एमालेमाथि निधिले दिए गम्भीर अभिव्यक्ति

एमालेमाथि निधिले दिए गम्भीर अभिव्यक्ति


नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले ‘नेकपा एमालेलाई मधेसमा टाउको उठाउन दिन नहुने’ अभिव्यक्ति दिएर राजनीतिक तप्कालाई तरङ्गित पार्ने प्रयत्न गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा सो दलका अध्यक्ष केपी शर्मा ओलीमाथि संघीयताविरोधी भएको आरोप लगाउँदै धनुषामा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले एमालेप्रति थप कडा टिप्पणी गरे । उनले थपे, ‘एमाले मधेशविरोधी पार्टी हो, उसले संघीयता चाहेकै छैन, त्यसैले प्रदेश नम्बर २ का जनताले एमालेलाई भोट दिँदैनन्, अब एमाले मधेशमा उदाउने छैन ।’

संविधान जारी गर्दाको बखतमा प्रमुख दलहरूले संविधानको सर्वस्वीकार्यताको लागि संशोधन गर्दै जाने भनेर संसदमा सार्वजनिक प्रतिबद्धता जनाए पनि एमाले उक्त प्रतिबद्धताबाट पछि हटेको निधिको आरोप थियो । निधिले थपे, ‘संसदमा बोलेको कुरा पूरा गर्ने बेला एमाले धोका दियो र संशोधन हुन सकेन ।’ निधिले दाबी गरेअनुसार मधेशको समस्या समाधान गर्ने पार्टी नेपाली काङ्ग्रेस मात्रै हो । सो अवसरमा प्रदेश नं. २ मा काङ्ग्रेसले सय सिट जित्ने दाबी समेत गरे ।

एमालेप्रति यसरी निधि अस्वाभाविक किसिमले खनिएको सन्दर्भलाई कतिपयले ‘चुनावी स्टन्ट’ भन्दै उनको अभिव्यक्तिलाई गम्भीरताका साथ लिन नहुने प्रतिक्रिया दिए पनि राजनीतिक विश्लेषकहरूले निधिजस्ता जिम्मेवार तहका नेताले यसरी उग्र अभिव्यक्ति दिनु सुहाउँदो र स्वाभाविक कुरा नभएको प्रतिक्रिया दिएका छन् । काङ्ग्रेसनिकट एक विश्लेषकले नाम नखुलाउने शर्तमा भने– ‘निधिजीको यस्तो रवैयाले अन्ततः काङ्ग्रेसलाई नै घाटा पुग्न सक्छ ।’

यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका लागि कांग्रेस, माओवादी र एमाले उस्तै भएको बताएका छन् । खासगरी संविधान संशोधनको विपक्षमा भोट हालेको एमालेसँग मधेसमा भोट माग्ने नैतिक आधार नभएको उनको तर्क छ । उनले अगाडि थपे– ‘एमाले मात्रै होइन मधेशका लागि ठूला दलहरुले सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।’