा पुरानो ठाउँहरु हेरेँ । हङकङमा १२ वर्ष बिताउँदा यहाँका प्रत्येक ठाउँ घुमेको थिएँ । अहिले ती सबै ठाउँहरुमा जाने इच्छा हुँदा हुदै पनि समयको कमीले गर्दा केवल केही मुख्य ठाउँहरु बाहेक हेर्न मन लागेका ठाउँहरु घुम्ने धोको मनमा नै रह्यो । लान्ताउ आइल्याण्डको बिग बुद्ध -विशाल बुद्ध भगवानको मुर्ति) र शातीनको हजार बुद्धहरु स्थापित मन्दिरमा जाने समय जुटाउन सकिनँ, तर, समयलाई बाँड्दै जाँदा छोरीजँुवाइको विशेष अनुरोधमा मकाउको एकदिनको भ्रमणमा सिटी अफ ड्रिम्स (सपनाको नगरी) क्यासिनो र होटलमा देखाउँदै आएको डान्सिङ विथ हाउस अफ वाटर २५ तारिखको दिन जाने योजना मिलाएको थिएँ । क्रमश….. अर्को श्रृंखलामा ।
प्रतिक्रिया