फेरि एकपटक हङकङको सेरोफेरो (भाग दुई)

फेरि एकपटक हङकङको सेरोफेरो (भाग दुई)


बाहिर दिनभरिको घामको गर्मी खप्नु परेता पनि बेलुकि साँझ परेपछि बिजुलीको प्रकाशमा हङकङको समुन्द्र किनारमा डुल्ने मज्जा छुट्टै हुन्छ । दिनभरि वातानुकुल भवनहरुमा तापक्रम सन्तुलनकालागि बिजुली चालु राख्ने हुनाले र कंक्रिटको जंगलले घेरिएको हङकङे वातावरणमा यूरोप र अन्य चिसो ठाउँहरुबाट भ्रमणमा गएकाहरुलाई निकै गर्मीको अनुभूति हुन्छ । विशेषगरी जोर्डन पछाडितिरको काउलुन एमटीआर स्टेशनको छेउतिरपर्ने पार्क क्षेत्रको तटीय क्षेत्रमा बेलुकि हङकङ आइल्याण्डका रंगीविरंगी प्रकाशपुञ्जले झिलिमिलि सज्जिएका भवनहरु र माथि हङकङ पिकका रमणीय दृष्यहरु अत्यन्तै मनमोहक देखिन्छन् । मेरो विगतको जोर्डन बसाइमा म प्रायः यही पार्कको समुन्द्र किनारमा श्रीमतीसँग फुर्सदमा घुम्न निस्कन्थेँ । हङकङ पुगेको भोलिपल्टदेखि इष्टमित्रहरु र साथीहरुसँग भेटघाट गर्ने क्रममा अलि व्यस्त भएँ । पर्सिपल्ट वान्चाइको एमिग्रेशनमा सासु ससुराको भीसा थप गर्नका लागि सासु छोरी र श्रीमतीसँग वान्चाई गएको थिएँ । जोर्डनबाट हिँडेर ओसियन टर्मिनल त्यसपछि स्टार फेरी हुँदै पारी वान्चाइ जाने विचारले घरबाट हामी चारैजना विस्तारै हिँडेर गएका थियौं । ओसियन टर्मिनलमा मानिसको घुइंचो र व्यस्तता देखेर हामी दङ्ग मान्दै कुरा गर्दै हिँडिरहेका थियौ । त्यति व्यस्त र घुँइँचो भएको सानो ठाउँमा व्यवस्थापनको राम्रो पक्ष हामीले प्रत्येक ठाउँमा देख्यौ । सरसफाइका लागि प्रत्येक सयमिटरको दूरीमा कुनै न कुनै सफाइकर्मी त्यो गर्मी याममा पनि काम गरिरहेका देख्यौं । सबै आ-आफ्नो काममा व्यस्त देखिन्थे । मैले प्रजातन्त्रको जननी, बेलायतको राजधानीमा बसभित्र सवार गर्दा उद्धण्ड स्वाभावका किशोर किशोरीहरु मातिएर उताउलो हुँदै, चिच्याउँदै हिँडेजस्तो यहाँका कुनै किशोर किशोरीहरुलाई देखिनँ । साँच्चै नै भन्नुपर्दा हङकङेली जनताहरु अनुशासन र कानूनको मर्यादालाई बुझ्ने संख्यामा कमी छैनन् । हङकङको वातावरणमा महिलाहरु राति अबेर कामबाट फर्कदा अपराधिक तत्वहरुबाट डराउनु पर्दैन । अन्य ठाउँहरुभन्दा अझ पनि यस ठाउँमा सुरक्षाको राम्रो व्यवस्था रहेको पाइन्छ । बेलायतले डेढसय वर्षभन्दा बढी राज गरेर छाडेको यस ठाउँमा अहिले अनुशासन र कर्तब्यबोधको कुरामा प्रायः नागरिक सचेत भएको पाइन्छन् भने हालै बेलायतमा घटेको दंगा र लुटपाटको घट्नालाई सम्झँदा कानून निर्माण गरी संसारलाई बाटो देखाउने राष्ट्र निरीह बनेको अनुभूति हुन्छ मलाई ।

हामी ओसियन टर्मिनल नाघेर स्टारफेरीमा आईपुगेका थियौ यतिबेला । ओसियन टर्मिनलबाट विभिन्न गन्तव्यका लागि जेटबोटहरु, स्पिडबोटहरु र ठूला-ठूला विश्वप्रसिद्ध क्रुज जहाजहरु आवत जावत गर्दछन् । दुई पटक क्युइटु क्रुज जहाजको हङकङ आगमन हुँदा जहाजको सुरक्षाकालागि वरिस्ठ सुरक्षा अधिकृतको हैसियतमा जारि्डन सेक्युरिकोरमा काम गर्दा म यही टर्मिनलमा खटिएको सम्झना हुन आयो । त्यतिबेला जहाजको चोटाकोठा सबै घुमेको थिएँ, तर, बेलायतको त्यो ऐतिहासिक जहाज सन् २००८बाट अहिले थन्किएको छ । हङकङ विश्वको सबैभन्दा ठूलो स्वतन्त्र कन्टेनर पोर्टको रुपमा चिनिन्छ । यहाँ मालवाहक जहाजहरुका लागि ठाउँ ठाउँमा बन्दरगाहहरु बनाएका छन् । सामरिक महत्वको ठाउँ तथा साउथ चाईनाको प्रमुख व्यापारिक केन्द्र भएकोले सामुन्द्रिक यातायातका लागि हङकङ प्रमुख केन्द्र बन्दै आएको छ । शताब्दि पहिले निर्माण गरिएको चिम शा चर्ुइ फेरीपियरलाई स्टार फेरीको नामले अहिले चिनिन्छ । यसलाई स्टार फेरी कम्पनीले समुन्द्रमाथि भिक्टोरिया हार्बर वारिपारि यात्रुहरु ओसारपसार गर्नका लागि सन् १८८८मा स्थापित गरिएको थियो । पुरानोर् इतिहास बोकेको स्टार फेरी कम्पनीले अहिले काउलुन र हङकङ आइल्याण्डलाई जोड्ने यात्रुवाहक फेरीबाट एकैदिनमा सत्तरीहजार यात्रुहरु ओसारपसार गर्दाछन अर्थात् एकवर्षमा छब्बीस लाख यात्रुहरुको ओसारपसार हुने गर्दछ । हरियो रंगको दुईतल्ले सानो पानी जहाजमा सुटबुट लगाउनेदेखि साधरण जनसमूह बिहानदेखि बेलुकिसम्म ओइरिन्छन् । हङकङ सानो ठाउँ भएकोले विश्वको एउटा अति जनघनत्व भएको शहरमा गनिन्छ ।

यो शहर उहिले माछा मार्ने माझीहरुका सानो गाउँको रुपमा थियो रे । अहिलेको ओसियन पार्क जाँदा दाहिने पर्ने आप लेइ चाउ, सानो माछा मार्ने गाउँलाई उहिले हक्का भन्ने गर्दथ्यो त्यही नाउँ अप्रभंश भएर अंग्रेजहरुले कोलोनी स्थापना गरेपछि हङकङ नामाकरण गरिएको भनिन्छ । सबैभन्दा पहिले पश्चिमाहरुले यस ठाउँमा यहाँका चिनीयँाहरुसँग सम्पर्क स्थापित गरेका थिए । १९औ शताब्दीतिर बेलायतीहरु यहाँका माझीहरुसँग सम्पर्कमा आएका थिए । व्यापारको सिलसिलामा आएका बेलायतीहरुले चीनसँग सन् १८३९ देखि १८४२सम्म लडेको अफिम युद्धपछि हङकङ द्वीप बेलायतीहरुको अधिनमा गएको थियो । पछि काउलुन प्रायद्वीप र न्यूटेरीटोरी लीजमा बेलायतीहरुले लिएका थिए । शुरुमा बेलायतले आफ्नो अधिनमा हङकङ आइल्याण्डलाई लिँदा ३०० युरेपेली मूलका र १५०० चिनीयाँहरु मिलाएर जम्मा १८०० जति हङकङको जनङ्ंख्या रहेको कुरा उल्लेख भएको पाइन्छ । यो सङ्ख्या अहिले बढेर सत्तरी लाख पुगेको छ जस्मा ९५ प्रतिशत चिनीयाँ मूलका नागरिकहरु छन् । अरु पाँच प्रतिशतशत विभिन्न विश्वका अरु समूहका मानिसहरुछन् । हङकङलाई बेलायतले अधीनस्थ गरेपछि दोश्रो विश्वयुद्धताका सन १९४१ सालमा जापानीहरुले हङकङलाई आक्रमण गरेर आफ्नो कब्जामा लिएको थियो । दोश्रो युद्धको समाप्तिपछि पुनः बेलायतले आफ्नो नियन्त्रणमा हङकङलाई लिएको थियो । त्यतिबेला हङकङको जनसख्या १६ लाख पुगेको थियो, तर, जापानीहरुको अधिनमा आएपछि दोश्रो विश्वयुद्ध समाप्ति भएको बेलासम्म हङकङको जनसंख्या ६ लाख जतिमात्र रहेका थियो । हङकङ विश्वका ठुला शहरहरुमध्ये यातायातको साह्रै राम्रो व्यवस्था भएको शहरमा गनिन्छ । आजभन्दा १०६वर्ष अघि हङकङमा ट्रामसेवाको यातायात शुरु गरिएको थियो । यो ट्रामसेवाको भाडा अहिले विश्वमा नै सबैभन्दा सस्तो जस्तो लाग्छ । हङकङ आइल्याण्डमा एकछेउबाट अर्को छेउसम्म ट्राम सेवा छ । तर, यातायातको सन्दर्भमा अहिले हङकङको प्रत्येक कुनाकाप्चामा यातायातको सुविधा छ । हङकङको हेर्नु पर्ने स्थलहरुमा पिकट्राम चढेर हङकङपिकबाट हङकङ शहर, ओसियन पार्क, लान्ताउको बिगबुद्ध, तुङचुङदृखि केबलकार राइड र वरिपरिका दृष्यहरु, डिज्नील्याण्ड, साइकुङ, लाम्मा आइल्याण्ड, ताइमोशान र मंकीहिलका दृष्यहरु, विभिन्न बीचहरु र साउथ चाईना समुँद्रमा पाईने पिंक कलरको डल्फिन, शातीन र हृयाप्पीभेलीका रेसकोर्सहरु मुख्य हुन् । यी ठाउँहरुबाहेक पुरातिनक ठाउँहरु, म्युजियमहरु र धेरै हेर्ने लायक राम्रा पार्कहरु हङकङभरी नै छन् । हामीले यी सबै ठाउँहरु पहिले नै हेरिसकेकाले समयले भ्याएसम्म केहि ठाउँहरुचाँहि भ्रमण गर्‍यौ ।
माथि हङकङपिकबाट हेर्दा हङकङको दृष्य अति मनमोहक देखिन्छ । हामी अहिले स्टारफेरीबाट पारी वान्चाइमा एमिग्रेशनका लागि जाँदै छौ । आजभन्दा १५वर्ष पहिले यसरी नै फेरीबाट हङकङ आइल्याण्ड र स्टारफेरीबीचको समुन्द्रको सानोपाटा तरेर म पहिलोचोटि भीसाकोलागि पारि पुगेको थिएँ । मलाई यतिबेला त्यो कुराको सम्झना हुँदैछ । समुन्द्रलाई धमाधम पुरेर भवनहरु निर्माण गरेकाले अहिले त्यो समुन्द्रको सानो भाग साँघुरिएको प्रतीत भयो मलाई । पहिलेको जोर्डन फेरी र त्यसवरिपरिका क्षेत्रमा अहिले अनगिन्ति भवनहरु निर्माण भइसकेका छन् । अहिले हङकङमा विश्वका अग्ला र कलात्मक तरिकाले निर्माण गरेका भवनहरुको भरमार छन् । ब्याङक अफ चाइना टावर, सेन्टर बिल्डिङ, सेन्ट्रल प्लाजा, हङकङ ब्याङकको मुख्य बिल्डिङ, इन्टरनेशनल कमर्स सेन्टर (११८ तल्लाको) संसारको चौथो अग्लो र चीनको दोश्रो अग्लो विल्डिङ, इन्टरनेशनल फाइनेन्स टावर इत्यादि भवनहरु आधुनिक इन्जिनियारिङ जगतको नमूना बनी ठाडिएका छन् । सनहुङकाइ, ब्याङक अफ चाइना टावरलाई बाँया पारेर अनि कन्भेन्शन सेन्टर र आईएफसी टावरलाई दाहिने पारेर हामी एमिग्रेशन टावरमा पुग्यौं । माथि पाँचतल्लामा पुगेर भीसा थपगरि फेरि त्यही बाटो हुँदै चिम शा सुई फर्केका थियौं । साँझपख न्यू वार्ड कम्प्लेक्स अघिको एभेन्यू आफ स्टार्सबाट पारीतिरको हङकङ आईल्याण्डको दृष्य, झलमल बत्ती बलेको देख्दा र मन्द मन्द समुन्द्रबाट आएको शीतल हावाले वातावरणलाई भिन्नै खाले थप आनन्द दिइरहेको थियो । हामी स्टारफेरी घुम्दै ती ठाउँहरु हेर्दै जोर्डन घर फर्कदा रात परिसकेको थियो । बेलुकि हङकङको जोर्डनस्थित डे मार्केट बन्द हुन्छ र साँझतिर नाइट मार्केट, छेवैको टेम्पल स्ट्रिटमा दुकानहरु खोलिन थाल्छन् । हजारौ मानिसहरुको जमात अबेर रातिसम्म हिडिरहेका हुन्छन् । मानौ यो कहिल्यै ननिदाउने शहर प्रतीत हुन्छ ।
हङकङ शहरको चारैतिर समुन्द्र र ससाना द्वीपहरु छन् । कतिपय समुन्द्र किनारहरुमा सुन्दर बीचहरु (बालुवाले भरेका तटहरु) छन् जहाँ प्राय मानिसहरु पौडीको आनन्द लिन जान्छन् । सेतो रंगमा अलि गुलाबी रंग मिस्रित प्रजातिका डल्पिmन यहाँको समुन्द्रमा देखिने आकर्षक समुन्द्री जीव हुन् । साउथ चाइना समुन्द्रमा पाइने यस प्रजातिका डल्पिmन हेर्न बोटमा चढेर पर्यटकहरु जाने गर्छन् । हङकङ गएपछि समुन्द्र किनारमा बीबीक्यू खाने र पौडी खेल्ने आनन्दको क्षण बेग्लै र अविस्मरणीय हुन्छ । बीबीक्यू र पौडी खेल्नका लागि डीप वाटर बेमा २२ तारिख जाने योजना बनाएको थिएँ । त्यसभन्दा पहिले १९ र २० तारिखको दिनमा शपिङ र इष्टमित्रहरुसँग भेटघाट गर्दा दिन बितेको थियो । अनि २१ तारिखको दिनमा गैरआवासीय नेपाली संघ हङकङ च्याप्टरले अन्तरक्रिया कार्यक्रमको आयोजना जोर्डनमा स्थित याक एण्ड यती रेस्टुरेन्टमा गरेको थियो अतः त्यस कार्यक्रममा सहभागी भएको थिएँ । पुरानो साथीहरुलाई भेट्ने इच्छा भएकोले सो कार्यक्रममा गएको थिएँ । त्यो दिनभरि अरु ठाउँ कँहि घुम्न गईनँ बेलुकितिर हङकङबाट हुमजीले पठाउनुभएको पार्सल स्याङजाली कान्छालाई दिन गएको थिएँ । जोर्डन क्षेत्र मात्र घुमे । । हिजो १८ तारिखमा वान्चाइस्थित एमिग्रेशन जाँदा पुरानो ठाउँहरु हेरेँ । हङकङमा १२ वर्ष बिताउँदा यहाँका प्रत्येक ठाउँ घुमेको थिएँ । अहिले ती सबै ठाउँहरुमा जाने इच्छा हुँदा हुदै पनि समयको कमीले गर्दा केवल केही मुख्य ठाउँहरु बाहेक हेर्न मन लागेका ठाउँहरु घुम्ने धोको मनमा नै रह्यो । लान्ताउ आइल्याण्डको बिग बुद्ध -विशाल बुद्ध भगवानको मुर्ति) र शातीनको हजार बुद्धहरु स्थापित मन्दिरमा जाने समय जुटाउन सकिनँ, तर, समयलाई बाँड्दै जाँदा छोरीजँुवाइको विशेष अनुरोधमा मकाउको एकदिनको भ्रमणमा सिटी अफ ड्रिम्स (सपनाको नगरी) क्यासिनो र होटलमा देखाउँदै आएको डान्सिङ विथ हाउस अफ वाटर २५ तारिखको दिन जाने योजना मिलाएको थिएँ । क्रमश….. अर्को श्रृंखलामा ।